काठमाडौं । निजी एयरलाइन्सलाई पोस्न नेपाल वायुसेवा निगमको जहाज रित्तै दुबई उड्ने भएको छ । सोमबार राती ११ बजे हुने उडानका लागि यात्रुहरुलाई विमानस्थल भित्र आरडीटी परिक्षण गर्ने प्रबन्ध नभएकै कारण खाली जहाज त्यसतर्फ जान लागेको हो ।
एयरलाइन्स स्रोतका अनुसार दुबईमा जाने यात्रुहरु जहाजभरी रहँदा पनि आरडीटी परीक्षण नगरिएकै कारण त्यहाँका यात्रुहरु अन्य एयरलाइन्समा पठाउन लागिएको हो । सोमबार हिमालय एयरलाइन्स, एयर अरेवियाले पनि दुबईमा उडान गर्दैछन् ।
ती एयरलाइन्स मध्ये एयर अरवियाले विमानस्थल भित्रै आरडीटी परिक्षण गराउने प्रबन्ध मिलाएको छ भने हिमालय एयरलाइन्सले सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा परीक्षण गराउने व्यवस्था गरेको छ ।
तर, नेपाल एयरलाइन्सले भने विमानस्थल भित्र आरडीटी परिक्षण गराउने अवस्था नभएकै कारणले खाली जहाज त्यसतर्फ पठाउन लागिएको निर्देशक जनक कालाखेतीले जानकारी दिए ।
विमानस्थलभित्र आरडीटी परीक्षण गराउने व्यवस्था गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाए पनि बेवास्ता गरेको उनको आरोप छ । तर, मन्त्रालयका सचिव यादव कोइरालाले भने नेपाल एयरलाइन्सले आरडीटी परीक्षणका लागि अनुमति नमागेको जानकारी दिए ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले पनि नेपाल एयरलाइन्सबाट आरडीटी परीक्षणका लागि अनुमति मागेको पत्र नआएको बताए । पर्यटन मन्त्रालयले समन्वय गरेर स्वास्थ्य मन्त्रालयमार्फत विमानस्थल भित्रै सरकारी निकायले आरडीटी परीक्षण गराउने व्यवस्था गरेमा धेरै यात्रुहरुलाई सहज हुने उनको भनाई छ ।
दुबईले पछिल्लो समय जारी गरेको नयाँ नियमअनुसार विमानस्थलबाट उडान हुनुअघि ४ घण्टाअघि आरडीटी परीक्षण गरी नेगेटिभ रिपोर्ट आउनु पर्ने उल्लेख छ । त्यहिअनुसार यस अघिको उडानमा काठमाडौं मेडिकल कलेज र अल्फा केयर रिसर्चबाट आरडीटी परीक्षण गराएर पठाएको निर्देशक कालाखेतीको भनाई छ । तर, अहिले फेरि त्यहाँको आवश्यक्ताअनुसार नेपालको मेसिनले गर्न सक्दनौं भनेपछि ती ठाउँमा आरडीटी परीक्षण नगराएको निर्देशक कालाखेतीको भनाई छ ।
दुबईको प्रोटोकल भएको र कुनै समस्या देखिएमा कालोसूचीमा राख्ने डरले जहाजलाई खाली पठाउन लागिएको जनाएको छ प्रोटोकलअनुसार आरडीटी परीक्षणका विषयमा दुबईको नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर छलफल भइरहेको उनले बताए । दुबईमा नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाज जान लागेको हो ।
एयरलाइन्स स्रोतले भने निर्देशकहरु, पर्यटन मन्त्रालयका अधिकारीहरु हिमालय एयरलाइन्स र अन्य एयरलाइन्सको प्रभावमा परेर जहाज खाली पठाउन लागेको आरोप लगाएका छन् ।
त्यहाँका ट्रेड युनियनले पनि आरडीटी परीक्षण गराएर आफ्नै जहाजमा यात्रु पठाउन दबाब दिँदै आएको छ । पछिल्लो समय दुबईमा जान पीसीआर परीक्षणसँगै ४ घण्टा भित्रको आरडीटी रिपोर्टलाई पनि अनिवार्य भनेको छ । दुबई नेपालीहरु धेरै जाने गन्तव्य भित्र पर्छ ।
यसअघि पनि धेरै पटक नेपाल एयरलाइन्सको जहाज खाली जाने र आउने घटनाहरु घट्ने गरेको थियो । निर्देशकहरुको मिलोमतोमा टिकट नकाट्ने र निजी क्षेत्रको जहाज भरीभराउ हुने रोग लामो समयदेखि नेपाल एयरलाइन्स भित्र चल्दै आएको छ ।