काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ फिर्ता भएको छ । केपी शर्मा ओली नेतृत्व सरकारले तयार पारेको हवाई नीति प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले फिर्ता पठाएको हो ।
मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषदमा पेश भइसकेको हवाई नीति फिर्ता भएको छ । सामान्यता सरकार परिवर्तन भएसँगै विगतका सरकारले गरेका विचारधिन निर्णयहरु फिर्ता हुने गरेका छन् ।
नयाँ सरकार बनेपछि ओली नेतृत्वको सरकारले तयार पारेको हवाई नीतिको मस्र्यौदा मन्त्रिपरिषदबाट फिर्ता आएको मन्त्रालयका एक अधिकारीले क्यापिटललाई जानकारी दिए ।
‘हवाई नीतिसँगै अन्य दुई तीन वटा प्रस्तावहरु पनि फिर्ता आएको जानकारी पाएको छु, ती अधिकारीले भने, के के फिर्ता आए भन्ने यकिन भने भइसकेको छैन’ ।
तयार भएको मस्र्यौदामा अन्तर्राष्ट्रिय वायुसेवा ८० प्रतिशतसम्म, आन्तरिक वायुसेवा ४९ प्रतिशतसम्म, प्रशिक्षण संस्था ७५ प्रतिशतसम्म, मर्मत–सम्भार संस्थामा ७५ प्रतिशतसम्म विदेशी लगानी खुला गरिने उल्लेख थियो ।
यस्तै वायुसेवा सञ्चालन, प्रशिक्षण, मर्मत–सम्भार तथा यात्रु सेवा सुविधाप्रदायक उद्योगहरूमा विदेशी लगानी स्वीकृति दिन सकिने व्यवस्था गरेको थियो ।
योसँगै नयाँ हवाई नीतिमा निजी जहाज खरिद गर्न चाहने नेपालीलाई अनुमति दिइने प्रस्ताव गरिएको छ । विगतमा यस्तो अनुमति दिइएको थिएन ।
राष्ट्रिय हवाई नीति २०५० लाई १३ वर्षपछि परिमार्जन गरी २०६३ लागू भएको थियो । अहिले झण्डै डेढ दशकपछि नयाँ नीतिको मस्यौदा तयार पारिएको थियो ।