काठमाडौं । चार्टर्ड उडानको क्रममा यात्रुहरूबाट चर्को शुल्क लिएको विषयमा गठित छानबिन समितिले ट्राभल एजेन्सी र एयरलाइन्सहरूको बैंक ‘स्टेटमेन्ट’ मगाएको छ ।
कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सरकारले गरेको निषेधाज्ञाको बेला चार्टर्ड उडानको नाममा चर्को शुल्क लिएको उजुरीका आधारमा छानबिनको दायरामा परेका एयरलाइन्स र ट्राभल एजेन्सीको बैंक स्टेटमेन्ट मागेर छानबिनलाई अघि बढाइरहेको नेपाल नागरिक उडड्यन प्राधिकरणका एक सदस्यले क्यापिटल नेपाललाई जानकारी दिए ।
छानबिनमा कुनै प्रभावित नहोस् र दोषी नउम्किउन भन्ने उद्देश्यका साथ आरोपित एयरलाइन्स र ट्राभल एजेन्सीलाई बैंक चार्टर्ड उडान अवधिको बैंक स्टेटमेन्ट मगाइएको स्रोतको भनाइ छ ।
चार्टर्ड उडानमा चर्को शुल्क लिएको भन्दै समितिले कतार एयरवेज, टर्किस एयरलाइन्स, हिमालय एयरलाइन्स, मेगाबाइट ट्राभल, प्रेसिडेन्ट ट्राभललाई छानबिन गरिरहेको छ ।
एयरलाइन्स र ट्राभल एजेन्सीका प्रतिनिधिहरूलाई यस अघिनै समितिले स्पष्टीकरण सोधिसकेको छ । समितिमा २३ वटा उजुरी परेका थिए ।
महामारीलाई कमाउने अवसरको रुपमा लिँदै चार्टर्ड उडानको नाममा चर्को शुल्क लिएको समाचारहरू प्रकाशन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७८ असार ७ गते नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
जेठ २(१६ मे) देखि जुन महिनासम्म ती चारवटा वायु सेवाले कुल ६५ वटा चार्टर्ड उडान गरेका थिए, जसमा कुल २१ हजार १५६ जना यात्रुहरू उडेका थिए ।
मे महिनामा कतार एयरवेजले ५ वटा र टर्किस एयरलाइन्सले ३ वटा उडान गरेका थिए भने जुनमा कतार एयरले १६ वटा, टर्किसले ७ वटा, नेपाल वायु सेवा निगमले २० वटा र हिमालय एयरलाइन्सले १४ वटा चार्टर्ड उडान गरेका थिए ।
सो अवधिमा कतार एयरवेजले कुल ६ हजार ८६२, टर्किस एयरलाइन्सले ३ हजार ८२४, नेपाल वायु सेवा निगमले ६ हजार ६४५ र हिमालय एयरलाइन्सले ३ हजार ८२५ यात्रुलाई उडाएको थियो ।
सरकारले नियमित उडान सुरु गरेपछि पनि कतार एयरवेजले ग्लोबल डिस्ट्रिब्युसन सिस्टम (जीडीएस) मा सस्तो फेयरको टिकट हटाएर महँगोमात्र राखेर उडान गरेको थियो । जसका कारण नेपालीहरूले सस्तो पाइने टिकटलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता परेको थियो ।
सरकारले कतारमा नियमित उडान खुला गरे पनि सो एयरलाइन्सले भने टिकट नभएको भन्दै महँगो शुल्क लिने गरेको आरोप लाग्दै आएको छ ।
यति मात्र होइन, यस अघिनै काटिसकेकाहरूलाई पनि टिकट नदिने र दिनै परे अर्काे टिकटसँग साट्न लगाएर उल्टै सर्भिस चार्जबापत २०० अमेरिकी डलरसम्म लिने आरोप कतार एयरवेजमाथि छ । यो गुनासो प्राधिकरणसम्म पुगे पनि उसले अहिलेसम्म कारबाही गर्न सकेको छैन ।
यस्तै छानबिनको दायरमा परेको मेगाबाइट ट्राभल एजेन्सी र टर्किस एयरलाइन्स गत वर्षको लकडाउनका बेलामा पनि यात्रुहरूबाट चर्को शुल्क लिएको भन्दै प्राधिकरणमा उजुरी परेको थियो । तर, प्राधिकरणले कारबाही गर्न सकेको थिएन ।
टर्किस एयरलाइन्सले युरोपका लागि १ लाख ४५ हजारदेखि १ लाख ६० हजार रुपैयाँसम्म रकम असुलेको उजुरी प्राधिकरणमा परेको छ । त्यस्तै अमेरिकाको लागि १ लाख ९० हजारदेखि २ लाख २५ हजारसम्म रकम टर्किसले असुलेको थियो ।
त्यसैगरी कतार एयरवेजले युरोपका लागि १ लाख ६० हजारदेखि १ लाख ९० हजार र अमेरिकाका लागि १ लाख ९७ हजारदेखि २ लाख ४७ हजारसम्म लिएको उजुरी परेको छ ।
यो पनि हेर्नुहोस
कतार एयरवेजको बदमासी: सस्तो टिकट लुकाएर महँगोमा बेच्दै, मिति सारेको २०० डलर चार्ज
गत वर्ष चार्टर्ड उडानमा चर्को शुल्क लिने ट्राभललाई भएन कारबाही, अहिले फेरि नयाँ छानबिन समिति ?
टर्किस एयरलाइन्स र मेगाबाइट ट्राभलको मिलेमतोमा महँगोमा टिकट, छानविन गर्दै मन्त्रालय