विराटनगर । मोरङको कटहरीमा रहेको तरकारी बजार निर्माण सकिएको साँढे दुई बर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । २०७५ चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बजारको उद्घाटन गरेका थिए ।
विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गरी व्यवस्थित गर्ने उद्देश्यले संघीय सरकारअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले तरकारी बजार निर्माण गरेको थियो । तरकारी बजार १८ करोड रुपैया लागतमा सम्पन्न भएको हो ।
प्रदेश सरकारले बजार सञ्चालनको कार्यविधि बनाउन ढिलाइ गर्नु, प्रदेश र स्थानीय तहबीच समन्वय अभावलगायत कारण नमुना तरकारी बजार सञ्चालनमा आउन सकेन ।
निर्माण सम्पन्न पश्चात संघीय सरकारले प्रदेश सरकारलाई तरकारी बजार हस्तान्तरण गरेको थियो । तर, प्रदेश सरकारले तरकारी तथा फलफूल बजार संञ्चालन गर्न नसकेपछि अहिले विशिष्टीकृत सहकारी संघलाई जिम्मा दिएको छ ।
विराटनगर महानगरपालिका र कटहरी गाउपालिकाको पहलमा बजार निर्माण भएको हो । संघीय सरकारले प्रदेश सरकारलाई बजार हस्तान्तरण गरेपछि दुवै स्थानीय तह असन्तुष्ट भएका छन् ।
विराटनगर महानगरपालिका र कटहरी गाउपालिकाले प्रदेश सरकार मातहतको बजार भएकाले सञ्चालनका लागि प्रदेश सरकारले नै जिम्मेवारी लिनुपर्ने बताउदै आएका थिए ।
विराटनगर महानगरपालिकाले गुद्री बजार व्यक्तिको जग्गामा सार्यो । विराटनगर बसपार्क पछाडी रहेको नेपाली कांग्रेसका नेता नागेश कोइरालाको जग्गामा गुद्री बजार सञ्चालन भएको छ ।
प्रदेश सरकार एमालेको नेतृत्वमा भएको र विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकामा कांग्रेसको सरकार भएका कारण यस्तो समस्या आएको धेरैको बुझाई छ ।
प्रदेश तथा स्थानीय सरकार आफै अधिकारसम्पन्न भएका कारण पनि विकासका काममा प्रभावकारी समन्वय नहुँदा विभिन्न समस्या आउने गरेको देखिन्छ । मोरङको कटहरी गाउँपालिकामा रहेको फलफूल तथा तरकारी बजार यसको एउटा उदाहरण हो ।
गत फागुनमा एक वर्ष भाडा नतिर्ने गरी पाँच वर्षका लागि ठेक्का पाएको विशिष्टकृत सहकारी संघले पनि बजार सञ्चालन गर्न सकेको छैन । संघ गत असार १ गते मात्र सहकारी रजिष्ट्रार कार्यालय इटहरीमा दर्ता भएर सञ्चालनमा आएको हो । बजार सञ्चालन नहुँदा अहिले निर्माण भएको बजारको संरचना खण्डहर बन्दै गएको छ ।
जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ बिघा २ कठ्ठा २ धुर र १८ कठ्ठा ऐलानी जग्गामा निर्माण भएको बजारको भवन प्रयोग विहीन बनेको छ ।
विराटनगर छेउमा रहेको बजार सञ्चालनका लागि महानगरपालिका र कटहरी गाउँपालिकासँग पटक पटक छलफल गरे पनि प्रदेश सरकारले बजार सञ्चालन गर्न नसकेपछि कटहरी फलफूल तथा तरकारी बजार नियमावली २०७७ निर्माण गरेर विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ लिमिटेड मोरङलाई जिम्मा दिएको हो ।
सम्झौताको गरेको पाँच महिना बित्दा पनि सहकारीले बजार सञ्चालन गर्न सकेको छैन । सम्झौता लगतै नयाँ संरचना मर्मतका लागि भन्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग ४१ लाख रुपैयाँ बजेट माग गरेको थियो ।
सञ्चालक समितिमा रहेका मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गर्न नमानेपछि बजेट विनियोजन भएन । सहकारीले वर्षा हुँदा पानी भित्र पस्ने भन्दै मर्मतका लागि बजेट माग गरिएको छ ।
नियमावलीअनुसार बजार सञ्चालनका लागि कटहरी फलफूल तथा तरकारी थोक बजार विकास समिति गठन गरिएको छ । समिति संयोजक प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय प्रमुख बलराम निरौलाले सहकारीले बजार सञ्चालन गर्न पहल गरिरहेको बताएका छन् ।
प्रदेश सरकारले निजीसँग सहकार्य गरे चलाउने प्रयास पनि गरेको थियो । तर, त्यो पनि नसकेपछि सहकारीसँग सहकार्य गरेर जाने भनेर अघि बढेको थियो । त्यहीअनुसार प्रदेश सरकारले फलफूल तथा तरकारी थोक बजार नियमावली निर्माण गरेर विशिष्टकृत सहकारी मार्फत चलाउने भनेर सघ दर्ता गरी काम अगाडि बढाईएको संयोजक निरौलाले बताए ।
सञ्चालनको लागि आवेदन माग भएको र एउटा मात्र विशिष्टकृत सहकारी संघको आवेदन परेकाले उसैलाई जिम्मा दिईएको उनको भनाई छ ।
सहकारी मार्फत सञ्चालन हुँदा सहकारीका सेयर सदस्य पनि कृषिमा आत्मनिर्भर हुने अवस्था सिर्जना हुने उनको भनाई छ । ‘सहकारीका सेयर सदस्यहरुले उत्पादन गरेको तरकारी तथा फलफूल बजार ल्याएर आफै बेच्न पनि पाउँछन्’, उनले भने, ‘हैन म आफू बेच्दिन बजारलाई बिक्री गर्छु भन्दा पनि पाउछन् ।
’ सहकारीका सदस्यले उत्पादन गरेका तरकारीले बजार पाउने बताउँदै निरौलाले उनीहरुलाई बजार पाउने, उत्पादन खेर नजाने अवस्था भएपछि उत्पादन गर्न आकर्षित हुने बताए । अहिले कोरोनाका कारण पनि बजार सञ्चालनमा समस्या आएको उनको भनाई छ ।
विराट विशिष्टकृत सहकारीका राकेश दाहालले सबै बजार बन्द भएको अवस्थामा कटहरी तरकारी तथा फलफूल बजार सञ्चालन गर्न नसकिने अवस्था रहेको बताए । विराटनगरमा अझै एक दुई ओटा तरकारी बजार आवश्यक रहेको अवस्थामा गुद्री बजार नै त्यहाँ लैजानुपर्ने अवस्था नरहेको बताए ।
नयाँ बजार सञ्चालन गर्न सुरुमा समस्या नै हुने दाहालको भनाई छ । नयाँ व्यापारीहरुलाई त्यहाँ लैजान समय लाग्ने भएकाले बजार व्यवस्थित गर्न केही समय लाग्ने उनको तर्क छ ।
एउटा बजारलाई त्यहाँ सार्नुभन्दा अर्को बजार पनि विराटनगरको पूर्वी क्षेत्रलाई आवश्यक परेकाले नयाँ बजारको रुपमा स्थापित गर्न सहकारी लागि परेको उनले बताए । महामारी पछि व्यवस्थित रुपमा बजार सञ्चालनमा आउने पनि उनले जानकारी दिए ।
तरकारी बजारमा उपभोक्ता र बिक्रेताले अत्याधुनिक सेवा सुविधा पनि पाउने व्यवस्था गरिएको छ । तरकारी बजारमा बैंकिङ सेवा, खानेपानी, विद्युतलगायत सबै किसिमका सुविधा उपलब्ध छन् ।
तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका लागि छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १ हजार ४८८ स्क्वायर मिटरको १७ वटा होलसेल पसल छन्।
यस्तै ३५१ स्क्वायर मिटरमा रिटेल बजार निर्माण गरिएको छ । अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् ।
बिचौलियाको मारमा परेका किसानको समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको हो।
किसानका लागि १३८ स्क्वायर मिटरमा खुद्रा पसल राख्ने व्यवस्था मिलाइएको छ । बजारलाई सफा र सुन्दर राख्न फोहोर व्यवस्थापनको पक्षलाई पनि विचार पुर्याइएको छ ।
तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ । बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युवेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था पनि गरिएको छ ।
बजार निगरानीका लागि सिसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डरग्राउन्ड फायर फायरिङको व्यवस्था पनि गरिएको छ । बजारबाट दैनिक ४४ हजार ९६६ मेट्रिकटन तरकारी र ८ हजार ७०३ मेट्रिकटन फलफूल खरिदबिक्री गर्न सकिने छ ।