काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई पर्यटन क्षेत्रसँग आबद्ध १४ वटा संस्थाले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजान सुझाव दिएको छ ।
सञ्चालक समितिले गरेको निर्णयलाई पर्यटनसँग आबद्ध संघ-संस्थाहरुले समर्थन नगरेको भन्दै आलोचना भइरहेको बेला शनिबार प्रधानमन्त्री देउवालाई भेटेर कम्पनी मोडलमा लगेर प्रतिस्पर्धी बनाउन सुझाव दिएको हो ।
निगमलाई कम्पनी मोडलमा लैजाने प्रस्ताव अघि सारेसँगै ट्रेड युनियनसँग आबद्ध कर्मचारीहरु आन्दोलनमा उत्रिरहेको बेला पर्यटनसँग आबद्ध १४ वटा संस्थाले सामूहिक रुपमा प्रधानमन्त्री देउवालाई भेटेर त्यसलाई समर्थन गरी प्रक्रिया अगाडि बढाउन सुझाव दिएको होटल एसोसिएसन अफ नेपाल(हान)का प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए ।
निगमले २०७८/७९ को बजेटअनुसार निगममा साभेदारी भित्र्याउन असार १४ मा नयाँ कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदा बनाई पर्यटन मन्त्रालयमा बुझाएको थियो ।
पर्यटन क्षेत्रले लामो समयदेखि निगमलाई प्रतिस्पर्धी बनाउन कम्पनी मोडलमा लैजानुपर्ने माग अघि सारिरहेको बेला निगम सञ्चालक समितिले प्रवन्धपत्र नियमावलीको प्रारम्भीक मस्यौदा बनाएको थियो ।
प्रारिम्भक मस्यौदालाई नै कर्मचारीहरुले विरोध गर्दै करिब १ महिनादेखि आन्दोलन गरिरहेका छन् । संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र महाप्रवन्धकले पटक पटक वार्ताको लागि आह्रवान गरे पनि त्यसलाई बेवास्था गर्दै आएका छन् ।
पर्यटन क्षेत्रमा रहेका विभिन्न समस्याहरुलाई समधानका लागि प्रधानमन्त्री देउवालाई सुझाव दिन गएका ती संघ-संस्थाका प्रतिनिधिहरुले त्यही अवसरमा निगमलाई कम्पनी मोडलमा लैजाने प्रस्तावलाई स्वीकार गरी आवश्यक प्रक्रिया अगाडी बढाउन अनुरोध गरेका थिए ।
व्यवसायीको सुझावलाई प्रधानमन्त्री देउवाले आफू कम्पनी मोडलमा लैजाने विषयमा सकारात्मक रहेको र पर्यटन मन्त्री आएपछि थप विषयमा अध्ययन गरेर अगाडी बढ्ने प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री देउवालाई भेट्न होटल एसोसिएसन अफ नेपालउ(हान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा),ट्रेकिङ ऐजेन्सिज ऐसोसिएसन अफ नेपाल (टान) एयरलाइन अपरेटर्स एसोसिएसन अफ नेपाल(आयोन), नेपाल पर्वतारोहण संघ(एनमए),नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज्, एयरलाइन अपरेटर्स एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टूर अपटेर्स , नेपाल एसोशिएसन अफ टूर अपटेर्स, एयरलाइन अपरेटर्स एसोसिएसन अफ नेपाल , टुरिष्ट बस एसोसिएसन अफ नेपाल , सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल , सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल, नेपाल पर्यटक यातायात व्यवसायी संघ , टुरिष्ट बस एसोसिएसन अफ नेपाल,एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपाल, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल ,र पाटा नेपाल च्याप्टर रहेका थिए ।