काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी महाप्रवन्धक डिमप्रकाश पौडेललाई तत्कालै बर्खास्त गर्न माग गरेका छन् ।
निगमका ९ वटा विभिन्न कर्मचारी संघसंगठनहरुले सयुक्त रुपमा प्रधानमन्त्री देउवालाई भेट गरी महाप्रवन्धक पौडेलको बर्खास्तीसँगै निजिकरणको गर्ने निर्णय खारेज गर्नुपर्ने, महाप्रबन्धकको ३०० प्रतिशत अस्वभाविक तलब वृद्धि अबिलम्ब खारेज गर्नुपर्ने र संचालक समितिमा निगमको व्यवसायिक स्वार्थ बाझिने संस्थासंग आबद्ध व्यक्तिको नियुक्ति खारेज गर्नुपर्ने माग अघि सारेका छन् ।
निगमलाई निजिकरण गर्ने निर्णय गरेर प्रवन्ध पत्र नियमावली बनाएको भन्दै त्यहाँका कर्मचारीहरु विगत ३४ दिनदेखि आन्दोलनमा उत्रिएका छन् ।
कर्मचारीहरुले सरकारको तर्फबाट गर्नुपर्ने दायित्व बहन नगरी निगमलाई धरासायी बनाउनको निम्ति निगम संचालक समितिले आन्तरिक उडानमा प्रयोग हुने जहाजहरुलाई भूमिस्थ गर्ने निर्णय गरेकाे छ ।
निगमको आन्तरिक उडानलाई शून्यको अवस्थामा पुर्याउने, निगमसँग भएका चल अचल सम्पत्तिको डीडीएबाट प्रचलित दरभन्दा अत्यन्त न्यून दरमा मूल्यांकन गरी राज्यको सम्पतिमाथि नितिगत भ्रष्टचार भएको तथा निगमको भैरहेको संगठनात्मक संरचनालाई मनोमानी तरीकाले कटौती गरी निगमको व्यापार क्षेत्र समेत संकुचित बनाई बन्दको स्थितिमा पुर्याउने काम गरेको भन्दै महाप्रवन्धक पौडेललाई बर्खास्ती गर्नुपर्ने आन्दोलनरत कर्मचारीहरुको माग छ ।
यता महाप्रवन्धक पौडेलले भने निगमलाई निजिकरण नभई कम्पनी मोडलमा लैजाने विषयमा छलफल मात्र भएको बताउँदै आएका छन् । अहिलेकै अवस्थामा निगम सञ्चालन गर्न नसकिने र कम्पनी मोडलमा लैजानका लागि विगतमा गरिएको डीडीएलाई मान्यता नदिने बताएका छन् ।
विदेशी साझेदारी ल्याउँदा अन्तर्राष्ट्रिय स्तरबाटै डीडीए गराउनुपर्ने भएकाले आफ्नो कार्याकालमा कुनै प्रक्रिया अघि नबढेको भन्दै भ्रममा नपर्न सामाजिक संजालमार्फत सार्वजनिक अपिल गरेका छन् ।