तनहुँ । तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म ६ करोड ६ लाख ३९ हजार रूपैयाँ बक्यौता रहेको छ । कोभिड–१९ बाट सुरक्षित हुन निषेधाज्ञा जारी गरिएसँगै महसुल बुझाउन ग्राहक नआएपछि उक्त रकम बक्यौता हुन पुगेको सो कार्यालयले जनाएको छ ।
विगतका वर्षमा सरदर ३ करोड बक्यौता हुने गरे पनि गत आवमा दुई गुणा बढीले रकम बक्यौता हुन पुगेको कार्यालयका सूचना अधिकारी विष्णुराज लोहनीले जानकारी दिए। उनका अनुसार ९३.८ प्रतिशत रकम सङ्कलन गर्न सकिएको छ भने ६.२ प्रतिशत सङ्कलन गर्न नसकिएको हो । सरकारले बक्यौता हुने ग्राहकको लाइन काट्न निर्देशन दिए पनि कोभिड–१९ का कारण फिल्डमा जान सक्ने अवस्था नरहेकाले लाइन नकाटिएको उहाँले बताए।
यहाँ ४० हजार ४ सय ८५ विद्युतका ग्राहक छन् । ४ करोड ५२ लाख २ हजार ५ सय २८ युनिट विद्युत् बिक्री गर्दा ३९ करोड ७६ लाख ४० हजार ९ सय ८४ ररूपैयाँ राजस्व सङ्कलन गरिएको छ । प्रणाली व्यवस्थित गर्न सकिए करेन्टको कुनै अभाव नरहेको सो कार्यालयले जनाएको छ । जिल्लामा १०.५४ प्रतिशत विद्युत् चुहावट हुने गरेको बताइएको छ ।
यहाँ विद्युत् चोरीका कुनै घटना नभए पनि प्राधिकरणले प्रणाली सुदृढीकरण गर्न सके चुहावटमा कमी ल्याउन सकिने कार्यालय प्रमुख इञ्जिनियर सोवितबहादुर क्षेत्रीले जानकारी दिए । जिल्लामा सबैभन्दा बढी तनहुँ जलविद्युत आयोजनाले विद्युत् खपत गर्ने गरेको छ । आयोजनाले एक महिनामै २७ लाखदेखि ४६ लाख रूपैयाँसम्म विद्युत महसुल बुझाउने गरेको कार्यालय प्रमुख क्षेत्रीले बताए।
विद्युत् चुहावटलाई न्यूनीकरण गर्न कार्यालयका तर्फबाट पनि पहलकदमी थालिएको छ । जिल्लामा आव २०७६/७७ मा ९५ प्रतिशत विद्युतीकरण भएकामा आव २०७७/७८ को असारमसान्तसम्म ९७ प्रतिशत जनशक्तिमा विद्युत पहुँच पुगेको छ ।
जिल्लाको कछार भनेर चिनिने चितवनसँग जोडिएको देवघाट गाउँपालिकाका केही क्षेत्रमा विद्युत् जडानका कार्य बाँकी रहेको कार्यालय प्रमुख क्षेत्रीले बताए । जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका आयोजनाले काम गरिरहेकाले छिट्टै जिल्ला पूर्ण विद्युतीकरण हुनेमा विश्वस्त रहेको सो कार्यालयले जनाएको छ । रासस