काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताएका छन् । ललितपुरमा आयोजित राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवमा बोल्दै मन्त्री शर्माले चेक क्लियरिङको समस्या अन्त्य हुने बताएका हुन् ।
मन्त्रीले चेक नचल्ने नियम खारेज गर्ने, सामाजिक सुरक्षाभत्ता पनि सहकारी बैंक तथा गाउँ–गाउँमा रहेका लघुवित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको बताए । साथै सहकारी बैंकहरुले नाफाको लागि प्रतिस्पर्धा नगरी उत्पादन र रोजगारी सिर्जनामा प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् ।
त्यस्तै उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकसँगै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने उनको भनाइ छ । ‘उत्पादनमुखी अर्थतन्त्रमा टेवा पुर्याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्छ ।’
उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सिर्जना गर्ने भन्दै उनले सहकारी संस्थाहरूले नाफाको प्रतिस्पर्धा नगरी रोजगारी सिर्जना, गरिबी अन्त्य गर्ने तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्न सुझाव दिएका हुन् ।
मन्त्री शर्माले ऋण प्रवाहमा रहेको असमानतासमेत हटाउन पहल गरिने बताएका छन् । गाडी किन्ने कर्जामा थोरै ब्याज लाग्ने तर, गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने प्राणली सच्याउनुपर्ने उनको भनाइछ । साथै कर्जा प्रवाहमा ब्याजदर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघु वित्त संस्थाहरुलाई आग्रहसमेत गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव बडाल, पत्रकार शर्मिला ठकुरी, राष्ट्रिय सहकारी बैंकका उत्कृष्ट कर्मचारीलगायत सम्मानित भएका छन् ।
मंगलबारबाट सुरु भएको ‘सहकारीमा लघु वित्त सम्मेलन–२०७८’ बुधबारसम्म चल्नेछ । कोरोनाका कारण सम्मेलनमा भौतिक उपस्थिति कम गराइएको छ भने, भर्चुअल माध्यमबाट ६ सयभन्दा बढीको सहभागिता रहेको आयोजक राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बताए ।