काठमाडौं । एप्पल इंकले आफ्नो ओपरेटिङ सिस्टमको नयाँ संस्करण आइओएस १५ बेटा फोर सार्वजनिक गरेको छ । कम्पनीले आईओएस १५ को पूर्ण संस्करण आगामी सेप्टेम्बरको मध्यतिर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अपडेटमा एप्पलले केही बहुअपेक्षित नयाँ फिचरहरु थप गरेको छ । जस्तै लाइभ टेक्स्ट, एन्ड्रोइड तथा विण्डोज प्रयोगकर्ताहरुसँग ब्राउजरमार्फत फेस टाइम कल, अत्याधुनिक प्राइभेसी अप्सन, म्याक तथा आईप्याडमा काम गर्दा डुअल स्क्रिन कन्ट्रोल ।
यी फिचरहरु थाहा पाएपछि निश्चय पनि अधिकांश प्रयोगकर्ताहरु आफ्नो आईफोनमा नयाँ बेटा संस्करण अपडेट गर्न हतारिएका होलान् । विज्ञहरु भने तत्कालै यसलाई आफ्नो फोनमा अपडेट नगर्न सुझाव दिन्छन् ।
गत जुन ७ मा आईओएस १५ संस्करणलाई पहिलोपटक सार्वजनिक गरेयता औसतमा प्रत्येक दुई हप्तामा बेटालाई अपडेट गरेको छ ।यसअघि एप्पलले आईओएस १४ को बेटालाई तीनपटकसम्म अपडेट गरिसकेको छ । यसैले सेप्टेम्बरमा पूर्ण संस्करण सार्वजनिक नगरेसम्म अझै धेरै अपडेट कम्पनीले गर्ने देखिन्छ ।
अधिकांश बेटा अवस्थाका सफ्टवेयरहरु बगसहित रहने, एप क्रयास हुने तथा ब्याट्री आयू नै धाराशायी बनाउने हुँदा बेटाको चरणमा एप प्रयोग नगर्न विज्ञहरु सुझाव दिन्छन् ।
एप्पलले अझै पनि मोबाइल सफारीको रिडिजाइन, आईफोन र आईप्याडको डिफल्ट वेब ब्राउजरमा काम गरिरहेको हुँदा यो बेला बेटा संस्करणलाई तत्काल इन्स्टल नगर्नु भनेको छ ।
आईओएस १५ का केही बगहरु समस्याग्रस्त
बेटा संस्करण भन्ने बित्तिकै अपूर्ण संस्करण बुझिन्छ । अर्थात् यस्ता बेटाहरु सधै समस्याग्रस्त भई परिस्कृतको चरणमै हुन्छन् । यसअघि आईओएस १४.७ को दोस्रो बेटा संस्करणमा आईफोनले फोनभित्रको सिम कार्ड नै पहिचान गर्न नसक्ने समस्या देखिएको थियो ।
त्यसैगरी यसअघि आईओएस १५ र आईप्याडओएस १५ का अघिल्ला बेटा संस्करणमा पनि यस्तै समस्या देखा परेका थिए । फोन पूर्णरुपमा अवरुद्ध नभए पनि यी एकदमै झन्झटिला हुन्छन् ।
यसबाहेक एप्पलले जब आफ्नो अपरेटिङ सिस्टममा परिवर्तन गरिदिन्छ तब यसले भित्री एपीआईलाई पनि परिवर्तन गरिदिन्छ जसले गर्दा केही पुराना एपहरु एकैपटक बन्द समेत हुनसक्छन् ।
माथिका दुबै एप बन्द हुने र बग देखिने समस्याबाट तपाईं सौभाग्यवश बचेँ पनि बेटाको चरणमा फोनको ब्याट्री आयूलाई जोगाउन तपाईलाई हम्मेहम्मे पर्नेछ ।