म्याग्दी । गत असार ३ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले प्रसारण क्षमताको अभावमा अझै पनि ‘फुलफेज’मा विद्युत् उत्पादन गर्न पाएको छैन ।
‘हाइड्रो हव’ का रूपमा विकसित हुँदै गरेको नारच्याङमा निर्माण गरिएको सो आयोजनाको पूर्णउत्पादन ९४२ मेगावाट नै क्षमता भए पनि विद्युत् प्राधिकरणको प्रसारण क्षमता नहुँदा पूर्णरूपमा व्यावसायिक उत्पादन गर्न नसकेको जनाइएको छ ।
आयोजनाका अनुसार विद्युत् प्राधिकरण लोडसेन्टरको माग दैनिक २८ देखि ३० मेगावाट मात्र रहेकाले सोही अनुपातमा विद्युत् उत्पादन गरी ग्रीडमा पठाइएको छ । ४२ मेगावाट उत्पादन क्षमता भए पनि विद्युत् प्राधिकरणको प्रसारण क्षमता नहुँदा नोक्सानी व्यहोर्न आयोजना बाध्य भएको आयोजनाका कन्स्ट्रक्शन म्यानेजर चुडामणि निरौलाले बताए ।
“हामीले गत जेठ १५ गतेबाट विद्युत् उत्पादन गरी ग्रीडमा पठायौँ र असार ३ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन शुरु ग¥यौँ”, आयोजनाका म्यानेजर निरौलाले भने, “प्राधिकरणको प्राविधिक कारणले लोड सेन्टरको मागअनुसार अहिले सरदर ३० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।”
मिस्त्रीखोलाबाट उत्पादित विद्युत् अन्नपूर्ण गाउँपालिका–३ दानास्थित कालीगण्डकी करिडोर २२० केभिए प्रसारण लाइनको सबस्टेशनमा जोडिएको छ । यो प्रसारण लाइन पूरा भएको छैन ।
पर्वत–बुटवल खण्डमा प्रसारण लाइनको काम जारी नै रहेको छ । प्रसारण लाइनको सम्पूर्ण काम पूरा नभएसम्म नारच्याङमा निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नसकिने आयोजनाका कन्स्ट्रक्शन म्यानेजर न्यौपानेको भनाइ छ ।
कालीगण्डकी र आसपासका नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा विसं २०७७ माघमा २२० केभी क्षमताको सबस्टेशन बनाएको थियो । दानाबाट पर्वतको खुर्कोटसम्म ११० वटा टावर बनाएर ३९।६ किलोमिटर डबल सर्किटको तार तानिएको छ । तर पर्वत–बुटवल खण्डमा प्रसारण लाइनको काम जारी नै रहेको छ ।
विसं २०७३ जेठबाट निर्माणको थालनी गरेको मिस्त्रीखोला जलविद्युत् आयोजनाको कूल लागत ५ अर्ब ६४ करोड रूपैयाँ रहेको छ । माउण्टेन इनर्जी प्रालिले निर्माण गरेको यो आयोजनाको प्रतिमेगावाट १३ करोड ५० लाख उत्पादन लागत रहेको छ ।
यो आयोजना नेपालकै सस्तोे प्रोजेक्ट भएको दाबी गरिएको छ । आयोजनाले विद्युत् प्राधिकरणसँग प्रतियुनिट वर्षायाममा चार रुपैयाँ ६६ पैसा र हिउँदमा चार रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाको वडा नं ४ मा पर्ने नारच्याङमा १० वटा विद्युत् आयोजना निर्माणाधीन छन् । यहाँ ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९।९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् ।रासस