म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, मिस्ट्री, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् ।
निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङमा चहलपहल र आर्थिक गतिविधि बढाएको छ । वडाध्यक्ष चन्द्रप्रकाश फगामी भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाहरुबाट महत्वपूर्ण योगदान भएको बताउछन् ।
“कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन्, घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ”, उनले भने, “जलविद्युत् आयोजना भित्रिएसँगै गाउँका कच्ची घर पक्कीमा रूपान्तरण भइरहेका छन् ।”
जग्गाको भाउ आकासिएको छ । ४५० घरधुरीमा १ हजार ६०० जनसङ्ख्याको बसोबास भएको नारच्याङका जलविद्युत् आयोजनाहरुमा काम गर्न त्योभन्दा बढी सङ्ख्यामा मानिस बाहिरबाट आएका छन् ।
वडाध्यक्ष फगामीका अनुसार प्रतिरोपनी ३० देखि ३५ लाख रुपैयाँमा जग्गा खरिदबिक्री हुन थालेको छ । अवसर र रोजगार खोज्दै शहर बजार, पसेका र विदेसिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइँसराइ रोकिएको छ । गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन तथा स्वास्थ्य संस्थाको भवन बनेका छन् ।
जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेली ब्रिज, भवनलगायत पूर्वाधारले स्थानीयवासीलाई सुविधा पुगेको छ । जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटेल, रेष्टुरेन्ट, ठेक्का–पट्टा, ढुवानी, यातायात व्यवसाय, सेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताए ।
“प्रत्यक्ष र अप्रत्यक्षरूपमा गाउँमै धेरै सम्भावना र अवसर सिर्जना भएको छ”, उनले भने, “आयोजनाहरुले सामाजिक उत्तरदायित्वका कार्यक्रमबाट शिक्षा, स्वास्थ्य, सीप विकास र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ ।”
निर्माणका क्रममा हुने वातावरणीय क्षतिको असर न्यूनीकरणका लागि जलविद्युत् आयोजनाहरुले कूल लागतको ०.७५ प्रतिशत सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विनियोजन र खर्च गर्नुपर्ने हुन्छ । जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी (सलामी दस्तुर) मध्ये सङ्घीयलाई ५०, प्रदेश र पालिकालाई २५/२५ प्रतिशतका दरले बाँडफाँड हुने संवैधानिक व्यवस्था छ ।
सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत नारच्याङका सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता, वृक्षरोपण, सीपमूलक तालीम, जैविक विविधताको खोज अनुसन्धान र संरक्षण, पर्यटन प्रवद्र्धनलाई सहयोग पुग्ने कार्यक्रम गरिएका छन् ।
हालै निर्माण सकिएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको वातावरणीय एकाइका प्रमुख रामकुमार खड्काका अनुसार प्रभा माविका तीनजना निजी स्रोतका शिक्षकका लागि सात वर्ष तलबभत्ता उपलब्ध गराइएको थियो ।
प्रभा माविले दुई वर्षदेखि हाइड्रो इन्जिनीयरिङ विषयको पठनपाठन सञ्चालन गरेको छ । क्रान्ति, नीलगिरि, धवलागिरि र नारच्याङ आधारभूत विद्यालयका प्रावि तहका एक÷एकजना शिक्षकलाई सात वर्ष सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत म्रिस्तीखोलाले तलबभत्ता व्यवस्था गरेको थियो ।
नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न ५ लाख, शिवालय मन्दिर निर्माणमा ५ लाख रुपैयाँ सहयोग गरेको म्रिस्तीखोलाले स्थानीयवासीलाई घरबास, च्याउ खेती, सवारी चालक, इलेक्ट्रिसियनसम्बन्धी तालीम प्रदान गरेको थियो । निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनाले प्रभा मावि परिसरमा १५ लाख रुपैयाँ खर्चेर चमेनागृहको भवन निर्माण गरेको छ ।
मिस्ट्रीखोला जलविद्युत् आयोजनाले २०७१ सालमा कालीगण्डकी नदीमाथि बेली ब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बेसी र पटारको सिमानास्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप दुईवटा बेली ब्रिज बनाएको म्रिस्तीखोलाले १४ किलोमिटर सडक निर्माण गरेको छ ।
रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेँसीदेखि लेकगाउँ गत वर्ष सडक सञ्जालमा जोडिएको थियो । स्थानीयवासी, तत्कालीन जिविस र गाउँपालिकाले रु एक करोडभन्दा बढी खर्च गरे पनि बेँसीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो ।
जलविद्युत् आयोजनाले विस्फोटक पदार्थ र उपकरण प्रयोग गरेर अक्करे पहाड छिचोलेर गाउँमा सडक पुगेको लेकगाउँका श्याम पुर्जाले बताउनुभयो । “पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न सकेका थिएनौं”, उनले भने, “आयोजनाले सडक बनाएपछि स्थानीयवासीलाई पनि आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ ।”
मिस्ट्रीखोलाले सेनाको शिविर राख्न बेँसीगाउँमा बनाएको भवनमा अन्नपूर्ण गाउँपालिकाले गत पुस महिनादेखि २५ शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गरेको छ । नारच्याङवासीको आर्थिक हैसियतमा पनि जलविद्युत् आयोजनाहरुले परिवर्तन ल्याएका छन् ।
उच्च र मध्यम वर्गकाले व्यापारसँगै आयोजनाहरुमा ठेक्कापट्टा, गाडी, ट्र्याक्टर, एक्साभेटर, ब्याकुहोलोडर भाडामा लगाएका छन् । न्यून वर्गकाले दैनिक ज्याला मजदुरी गरेर गाउँमै रोजगारी र आम्दानीको अवसर पाएका छन् ।
गत वर्ष मिस्ट्रीखोला जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाले १७ लाख ३ हजार ५१२ कित्ता सेयर लगानी गरेका थिए । धितोपत्र बोर्डमा गत हप्ता म्रिस्तीको प्रतिकित्ता सेयर ९७० का दरले कारोबार भएको थियो । सेयरको भाउ करिब १० गुणाले बढेपछि लगानी गरेका नारच्याङवासी उत्साहित छन् । संस्थापक सेयर लगानी गरेका उनीहरुले दुई वर्षपछि किनबेच गर्न पाउँछन् ।
एकै वडामा १० आयोजना
विसं २०४५ मा नेपाल विद्युत् प्राधिकरणले २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण गरेको नारच्याङमा २०७६ सालमा म्याग्देलीहरुको अगुवाइमा ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो ।
विसं २०७३ जेठदेखि माउन्टेन इनर्जी नेपालले निर्माण शुरु गरेको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले गत असारदेखि व्यावसायिक उत्पादन शुरु गरेको छ ।
नीलगिरिखोला हाइड्रोपावर लिमिटेडले एकै साथ ३८ मेगावाट क्षमताको नीलगिरि–१ र ७१ मेगावाट क्षमताको नीलगिरि–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको दुईवटै आयोजना सन् २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको इन्जिनीयर केशव वाग्लेले बताए ।
ह्युम कन्सल्ट प्रालि प्रवद्र्धक रहेको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले नारच्याङको बेँसी गाउँको सिरानमा रहेको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको आउटलेटदेखि बाँधसम्म १४ किलोमिटर दूरीको पहुँचमार्ग निर्माण गरेको छ ।
कम्पनीका प्रतिनिधि होमनाथ पाण्डेले बाँध, पाइपलाइन र विद्युत्गृह निर्माण शुरु गर्ने तयारी भएको बताइ । सुपर घलेम्दी हाइड्रोपावर प्रालिले बनाउने ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाको दुई वर्षअघि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता भएको थियो ।
कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । कालीगण्डकी गर्ज लगानीकर्ताको खोजीमा छ ।
माउन्टेन इनर्जी नेपालले मिस्ट्रीखोलाको विद्युत्गृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय अध्ययन थालेको छ । हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको ५३.५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताव गरिएको छ ।
तयार छ प्रसारण लाइन
कालीगण्डकी र आसपासका नदीहरुमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा २०७७ माघमा २२० केभी क्षमताको सबस्टेशन बनाएको थियो । दानादेखि पर्वतको खुर्कोटसम्म ११० वटा टावर बनाएर ३९।६ किलोमिटर डबल सर्किटको तार तानिएको छ ।
सबस्टेशन र प्रसारण लाइन बनाएपछि भने कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष घलेम्दीखोलाका सञ्चालक प्रमोद श्रेष्ठले बताए । रासस