काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यानका अध्यक्ष नवराज कुँवरले नेपलाको आर्थिक विकासका निम्ति अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोगबाहेक अरू नहुने बताएका छन् । क्यान महासंघले गत शुक्रबार नेपालका विभिन्न सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष कुँवरले त्यस्तो बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा आगामी दिनमा हुनुपर्ने संस्थागत, कार्यगत र नीतिगत सहकार्य, आइपर्ने समस्या एवं चुनौतीहरु, तथा लिनुपर्ने नीति तथा रणनीतिहरुका बारेमा सुझावहरु तथा टिप्पणीहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सूचना प्रविधिका क्षेत्रगत रुपमा काम गरिरहेका संस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने महासंघको नीति रहेकाले सबै आईसिटीका क्षेत्रगत रूपमा स्थापना भएका संस्थाहरु क्यान महासंघमा विषयगत सदस्यको रुपमा आवद्ध हुन समेत अध्यक्ष कुँवरले अह्वान गरेका छन् ।
अन्र्तक्रिया कार्यक्रममा ई-बिजनेस एसोसिएसनका अध्यक्ष सागर देव भट्ट, प्राइम आईटी क्लबका अध्यक्ष रुजन श्रेष्ठ तथा महासचिव सृजय श्रेष्ठ, नेपाल मोबाइल वितरक संघका सदस्य राम श्रेष्ठ, नेपाल ई-गभर्नन्स सोसाइटीका उपाध्यक्ष दीपेन्द्र पौडेल, स्टार्टअप एसोसिएशन नेपालका सदस्य नारायण क्षेत्री र नेसनल आईसीटी क्लबका अध्यक्ष नेत्रप्रसाद पौडेल छन् ।
डिजिटल मार्केटिङ एसोसिएसन नेपालका सदस्य निरञ्जन पटेल, सिटिभिटी टेक्नोस सोसाइटी नेपालका अध्यक्ष सञ्जय बस्नेत तथा महासचिव राजन मानन्धर, कम्प्युटर फ्याकल्टी एसोसिएसनअप नेपालका कोषाध्यक्ष दीपक ठाकुर तथा केन्द्रीय सदस्य सुवासशिव परियार र नविन अधिकारी, नेपाल डाटा सेन्टर सोसाइटीका प्राविधिक सुरेन्द्र गिरी लगायतले आ-आफ्नो धारणा राखेका थिए ।