काठमाडौं । काठमाडौं उपत्यकाका घरका छतमा तरकारी फलेको प्रशस्तै देखिन थालेको छ । हुनतः छतमा तरकारी खेती गर्ने प्रचलन अहिले मात्र सुरु भएको भने होइन । जब कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेर बन्दाबन्दी (लकडाउन) सुरु भयो त्यसपछि भने अभियान जस्तै भएको छ ।
तरकारी खेतीलाई सहज र सरल बनाउन भन्दै यति बेला काठमाडौंका घरका छतछतमा टनेलसमेत राख्न थालिएको छ । सामान्यतयाः बारीमा टनेलमार्फत खेती गरिन्छ ।
जग्गा जमिन नभएकाहरूलाई घरको छतमा टनेल खेती गराउन उत्प्रेरणा जगाउने उद्देश्यका साथ विगत केही समयदेखि ‘कृषि काका’को उपनामले परिचित रामजी ढकाल टनेल बनाउँदै हिँडेका छन् ।
तरकारी किनेर खानुपर्ने बाध्यता सहरी क्षेत्रमा छ । सो बाध्यता हटाउनका लागि उनीहरूले करिब दुई वर्ष पहिला ‘मिनी टनेल’ (घरको छतमा टनेल राख्ने)को अवाधरण ल्याएका हुन् ।
तरकारी खेती गर्ने रहर भएका तर ठाउँ नभएर समस्यामा परेकाहरूलाई लक्षित गरी उनले प्लास्टिक टनेल बनाउँदै आएका हुन् ।जसको कारण कंक्रिट भवनले भरिएको काठमाडौं सहरको घरका छतमा हरियाली देखिन थालेको छ । त्यति मात्र होइन घर छेउछाउमा रहेका खाली जग्गाहरू समेत तरकारीलगायत अन्य बालीहरू लगाउन थालिएको छ ।
आफ्नो परिवारलाई पुग्ने तरकारी छतमै फल्ने भएपछि धेरैले त्यसलाई व्यावसायिकतामा समेत ढाल्न थालेका छन् । ढकाल सुवास पण्डित, राजन थापा र बिर्ख पुनसहितको समूह अहिले उपत्यकाका घरको छतमा टनेल बनाउँदै तरकारी खेतीसम्बन्धी परामर्शसमेत दिँदै आएका छन् ।
उनीहरू चारै जना केही समयअघि एकै संस्थामा काम गर्दै आएका थिए । संस्थाको जागिरको अवधि सकिएपछि उनीहरूले सामूहिक रूपमा केही नयाँ गर्नुपर्छ भन्ने सोचका साथ घरको छतमा टनेल खेतीको अवधारणा बढाएका थिए ।
रामजी भन्छन्, ‘हामी आफैं इन्जिनियर, कृषि प्राविधिक तथा आर्थिक क्षेत्रमा समेत काम गर्ने थियौं, त्यसैले टनेलको डिजाइन तथा अन्य काममा समस्या भएन ।’ उक्त मिनी टनेलको डिजाइनलाई सरकारको ज्ञान केन्द्रले समेत पास गरेको छ ।
ढकालले ‘कृषि वन एग्रो फरेष्टि’ पढेका हुन् भने, राजन थापा ‘सिभिल इन्जिनियर’ हुन् । कृषिको क्षेत्रमा काम गर्दै आएका रामजीलाई ‘कृषि काका’ को उपनामले चिन्नेको संख्या धेरै छ । उनी पनि आफूलाई कृषि काकाका रूपमा परिचय दिन मन पराउँछन् ।
उनले मौरी पालन, घाँस खेती, कौसी खेती, बाख्रा पालन, व्यावसायिक तरकारी खेतीलगायत काम गर्ने र उक्त विषयमा तालिम तथा परामर्श दिने गर्छन् । उनीहरूले ‘अभियान एग्रो’ नामक कम्पनी दर्ता गराएर मिनी टलेनलाई व्यावसायिक रूपमा सञ्चालन गर्दै आएका छन् ।
मिनी टनेलको मुख्य उद्देश्य भान्सामा विषादीको प्रयोग भएका तरकारीको प्रयोग घटाउनु, सहरी क्षेत्रको फोहोर व्यवस्थानमा सहयोग पुर्याउनु र बजार जाने समय र पैसाको पनि बचत गर्नु रहेको कृषि काका बताउँछन् ।
कसरी बन्छ मिनी टनेल र प्राविधिक परामर्श कस्तो छ ?
टनेल बनाउनका लागि पोखरी बनाउन प्रयोग गरिने प्लास्टिक र रडको आवश्यकता पर्छ । उक्त प्लास्टिक ५ वर्षसम्म टिकाउ हुने रामजी बताउँछन् ।
त्यस्तै टनेलमा ६० प्रतिशत को–कोपिट, २० प्रतिशत मल तथा २० प्रतिशत माटो मिलाएर १ फिटसम्मको उचाइमा तरकारी रोप्न सकिन्छ । यद्यपि टनेल जडान अर्थात् बनाउने काम कम्पनीले नै गर्ने भएकाले चिन्ता मान्नु पर्दैन ।
साथै टनेल बनाएपछि एक पटकका लागि तरकारीका बिरुवा÷नर्सरी अभियान एग्रोले नै रोपिदिन्छ । कस्ता–कस्ता तरकारी रोप्दा उपयुक्त हुन्छ ? गोडमेल तथा मलको प्रयोग कसरी र कति समयमा गर्ने ?
विषयमा पनि सल्लाह दिने अभियान एग्रोले जनाएको छ । त्यस्तै पहिलो पटक तरकारी रोपेर केही समस्या भएमा अभियान एग्रोले नै निःशुल्क परामर्श दिने सञ्चालक मध्येका रामजी बताउँछन् । त्यसपछि भने आवश्यकताअनुसार, पैसा लिने गरेका छन् ।
टनेलको विशेषता
टनेलको मुख्य विशेषता बेमौसमी तरकारीका लागि उपयुक्त हुन्छ । जस्तो वर्षातको समयमा बढी पानी पर्नि भएकाले साग उत्पादन गर्न समस्या हुन्छ । सो समयमा बाहिर साग रोपेर राम्रो हुँदैन । तर, मिनी टनेलमा साग रोप्दा आकाशको पानीबाट छानोले बचाउँछ र सागको उत्पादन हिउँद यामको जस्तै राम्रो हुन्छ ।
सागमात्रै होइन अन्य तरकारी पनि उक्त टनेलमा रोप्न सकिन्छ । टमाटर, गाँजर, चुकन्दर, खुर्सानिलगायत एक वर्षे बिरुवाहरूका लागि टनेल बढी उपयोगी हुन्छ ।
गमला तथा अन्य घरायसी भाडा र मिनी टनेलमा के फरक छ ?
विशेषगरी सहरी क्षेत्रका छतमा प्रायः तरकारी रोप्दा गमला, माछाका फम, बाल्टी, क्रेटलगायतका सामान प्रयोग गर्ने गरिन्छ । तर, त्यसले घरको छत बिगार्ने तथा अन्य समस्या पनि हुने उनको भनाइ छ । उनी भन्छन्, ‘घरायसी सामानको प्रयोग गर्दा पानी चुहिने, माटो मिसिएको पानीले घरको ढलान बिगार्छ ।
तरकारी वा फलफूल रोप्दा भाडामा प्वाल पार्नुपर्ने हुन्छ । जसको कारण बिरुवालाई बढी भएको पानी सो प्वालबाट फाल्न सक्छ । त्यसका लागि पनि मिनी टनेलको बनाउन उपयुक्त हुन्छ ।
टनेलको भित्री भागमा फर्मको प्रयोग गर्ने र पाइप लाउने भएकाले बिरुवालाई बढी भएको पानी निष्कासन हुन्छ । जसको कारण तरकारी खेती राम्रो तथा पानीको उचित व्यवस्थापन गर्न सकिने भएकाले घरको छत बिग्रिन पाउँदैन । त्यस्तै बोकेर हिँड्नु नपर्ने र वरिपरिबाट गोडमेल गर्न मिल्ने हुँदा खेती गर्न पनि सहज हुने अभियान एग्रोले जनाएको छ ।
कति लाग्छ खर्च
५ फिट चौडाइ र ६ फिट लम्बाइ भएको टनेललाई २० हजार रुपैयाँ तथा ४ फिट चौडाइ १० फिट लम्बाइ भएको टनेल जडान गर्नका लागि २५ हजार रुपैयाँ लाग्छ ।
अभियान एग्रो सञ्चालनमा आएको २ वर्षको अवधिमा करिब ७० वटा टनेल कृषकको कौसीमा जडान गर्न सफल भएको कृषि काका अर्थात् रामजी बताउँछन् । उनका अनुभवअनुसार, ५ जनाको परिवारका लागि एउटा मिनी टनेल र ८÷९ वटा ग्रो ब्याग्समा तरकारी रोपेमा बजारमा किन्न जानुपर्दैन ।
त्यस्तै भर्टिकल सिस्टम (थाक्रे खेती) मा पनि तरकारी रोप्न सकिने कृषि काका बताउँछन् । अभियान एग्रोले मिनी टनेलसँगै ग्रो ब्याग्सको प्रयोग पनि गर्दै आएको छ । मिनी टनेलको अवधारण ल्याएको छोटो समयमा नै सहरी क्षेत्रका धेरैजसो मान्छेले सकारात्मक प्रतिक्रिया दिएको कृषि काकाको भनाइ छ ।