विराटनगर । प्रदेश सरकारको लगानीमा सुविधासम्पन्न पाँचतारे होटलसहित कोसी रिफ्रेसमेन्ट सेन्टरको निर्माण सुरु भएको छ । प्रदेश १ सरकारको गौरवको आयोजनाका रूपमा रहेको रिफ्रेस्मेन्ट सेन्टर सुनसरीको इनरुवामा बन्न लागेको हो । आयोजना बनाउन २ अर्ब रुपैयाँ खर्च हुनेछ ।
रिफ्रेसमेन्ट सेन्टरभित्र पाँचतारे होटल, पेट्रोल पम्प, ग्यारेज, स्वीमिङ पुल, बगैंचा, पार्किङ स्थल, अवलोकनका लागि भ्यू–टावरसमेतको पूर्वाधार बन्नेछ । यसैगरी यात्रु प्रतीक्षालय, विश्राम स्थल, खानेपानीको उचित प्रबन्धसहित प्रवेशद्वार हुनेछ । नेपाल प्रहरी र ट्राफिकको उपस्थिति २४ सैं घण्टा रहनेछ ।
कार्यालय भवन जस्ता संरचनासहित कोसी टप्पु वन्यजन्तु आरक्षलाई मध्यनजर गर्दै पर्यटन प्रवद्र्धन हुने खालका अन्य संरचनासमेत निर्माण हुनेछन् ।
पहिलो चरणमा ४७ करोड रुपैयाँ खर्च गरिने भएको छ । त्यसपछि बाँकी काम क्रमशः सुरु गरिने सेन्टरले जनाएको छ । कविन्द्र नव सिर्जनशील जेभी सिनामंगल काठमाडौंले उक्त परियोजना अन्तर्गतका संरचना निर्माणका लागि ठेक्का पाएको छ । पहिलो चरणको कामका लागि ३० करोड रुपैयाँमा जेभीले ठेक्का पाएको हो ।
सेन्टरको पहिलो चरणको काम २०७९ पुसमा सकिने आयोजनाले जनाएको छ । त्यही अनुसार अहिले सेन्टरको पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । पर्खाल लगाउने, ग्राभेल गर्ने काम भइरहेको छ ।
प्रदेश १ कै मात्र नभई मुलुककै नमुना दाबी गरिएको उक्त परियोजनाले पूर्वलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ । परियोजना सकिँदासम्म २ अर्ब रुपैयाँ लगानी हुने परियोजना प्रमुख सुरेश शाहले जानकारी दिए । विसं २०६५ भदौ २ गतेको कोसीको बाढीले बालुवामा परिणत गरेको जग्गालाई अधिग्रहण गरी रिफ्रेसमेन्ट सेन्टर निर्माणको प्रक्रिया अघि बढाइएको हो ।
निर्माण हुन लागेको संरचना कोसी गाउँपालिका क्षेत्रमा पर्ने भएकाले उक्त पालिकाले सुरुमा ७ प्रतिशत परियोजनामा लगानी गर्ने भनेको भए पनि पछि गरेन । बजेट धेरै लाग्ने रहेछ भन्दै गाउँपालिकाले हात झिकेको परियोजना प्रमुख शाहले बताए । ‘लगानी गर्नुपर्ने थियो, आफ्नो क्षेत्रको विकासमा स्थानीय सरकारले किन पछि हट्यो थाहा भएन’, उनले भने ।
सप्तकोसी नदीसँगै रहेको कोसी टप्पु वन्यजन्तु आरक्षण र आसपास रहेका पूर्वका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा उक्त परियोजना कोसेढुङ्गा सावित हुने गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले बताए ।
परियोजना सञ्चालनमा ल्याउन लागिएको क्षेत्र भारतीयसहित आन्तरिक तथा बाह्य पर्यटकको सहजै रोजाइमा पर्ने भएकाले समेत सम्भावित पर्यटकीय गन्तव्यका रूपमा हेरिएको छ ।प्रदेशकै महत्वकांक्षी र ठूलो परियोजनाको रूपमा प्राथमिकतामा राखिएको परियोजनालाई प्रदेश १ सरकारले तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिएको छ ।
करिब २२ बिघा जग्गामा विभिन्न भौतिक संरचना निर्माण कार्य गरिने जनाइएको छ । सेन्टरका लागि आवश्यक पर्ने जग्गा आयोजनाले लिइसकेको छ । जग्गाधनीलाई मुआब्जा पनि वितरण गरिसकिएको आयोजना प्रमुख साहले जानकारी दिए । उनका अनुसार मुआब्जामा ६ करोड रुपैयाँ जति खर्च भएको छ ।
आयोजनाले राजमार्गले छोएको जग्गालाई ४ लाख रुपैयाँ कट्ठा, त्यसभन्दा भित्रको २ लाख र त्योभन्दा भित्रको जग्गालाई १ लाख रुपैयाँ कट्ठाका दरले मुआब्जा दिएको छ ।
प्रदेश १ सरकारको गौरवको आयोजना अन्तर्गतको नेपालको पहिलो सुविधासम्पन्न रिफ्रेसमेन्ट सेन्टर भएको जनाइएको छ । प्रदेश १ सरकारले सहरी विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम समावेश गरी बजेट छुट्टयाएको थियो ।
आर्थिक वर्ष ०७६/०७७ को बजेटमा सरकारले रिफ्रेसमेन्ट सेन्टरका लागि भनेर १५ करोड रुपैयाँ बजेट छुट्टयाएको थियो । गत आर्थिक वर्ष ०७७/०७८ को बजेटमा इटहरीमा अन्तर्राष्ट्रियस्तरको सभा भवन, पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कोसी रिफ्रेसमेन्ट सेन्टरको निर्माण र मेची राजमार्ग अन्तर्गतको मेची रिफ्रेसमेन्ट सेन्टरको निर्माण कार्यलाई अघि बढाउने भन्दै १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गत आर्थिक वर्षमा प्रदेश १ सरकारले कोसी रिफ्रेसमेन्ट सेन्टरको निर्माणका लागि १० करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको र चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा संघीय सरकारले लगानी बोर्डमार्फत १ करोड रुपैयाँ विनियोजन गरिएको रिफ्रेसमेन्ट सेन्टर परियोजना प्रमुख साहले जानकारी दिए ।
संघीय सरकारको १ करोड रुपैयाँ बाहेक सबै बजेट प्रदेश १ सरकारको हो । कसैले सहयोग नगरे पनि प्रदेश १ सरकारले परियोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाइसकेको साहले बताए ।
इलाममा पनि बन्ने
प्रदेश १ सरकारले मेची राजमार्गको इलाममा पनि मेची रिफ्रेसमेन्ट सेन्टर निर्माण गर्ने भएको छ । गत आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गर्ने भनेर आवश्यक बजेट छुट्टयाइएको बजेटमा उल्लेख छ ।
चालू आर्थिक वर्षमा निर्माण सुरु गर्ने भनेर कोसी, मेची रिफ्रेसमेन्ट सेन्टरको निर्माणका लागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । मेची रिफ्रेसमेन्ट सेन्टरको निर्माण कार्य भने सुरु भएको छैन । यो पनि केही समयमा सुरु गरिने प्रदेश १ सरकारले जनाएको छ ।