काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमको आम्दानी घट्न थालेको छ । वैकल्पिक प्रविधिको विकासले विश्वभरि नै टेलिकम कम्पनीको आम्दानी खुम्चिरहेका बेला नेपाल टेलिकमको पनि अवस्था त्यही भएको छ । ‘भाइबर, इमो, ह्वाट्सएप र फेसबुक जस्ता ओभर द टप (ओटीटी)ले टेलिकमको आम्दानी घटाइ दिएको हो ।
अघिल्लो वर्षभन्दा गत वर्ष टेलिकमको आम्दानी २ अर्ब रुपैयाँ घटेको हो । टेलिकमले गत आर्थिक वर्ष ४३ अर्ब ४८ करोड २० लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । अघिल्ला वर्ष टेलिकमको आम्दानी ४५ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ थियो ।
आम्दानी घटेपछि टेलिकमको नाफामा ७ अर्ब रुपैयाँ भन्दा बढी सङ्कुचन आएको छ । टेलिकममा सरकारको ९८ र ८ प्रतिशत सर्वसाधारणको लगानी छ । गतवर्ष प्रतिसेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गरेको टेलिकमले यसवर्ष दिन गतवर्ष बराबर लाभांश दिन सक्ने अवस्थामा छैन । गत वर्ष सरकारलाई मोवाइल लाइसेन्स शुल्कवापत ४ अर्ब रुपैयाँ भुत्तानी गरेपछि यसको असर लाभांशमा परेको छ ।
अन्तर्राष्ट्रिय आगमन कललाई ओटीटीले विस्थापन गरेपछि आम्दानी खुम्चिएको टेलिकमका सहप्रवक्ता कृष्ण भण्डारीले क्यापिटल नेपाललाई बताए । उनले बजारमा अन्य प्रतिपर्धीको कम्पनीको तुलनामा डेटाको शुल्क न्यून भएको कारणले पनि आम्दानी अपेक्षित रुपमा बढ्न नसक्ने उनले बताए ।
‘फिक्स लाइनमा एफटीटीएचबाट आम्दानी बढाउने र डेटामार्फत डेटा भोल्यूममा वृद्धि गरी रेटलाई यथावत् राख्ने योजनामा छौं’ उनले भने ।
यस्तै नीतिगत र प्राविधिक व्यवधानबाट खुम्चिएको आफ्नो आयस्रोत बढाउन टेलिकमले भर्टिकल बिजनेस इन्डस्ट्रिजमा अर्थात डेटा प्लस कन्टेन्ट बिजनेसमा सिफ्ट हुने रणनीति लिएको टेलिकमको भनाइ छ ।
विश्वमा पनि यही ट्रेन्ड चलिरहेकाले टेलिकम पनि यसतर्फ सिफ्ट हुन खोजेको छ । नेपालमा मात्र होइन, विश्वभरि नै अहिले डेटा प्लस कन्टेन्ट बिजनेस अर्थात भिडियो, गेम अथवा इन्टरप्राइजेज बिजनेस, ठूल्ठूला संस्थाले प्रयोग गर्ने एप्स, इन्टरप्राइजलाई कम्प्लिट सोल्युसन दिएर त्यताबाट आम्दानी आर्जन गर्ने रणनीतिमा सिफ्ट हुने तयारीमा टेलिकम छ ।
यस्तै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्नुका साथै ओटीटी सेवा ब्लक गर्ने कतार, साउदी जस्ता मुलुकले पनि यस्तो सेवा खुला गरेपछि ओटीटी बढेर टेलिकमको प्रमुख आम्दानीमा असर गरेको हाे ।
अन्तर्राष्ट्रिय कलमा अवैधानिक ट्रान्जेक्सन, सेवाग्राहीको रुची र स्वाद परिवर्तन हुँदा नाफा घटेको कम्पनीले उल्लेख गरेको छ । साथै बजारमा प्रतिस्पर्धा बढ्नुका साथै दूरसञ्चार प्रविधिमा तीव्र विकास र अत्याधुनिकता आउँदा सेवाग्राहीको अपेक्षा पूर्ति हुन नसक्दा र वदेशिक रोजगारीमा जानेको संख्या घट्नुले टेलिकमलाई बाहिरी चुनौती र समस्या थपेको छ ।
तर यी चुनौती र समस्यालाई चिर्न कम्पनीले रणनीति पनि तयार गरेको छ । बजारमा प्रतिस्पर्धा गर्न कम्पनीले जिएसएममा फोरजी र थ्रीजी, एफटीटीएच, एनजीएन, आईपी सीडीएमए, ईभीडीओ र वाई म्याक्सको विस्तार गरेर सेवाग्राहीलाई उचित मूल्यमा सेवा प्रवाह गर्न केन्द्रित भएको छ ।