काठमाडौं । बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्रिएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले उक्त स्कुटर नेपाली बजारमा ल्याएको हो ।
निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर हो । सो स्कुटर भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्ने कम्पनीले जनाएको छ । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गकाबीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको कम्पनीले दाबी गरेको छ ।
एक्सेस स्कुटरमा आगाडी ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट भएकाले आरमदायी यात्रा हुने बताइएको छ । साथै अगाडिको भागमा स्टिलको कभरसमेत रहेको छ । जसले गर्दा दैनिक प्रयोजनका लागि निकै उपयोगी र मर्मत खर्च पनि अरुभन्दा कम पर्छ ।
हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान गरिएको छ भने, एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आकलन कम्पनीले गरेको छ ।
२ भल्वयुक्त इन्जिन प्रयोग भएको सो स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुविधाले स्कुटरको सजावटमा समेत आकर्षण थपेको छ । सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको तथा र किक स्टार्ट दुवै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज छ ।
त्यस्तै मोबाइल चार्जिङ प्वाइन्टसमेत जडान गरिएको छ । दुवै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको तौल १०३ किलोग्राम रहेको छ ।
सेतो, नीलो, खैरो र कालो गरी चार रङमा उपलब्ध सुजुकी एक्सेस स्कुटरमा बढी रुकचाइएको रङ भने नीलो मानिएको छ ।