काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको देशकै ठूलो सोलार प्लान्ट आउँदो चैतसम्म सम्पन्न हुने भएको छ । सोलार प्लाण्टबाट हालसम्म ११ मेगावाट बिजुली उत्पादन भई त्रिशूलीस्थित देवीधाट जलविद्युत केन्द्रको सबस्टेसनमा जोडिइसकेको छ ।
बाँकी १३ मेगावाट बिजुली आउँदो चैतसम्म उत्पादन गर्ने आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए । थप ४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण जोड्ने तयारी भइरहेको उनले सुनाए । त्रिशूली जलविद्युत केन्द्रका विभिन्न स्थानमा सोलार प्लाण्ट जडान गरेर बिजुली उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । चरणवद्ध रूपमा काम भइरहेको छ ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत सोलारमा लगानी भएको हो । सोलार आयोजनालाई ३ करोड ८० लाख डलर अर्थात ४ अर्ब रुपैयाँ ऋण सहयोग दिएको छ ।
आयोजनाको काम सुरु गर्न २०१७ मा चीनको राइजन इनर्जी लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । राइजन सोलार प्यानल उत्पादक कम्पनी हो । आयोजनाबाट वार्षिक ३ करोड ३० लाख युनिट बिजुली उत्पादन हुनेछ ।
देवीघाट विद्युत केन्द्रका नाममा रहेको जग्गामा सोलार प्यानल राखेर उत्पादित बिजुली सोझै राष्ट्रिय प्रणाली ग्रीडमा जोडिनेछ ।
देवीघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत जडानका लागि ६६ ३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेका छन् ।
ठेक्का पाएको चिनियाँ कम्पनीले आउँदो ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गर्नेछ । उक्त सौर्य प्लान्ट ५०० रोपनी क्षेत्रफलमा फैलिएको छ । प्लाण्टबाट घाम लागेका बेलामा बिजुली उत्पादन हुन्छ । बिहान ६ देखि साँझ ६ बजेसम्म सोलार प्रविधिबाट बिजुली उत्पादन हुनेछ ।
यस्तै निजी क्षेत्रबाट पनि धमाधम सौर्य प्रविधिबाट बिजुली उत्पादन सुरु भएको छ । यस्तै पछिल्लो समयमा निजी क्षेत्रले पनि सोलारमा लगानी बढाइरहेको छ । सरकारले ऊर्जा मिश्रणको योजना ल्याएपछि यसमा निजी क्षेत्र आकर्षित भएको हो ।
अपी पावर कम्पनी लिमिटेडलगायतले सौर्य प्रणालीबाट बिजुली उत्पादन गर्न लागेको छ । विद्युत विकास विभागले सौर्य प्रणालीबाट बिजुली उत्पादन गर्न अनुमतिपत्र (लाइसेन्स) दिँंदै आएको छ । बुटबल सोलार आयोजनाबाट ८.५ र मिथिल्ला सोलारबाट १० गरी गत आर्थिक वर्षमा १८.५ मेगावाट बिजुली सोलारबाट उत्पादन भइसकेको छ ।
देशका विभिन्न क्षेत्रमा अहिले सोलारबाट बिजुली उत्पादन सुरु भएको छ । सोलारबाट बिजुली उत्पादन गर्न निजी क्षेत्र लागेको छ । विद्युत प्राधिकरणले पनि सोलारको बिजुली खरिद गर्दै आएको छ ।
यस्तै लगानी बोर्डले पनि सौर्य प्रविधिबाट ऊर्जा उत्पादन गर्न एक सिङ्गापुरको कम्पनीलाई संभाव्यता अध्ययन गर्न अनुमति दिएको छ । बोर्डले राइजन इनर्जी सिङ्गापुर जेभी प्राइभेट लिमिटेडलाई सर्वेक्षण अनुमति दिइसकेको छ ।
राइजनले बाँकेको कोहलपुर नगरपालिका र कपिलवस्तुको वाणगंगा २० मेगावाटको स्टोरेज क्षमतासहितको छुट्टाछुट्टै सौर्य परियोजना सार्वजनिक निजी साझेदारमा अध्ययन तथा विकास गर्न अनुमति दिएको छ ।