काठमाडौं । राजधानीमा कोठा पाउनु कत्तिको गाह्रो छ, यो धेरैले थाहा पाएकै कुरा हो । पाइहाले पनि भनेजस्तो भेटिँदैन । तर, नआत्तिनुस्, यस्तै समस्या समाधानका लागि सुरु भएको छ, रेन्टल नेपाल डटकम । यसले तपाईंलाई सघाउँछ, काठमाडौंमा कोठा खोज्न । त्यति मात्र होइन, घरजग्गा किनबेचका लागि पनि यसले तपाईंको काम गरिदिनेछ ।
अफिसका लागि फ्ल्याट वा घर पाउन पनि उत्तिकै गाह्रो छ । घरजग्गा किनबेच र फ्ल्याट, बङ्गला भाडामा मिलाइदिने काम यो डिजिटल प्लेटफर्मबाट हुनेछ ।
निवास, व्यापारिक घर, फ्ल्याट, अफिसको ठाउँ, सटर, जग्गा भाडा, कोठालगायतका छुट्टाछुट्टै शीर्षकअन्तर्गत राखेर भाडाको सेवा प्रदान गर्दै आएको छ ।
घरको फ्ल्याट, बङ्गला, अफिसको ठाउँ, सटर एवम् जग्गा भाडामा लिनेदिने जस्ता सबै काम एकै ठाउँमा समेटियोस् र सेवा दिने र सेवा लिने सेवाग्राहीबीच वैज्ञानिक एवम् व्यावहारिक सम्पर्क सूत्र स्थापित होस् भनेर सेवा थालिएको रेन्टल डटकमका सञ्चालक ईश्वरप्रसाद खरेलले बताए ।
भाडा सेवालाई विशुद्ध रुपमा काम गर्ने मात्र होइन कि भाडामा लिनेदिने पेसालाई सम्मानित, व्यवस्थित एवम् मर्यादित बनाउनेछ । भाडामा कोठा, फ्ल्याट लिनेदिनेबीच छिटो, सजिलो र झन्झटरहित सेवा प्रदान गर्ने उनको भनाइ छ ।
यसले रेन्टल सर्भिस सेवा सञ्चालन गर्दै आएका व्यक्ति वा व्यवसायीसँग पनि सहकार्य गर्दै आएको छ । आफूले उपलब्ध गराउने सेवाको न्यूनतम सर्भिस शुल्क लिएर काम गरिरहेको खरेलको भनाइ छ ।
सेल्स नेपाल डटकम
उपत्यकामा घरजग्गा खरिद गर्न वा बिक्री गर्न सेल्स नेपाल डटकमले पनि सहजीकरण गर्दै आएको छ । सर्वसाधारणले आफूलाई आवश्यक पर्ने जग्गा, घर छानीछानी लिन सजिलो होस् भन्ने उद्देश्य सेल्स नेपालको छ । उपत्यकामा अहिले घरजग्गा किन्दा कोही पनि ग्राहक नठगिऊन् भन्ने सोच रहेको उनले बताए ।
काठमाडौंलगायत देशभर घरजग्गासम्बन्धी देखिएका विवाद समाधानका लागि सरकारले तत्काल घरजग्गा आयोग बनाउनुपर्ने घरजग्गा एजेन्ट सङ्घ नेपाल ९रिआन०का अध्यक्ष ईश्वरप्रसाद खरेलको माग छ । सरकारले आयोग बनाएर समस्या समधान नगरे अवस्था विकराल बन्दै जाने उनको भनाइ छ ।
आफूहरुले पहिलेदेखि नै यस विषयमा आवाज उठाउँदै आएको र सरकारी बेवास्ताका कारण घरजग्गा कारोबारमा समस्या देखिँदै आएको उनी बताउँछन् । भूकम्पपछि काठमाडौंको जग्गाको मूल्य आकासिएको छ । अहिलेको अवस्थामा मध्यमवर्गले काठमाडौंमा घरघडेरी जोड्न सक्ने अवस्था देखिँदैन ।
पछिल्लो समय मध्यमवर्गको रोजाइमा अपार्टमेन्ट र हाउजिङ पर्दै गएका छन् । सुरुसुरुमा विदेशबाट आउने व्यापारी र उद्योगीहरु अपार्टमेन्टमा बस्ने गरेको रिआनका अध्यक्ष खरेलको भनाइ छ । अहिले मध्यमवर्गले पनि यसप्रति चासो देखाउन थालेको उनी बताउँछन् । अपार्टमेन्ट र हाउजिङहरु पनि पहिलाका भन्दा केही सस्तो भएको उनको अनुभव छ ।
घरका लागि आवश्यक बिजुली, पानी र सुक्षागार्डसमेत एकै ठाउँमा उपलब्ध हुने भएकाले हाउजिङ पछिल्लो पुस्ताको रोजाइमा पर्दै गएको छ । जग्गाजमिन जोडेर घर बनाउने झन्झटबाट मुक्त हुन अपार्टमेन्ट र हाउजिङ किन्नेतर्फ सर्वसाधारण आकर्षित भएको उनको भनाइ छ ।
‘हामी सरकारलाई कर तिर्न तयार छौं । तर हामीलाई अनुगमन र नियमन गर्ने निकाय बनाइदिनु पर्यो ,’ खरेलले भने, ‘अहिले नेपालमा घरजग्गा किनबेच गर्नेहरुलाई लिने ट्याक्समा विभेद छ ।’
व्यावसायिक कामका लागि घरजग्गा किन्नेहरुले पनि उही ट्याक्स तिर्नुपर्ने र बसोवासका लागि किन्नेहरुले पनि समान ट्याक्स तिर्नुपर्र्ने हुँदा थप समस्या उत्पन्न भएको उनको भनाइ छ । घरजग्गा कारोबारीहरुलाई पनि प्रमाणपत्र दिएर लेभल निर्धारण गर्नुपर्ने उनले बताए ।