काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रर्वद्र्धन गरेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडले नयाँ आयोजना निर्माणका लागि संभाव्यता अध्ययन गरिरहेको छ ।
सहायक कम्पनीहरुबाट २७० मेगावाटका ३ ठुला आयोजना निर्माण गरिरहेको चिलिमेले जलविद्युतमा थप लगानी बढाउने तयारी स्वरुप नयाँ आयोजनाहरुको विस्तृत अध्ययन अघि बढाएको हो । नयाँ आयोजनाहरुको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको चिलिमेले जनाएको छ । चिलिमेले अघि बढाएका ३ वटा जलविद्युत आयोजनाको जडित क्षमता ५४५ मेगावाट छन ।
सुदुरपश्चिमको बझाङमा रहेको ६५ मेगावाटको सेती नदी ३, ४२० मेगावाटको बुढीगण्डकी प्रोक क्यासकेड र ६० मेगावाटको चुमचेत स्यारखोला आयोजनाको डीपीआर तयारीका लागि अध्ययनको काम भइरहेको चिलिमेले जनाएको छ ।
डीपीआरपछि आयोजनाको क्षमता बढ्ने संभावना छ । आयोजनाको विस्तृत इन्जिनियरिङको काम सहायक कम्पनी चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडमार्फत भइरहेको छ ।
प्रस्तावित आयोजना डीपीआर तयारपछि छुट्टाछुट्टै कम्पनीबाट निर्माण हुने भएको छ । हाल आयोजनाहरुको अध्ययनमा भएको खर्चलाई चालु पुँजीमा देखाइएको छ । कम्पनी स्थापना भएपछि स्वामित्व हस्तान्तरण हुने चिलिमेले जनाएको छ । आयोजना बनाउन चिलिमेले कर्मचारी सञ्चय कोषबाट ऋण लिने तयारी गरेको छ । ४ आयोजना सञ्चय कोषको ऋण लगानीमा निर्माण सुरु भएको हो ।
नयाँ स्थापना हुने जलविद्युत कम्पनीहरुमा प्रदेश सरकारको पनि सेयर लगानी हुने भएको छ । प्रस्तावित सबै आयोजना जनताको जलविद्युत आयोजनामा रहेका छन् । आयोजनामा लगानी जुटाउन सर्वसाधारणलाई ४९ प्रतिशत सेयर बिक्री गर्ने योजना छ ।
यद्यपी प्रदेश सरकारलाई सेयर लगानी गर्न दिने व्यवस्था कार्यान्वयनका लागि कम्पनी ऐनमा संशोधन हुनुपर्ने चिलिमेले जानकारी दिएको छ । कम्पनीको कर्पोरेट कार्यालय रहेका स्थानमा चिलिमे टावरको निर्माण जारी रहेको छ ।
आयकर र रोयल्टी बढ्दै गएपछि यसको असर नाफामा पर्न थालेको चिलिमेले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । लगानी गरेका २७० मेगावाट क्षमताका ४ वटा आयोजनाको काम अन्तिम चरणमा पुगेकाले त्यहाँबाट पाउने प्रतिफलले लगानीकर्तालाई राम्रो लाभांश दिनुका साथै सेयर मूल्यमा सकरात्मक प्रभाव पार्ने उल्लेख छ ।
गत वर्ष कम्पनीले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको छ । यो वर्ष पनि यही हारहारीमा लाभांश वितरण हुने संभावना छ । कम्पनीले मौज्दात रकम बैंकमा निक्षेप राखेर गत वर्ष ८६ लाख रुपैयाँ बढाएको छ । यो रकम सेयरधनीलाई लाभांश, नयाँ आयोजनाको अध्ययन र कर्पोरेट टावर निर्माणमा लगानी गर्ने भएको छ ।
४ वटा आयोजना अन्तिम चरणमा
चिलिमेले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको माथिल्लो तथा तल्लो सान्जेन र १०२ मेगावाटको मध्य भोटेकोसी आयोजनाको निर्माण जारी छ । यी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । भूकम्प, नाकावन्दी, बाढी र पछिल्लो समयमा कोरोना महामारीले आयोजनाको काम अवरुद्ध हुँदै आएको छ ।
रसवागढी र सान्जेन गत आर्थिक वर्षमा सक्ने लक्ष्य लिएकोमा पुरा हुन सकेन । चालु आर्थिक वर्षमा रसुवागढी र सान्जेन आयोजना सम्पन्न हुने बताइएको छ । रसुवागढीबाट आगामी असारसम्म बिजुली उत्पादन गर्ने लक्ष्य छ ।
चिलिमेको नाफा ७० करोड १८ लाख
चिलिमेले गत आर्थिक वर्षमा ७० करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा चिलिमेले ७४ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८७ प्रतिशत कम भएको सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । विद्युत बिक्री आम्दानी घटेका कारण यसको असर खुदनाफामा परेको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी घटेर १ अर्ब १२ करोड ८० लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब १४ करोड ७ लाख रुपैयाँ थियो ।
जलविद्युत केन्द्रमा जडित विभिन्न उपकरणहरु तथा सफ्टवेयरमा समय सापेक्ष सुदृढिकरण गर्दा पावर प्लान्ट बन्द गर्नु परेको र चिलिमे खोलामा पानीको बहावमा कमी आएका कारण विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ११ रुपैयाँ १७ पैसामा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४० पैसा रहेको छ ।
यस्तै सञ्चित कोषमा कमी आई ३ अर्ब ८५ करोड ६५ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष सञ्चित कोषमा ४ अर्ब ३० करोड ३७ लाख रुपैयाँ थियो । कम्पनीको चुक्ता पुँजी ६ अर्ब २८ करोड रुपैयाँ छ । कम्पनीले हाल २२ मेगावाटको चिलिमे आयोजना सञ्चालन गरिरहेको छ ।