काठमाडौं । नेपाल वायुसेवा निगमको रोग नेपाल नागरिक उड्डयन प्राधिकरणमा सरेको छ ।
प्राधिकरणलाई टुक्राएर कमजोर संस्थामा रुपान्तरण गर्दा स्वार्थ समूहको चलखेल तथा मुनाफाखोरी बढ्न गई समग्र उड्डयन सुरक्षामा नै गम्भीर असर पर्ने नागरिकको जीउधनको सुरक्षामा जोखिम बढ्ने देखिएको भन्दै कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
निगममा एक महिना भन्दा अघिबाट कर्मचारीहरु आन्दोलनमा उत्रिरहेका बेला प्राधिकरणका कर्मचारीहरुले पनि आन्दोलनको तयारी थालेका हुन् ।
प्राधिकरणमा आबद्ध विभिन्न कर्मचारी संघसंगठनहरुले आइतबार महानिर्देशक राजन पोखरेललाई ज्ञापनपत्र बुझाउदै निर्णय फिर्ता लिन दबाब दिएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संठन,मधेश तराई कर्मचारी युनियन,लोकतान्त्रिक कर्मचारी संघ ,राष्ट्रिय कर्मचारी युनिय र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।
राष्ट्रको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई जिम्मा लगाएर समग्र हवाई सेवालाई महङ्गो बनाउने र आम नागरिकलाई त्यसको भार पार्ने गरी योजनाबद्ध तवरले ल्याइएको कर्मचारी संघसंगठनहरुको दाबी छ ।
महानिर्देशक पोखरेललाई बुझाएको ज्ञापनपत्रमा हालकै प्राधिकरणलाई सशक्त,सक्षम र सवल बनाई प्रभावकारी एवं पारदर्शी रुपमा हवाई सेवाको नियमन गर्न सक्ने अवस्थामा विद्यमान रहेको प्राधिकरण भित्रै जनशक्तिहरुको दक्षता अभिवृद्धि गरि उड्डयन सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय चासो समेत सम्वोधन गर्न सकिने जनाएको छ ।
विद्यमान संगठन संरचनाबाट नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट तोकिएका मापदण्ड एवं सिफारिसहरुको प्रभावकारी कार्यान्वयनको अवस्था विश्व स्तरको समकक्षमा रहेकोले कमजोर देखिएको क्षेत्रमा मात्र कार्यान्वयनको स्तर अभिवृद्धि गरि उड्डयन सुरक्षा थप सुनिश्चित गर्न सकिने उल्लेख छ ।
पर्यटन मन्त्रालय कै जिम्मेवारीमा रहेको दुर्घटना जाँच कार्यलाई तथस्ट एवं पारदर्शी बनाउन स्वतन्त्र दुर्घटना जाँच आयोग गठन गर्नुपर्नेमा प्राधिकरणलाई नै टुक्राएर निहित स्वार्थ समूहको उद्धेश्य पूर्ति लाई मात्र प्रोत्साहन गर्ने मनसाय देखिएकोले यसलाई तत्कालै रोक्न अनुरोध गरेका हुन् ।
प्राधिकरणलाई टुक्राउने प्रक्रियालाई रोक्न दबाब दिन उद्धेश्यले २५ गतेदेखि २७ गतेसम्म प्रत्येक दिन १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने र १२ बजेदेखि १ बजेसम्म कालोपट्टी सहित महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने उल्लेख छ । योसँगै २८ गतेबाट महानिर्देशक लगाएतका कार्यकक्षहरुमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।