काठमाडौं । कोभिड–१९ पछि सरकारले पछिल्लो समय जारी गरेको निषेधाज्ञापछि पर्यटनसँग सम्बन्धित कुनै क्षेत्र पूर्णरुपमा खुला गरेको छैन । तर, पनि अहिले रेष्टुराँ र होटलहरु भने स्वस्फूर्त आशिंक रुपमा सञ्चालनमा छ ।
नेपालमा कोभिड–१९ को संक्रमण फैलिएपछि लकडाउन सुरु भएको करिब १७ महिना हुन लाग्यो । अर्थात कोभिडले जनजीवन अस्तव्यस्त बनाएको आज (बिहीबार) १६ महिना ५९ दिन पूरा भयो ।
कोभिड संक्रमण फैलिएपछि सबै होटलहरु बन्द भए । तर, काठमाडौंको यस्तो होटल छ जुन कोभिड संक्रमण उच्च विन्दुमा पुग्दासमेत बन्द भएन । सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै क्वारेन्टाइनको रुपमा अहिलेसम्म सञ्चालनमा रहेको होटल मध्येको एक हो, सिनामंगलको ‘एयरपोर्ट होटल’ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट अगाडि रहेको सो होटलले आफ्ना कर्मचारीहरुलाई त्यही राखेर सेवा सुविधा दिँदै आएको छ । होटल सञ्चालक विनायक शाहका अनुसार होटल अहिलेसम्म बन्द गर्नुपरेको छैन ।
होटलमा रहेको ६८ वटा कोठामध्ये ६÷७ वटा मात्र सञ्चालनमा ल्याएर त्यसलाई आवश्यक कर्मचारीहरु, हाउसकिपिङ, फ्रन्ट अफिस, किचेन, सर्भिसका लागि १/१ जना गरेर ५ देखि ७ जना कर्मचारीहरुलाई २४ सै घण्टा होटलमै राखिएको सञ्चालक विनायक शाहले बताए ।
‘बैंकको ऋणको साँवा र ब्याज तत्कालै तिर्न नपर्ने भएकाले पनि आजको दिनसम्म सानो स्केलमा होटल चलिरहेको छ । तर, यसैगरी कति दिनसम्म चलाउने भन्ने प्रश्नहरुले घेरिन थालेको छ ।’
संक्रमण फैलिने डर र होटलमा आउने ग्राहकलाई सुरक्षित आवास दिलाउने उद्देश्यका साथ उनीहरुलाई घरमा समेत नपठाएको र कर्मचारीहरु पनि यस विषयमा खुसी भएको उनी बताउँछन् ।
‘अहिलेसम्म होटल बन्द नहुनु र निरन्तर चल्नुको मुख्य कारण भनेकै खर्च घटाउनु हो,’ सञ्चालक शाहले भने, भएका कर्मचारीहरुबाट १० प्रतिशतले मात्र होटल चलाएको र रुमहरु पनि त्यही अनुसारले सञ्चालन भएका छन् ।’
जति खर्च भयो त्यति मात्र सञ्चालन गरेको हुनाले अहिलेसम्म व्यवसायलाई निरन्तरता दिन सकिएको उनले बताए ।
‘बैंकको ऋणको साँवा र ब्याज तत्कालै तिर्न नपर्ने भएकाले पनि आजको दिनसम्म सानो स्केलमा होटल चलिरहेको छ । तर, यसैगरी कति दिनसम्म चलाउने भन्ने प्रश्नहरुले घेरिन थालेको छ,’ उनले भने ।
फेरि अहिले कोभिड–१९ को विभिन्न लहरहरु आउने हल्ला गरिएको छ चिन्ता जनाउँदै शाहले भने दोस्रो त चलिरहेको छ र तेस्रो र चौथो पनि आउने आँकलनहरु विज्ञहरुले गर्दै आएका छन् । त्यस्तो बेलासम्म अब हामी के गर्ने हो ?’
मुलुकमा राजनीतिक उथलपुथल भएर नयाँ सरकार बनेको छ । कोभिडकै समस्याकाबीच बनेको सरकार भएकाले अबको सरकारले कोभिड नियन्त्रणका लागि खोपलाई प्राथमिकता र कोभिडले असर पुर्याएका व्यवसायलाई पुनरुत्थानका लागि तत्काल पहल गरिहाल्नुपर्छ ।
अहिले जति सामान्य अवस्थामा होटलको ऋणको दायित्व थियो, त्यसमा अहिले २० प्रतिशत बढेको जनाएको छ । सञ्चालन खर्चसमेत अहिलेको अप्रेसनबाट नउठ्ने गरेको बताउँछन् । तथापि कर्मचारीहरुलाई ट्रेड युनियनसँगको सहमतिअनुसार सबै कर्मचारीहरुलाई निश्चित रकम उनीहरुको खातामा नियमित रुपमा पठाउँदै आएको र अब त्यो पनि गाह्रो हुने अवस्थामा पुग्न थालिएको बताए ।
कार्यान्वयन गर्ने निकाय फितलो
नेपालमा पर्यटन क्षेत्र उकास्नका लागि आवश्यक नीति नियम नबनेको र नरहेको भने होइन । तर, त्यसलाई कार्यान्वयन गर्ने निकाय नै फितलो छ । अन्तरमन्त्रालयबीच समन्वय नहुने र जसको कारण निजी क्षेत्र त्यसबाट सबैभन्दा बढी प्रभावित भएको छ ।
यो वर्षको बजेटमा आएको १० दिनको पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको भिसा शुल्क मिनाहा गर्ने भन्ने विषयलाई सकारात्मक रुपमा लिएको बताए । त्यसले केही हदसम्म पर्यटकीय गतिविधि बढाउन सहज पुर्याउँछ । उनी भन्छन्, ‘सरकारी नीति नियम हेर्दा र सुन्दा गाना सुनेको जस्तो राम्रो हुन्छ तर, लागू हुँदैन’ ।
अहिले पनि विदेशीहरु नेपालमा घुम्न आउन चाहनेहरु धेरै छन् । मलाई नै अमेरिकाबाट अक्टोबर, नोभेम्बरका लागि पर्यटकहरुले जानकारी मागिरहेका छन् । होटल बुक गरेर भिसा पठाइदिन भनिरहेका छन् ।
साउन अन्तिम हुँदासम्म विदेशी पर्यटकहरुलाई छुट दिने विषयमा अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी पुग्न सकेको छैन । तर, विदेशीहरुले त यस विषयमा सोधखोज गर्छन् ।
सरकारले निर्णय गरेका विषयहरु कार्यान्वयन भयो वा भएन भनेर हेर्न कुनै निकाय नै छैन । अहिले पनि विदेशीहरु नेपालमा घुम्न आउन चाहनेहरु धेरै छन् । मलाई नै अमेरिकाबाट अक्टोबर, नोभेम्बरका लागि पर्यटकहरुले जानकारी मागिरहेका छन् । होटल बुक गरेर भिसा पठाइदिन भनिरहेका छन् । तर, मलाई अब यसपछि के हुन्छ र सरकारी निर्णय के हुन्छ भनेर थाहा नै छैन ।
मैले अहिले हौसिएर हुन्छ भनेर जवाफ पठाउँला र पछि आउन पाएनन् भने म त्यसमा ठूलो बेइमानी ठहर हुन्छु । त्यसैले सरकारले यस्ता विषयमा स्पष्ट पारी दिनुपर्छ । अबको ६ महिनापछि के हुन्छ र कसरी अघि बढ्ने भनेर निर्णय त दिनुपर्छ । अहिले आशा त परैजाओस् पूरै अनिश्चित भएको छ । सरकारको नीति नियम कस्तो रहने कस्तो हुन्छ भनेर अहिलेसम्म कुनै निश्चित नै हुन सकेको छैन । जसको कारण धेरै व्यवसायीहरु समस्यामा परेका छन् ।
अनुभवि कर्मचारी गुम्दै
अहिले मेरो होटलमा काम गर्ने ९० प्रतिशत कर्मचारी घर गएका छन् । उनीहरु सबै काठमाडौं बाहिरका छन् । ती कर्मचारीहरुले अहिले आफ्नै पेशा व्यवसाय सुरु गरेका छन् । यहाँबाट दिनुपर्ने रकमहरु दिएर पठाएको छु । धेरै वर्ष काम गरेकाहरुले स्वेच्छिक अवकाश खोजिरहेका छन् ।
स्वेच्छिक अवकाश रोज्नेहरुलाई नियमअनुसार पैसा दिनुपर्छ र दिन्छु पनि । तर, उनीहरु जस्तै जनशक्ति मैले फेरि कहाँबाट ल्याउने ? उनीहरुलाई कति वर्ष लगाएर अनुभवि बनाएका थियौं, अब तिनीहरुलाई गुमाउँदै छौं ।
अहिलेकै अवस्था त सधैं नरहँला । त्यसपछि फेरि ती जनशक्तिहरु पर्यटन क्षेत्रले गुमाउँदै छ । उनीहरु पलायन हुँदैछन् । गाउँमै गएर केही कामहरु गर्ने उद्देश्य राखेर स्वेच्छिक अवकाश रोज्नेहरुलाई मैले पठाउनै पर्छ ।
विदेशीहरु नेपाल आउन तयार छन्
अहिलेकै अवस्थामा पनि भारत, चीन, अमेरिका, अस्ट्रेलिया र जापानलगायतका मुलुकबाट केही पर्यटकहरु नेपाल आउन तयार छन् । उनीहरु के भन्छन् भने हामी त प्रकृतिसँग रमाउन जाने हो । हिमालको काखमा जाने हो ।
जहाँ मानिसको बसोबास नै छैन । त्यस्ता ठाउँमा जान हामी कोभिडविरुद्धको खोप लगाएर आएका हुन्छौं र तिम्रो देशलाई कुनै असर नै हुँदैन । यस्तो बेलामा पनि किन हामीलाई आउन दिन मानिरहेका छैनौं । यतिभन्दा पनि हामीले उनीहरुलाई पक्का गर्न सकिएन भने अर्कै मुलुक जान्छौं भनिरहेका छन् ।
ट्राभल एडभाइजरी हटाउन पहल गर्नुपर्छ र अराइवल भिसा दिनुपर्छ । अहिले यही कारणले नेपालले धेरै पर्यटकहरुलाई गुमाइरहेका छौं । गत वर्षदेखि नै पर्यटकहरुलाई गुमाउँदै यो वर्ष पनि गुमाउने अवस्थामा पुगेका छौं ।
खोप लगाइसकेका पर्यटकलाई नेपाल भित्राउनका लागि सरकारले पहल पनि गरिरहेको छैन । उनीहरुलाई यो वर्ष गुमायौं अर्को वर्षबाट यहाँ आउँछन् भन्ने हुँदैन ।
त्यसैले उनीहरुलाई नेपाल आउनुस् भनेर भनौं पछि रद्द गर्दा आफैं नराम्रो हुने र नआउनु भनौं अर्को वर्षदेखि ती ग्राहकहरु गुम्ने डर । सरकारी नीति अस्पष्ट भएकै कारण म जस्ता धेरै व्यवसायीहरु समस्यामा परेका छन् । मेरो त यो सानो उदाहरण मात्र हो ।
अर्काेतिर अहिले धेरै मुलुकले नेपाललाई ट्राभल एडभाइजरी जारी गरेको छ । अमेरिका, युरोप, जापान, अस्ट्रेलियालगायतका मुलुकले आफ्ना नागरिकहरुलाई नेपालमा घुम्न नजान भनेको छ । अर्थात प्रतिबन्ध लगाएको छ । यस्तो बेलामा त्यो प्रतिबन्ध फुकाउने कसले लभिङ गर्ने हो ? निजी क्षेत्रले त यसमा केही गर्न सक्र्दैन । त्यसका लागि सरकारले नै चासो देखाएको पाइँदैन ।
त्यसैले ट्राभल एडभाइजरी हटाउन पहल गर्नुपर्छ र अराइवल भिसा दिनुपर्छ । अहिले यही कारणले नेपालले धेरै पर्यटकहरुलाई गुमाइरहेका छौं । गत वर्षदेखि नै पर्यटकहरुलाई गुमाउँदै यो वर्ष पनि गुमाउने अवस्थामा पुगेका छौं ।
यसरी नेपाललाई माया गर्ने पर्यटकहरुलाई गुमाउँदै गयौं भने अब उनीहरु नेपालमा कहिल्यै नआउने गरी गुमाउन लागेका छौं । मैले विगत २५ देखि ३० वर्षसम्म सँगै काम गरेकाहरुलाई समेत म कहाँ आउन छोडेका छन् । त्यसैले अब के गर्ने त ? सधैं ५ देखि ७ वटा कोठा मात्र चलाएर व्यवसाय धान्न सक्ने अवस्था छैन ।
त्यसैले अब विकल्पहरु सोच्नुपर्ने बेला भएको छ । अनुमान गर्न सक्छु, १० वर्षे द्वन्द्वको बेला ब्लुस्टार, शेर्पा, नारायणी होटलहरु बन्द भए, अब हाम्रा होटलहरुको अवस्था पनि त्यस्तै नहोला भन्न सकिँदैन ।
खर्चले धान्न नसकेपछि बन्द गरेर नयाँ काम गर्ने होकी भन्ने सोच आउन थालेको छ । होटल नै चलाएर खर्च धान्ने अवस्था नभएकाले सरकारले यसका लागि उपयुक्त निर्णय दिन आवश्यक छ ।
कि त मलाई केही वर्षका लागि केही नगरी कुनै आर्थिकभार नपर्ने गरी बस्न सक्ने वातावरण बनाउनुपर्छ । कम्तीमा २ वर्षका लागि म सरकारलाई कुनै ट्याक्स पनि तिर्दिन, कर्मचारी पनि पाल्दिन । जब पर्यटनमा बुम हुने अवस्था आउँछ त्यो बेला फेरि सञ्चालनमा ल्याउँछु ।
यो वातावरण सरकारले दिन्छ त ? होइन, भने मैले यो सम्पत्ति बेच्नुपर्छ वा भाडामा अर्कै प्रायोजनका लागि दिनुपर्ने स्थिति आउने बेला भएको छ ।
बैंकहरुले पनि दुई वर्षको अवधि दिएका हौं, अब दिन सकिँदैन भन्न थालिसकेका छन् । बैंकले पनि कहिलेसम्म धान्ने हो ।
बैंक पनि व्यापारिक संस्था भएकाले उसले दबाब दिनु उचित पनि हो । ऋण तिर्न सकेन भने बैंकले लिलामीको सूचना निकाल्न सक्छ । विगत लामो समयदेखि बैंकको किस्ता र ब्याज तिर्न नसक्दा ऋण थुप्रिरहेको छ ।
अबको मौद्रिक नीतिमा त्यो ऋणलाई पनि किस्ता बन्दीमा तिर्न मिल्ने वातावरण बनाउनुपर्छ । हेर्दा सामान्य समस्या छ । तर, यो पर्नेलाई मात्र थाहा छ, कस्तो किसिमको समस्या छ भनेर । जसले समस्याको अनुभव नै नगरेकाहरुलाई हाम्रो व्यथा कसले बुझिदिने ?
सरकारले गर्नुपर्ने साना–साना निर्णयहरुलाई कार्यान्वयन नगरेकै कारण उद्योग कलकारखानाहरु समस्यामा पर्दै आएका छन्। त्यसका लागि उद्योग कलकारखानाहरु कसरी सञ्चालन गर्ने भन्ने प्रष्ट खाका बनाउनुपर्छ ।
जुन स्वास्थ्य, परराष्ट्र, पर्यटन, गृह लगायतका सम्बन्धित मन्त्रालयहरुले मान्ने हो । अहिले पर्यटनले भनेको कुरा स्वास्थ्य र गृहले सुन्दै सुन्दैन । जसको कारण निर्णय कार्यान्वयनमै चुकेको हुँदा व्यवसायीहरु कोभिडको दोस्रो लहरले नै धरासायी बनिसकेको अवस्थामा तेस्रो लहर आउँदा के हुन्छ भनेर कल्पना समेत गर्न सकिरहेको छैन ।
शाह, एयरपोर्ट होटलका सञ्चालक एवंम होटल संघका प्रथम उपाध्यक्ष हुन् ।