काठमाडौं । आफ्नो हरेक गतिविधिको जानकारी जनतासमक्ष पुर्याउन प्रधानमन्त्री शेरबहादुर देउवा धमाधम सामाजिक सञ्जालहरुमा जोडिन थालेका छन् । केही समयअघि ट्वीटर र भाइबर कम्युनिटीमा जोडिएका प्रधानमन्त्री देउवा हालै लोकप्रिय समाजिक सञ्जाल इन्स्टाग्राममा पनि जोडिएका छन् ।
यसअघि नै उनी नेपालमा चल्ने प्रमुख सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, भाइबरमा जोडिसकेका छन् । लोकप्रिय प्लेटफर्म टिकटकमा पनि जोडिन तयार रहेका प्रधानमन्त्रीको टिकटक आईडी आइतबारसम्म तयार भईसक्ने उनका पूर्वप्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
तिब्र र सहज सूचना प्रचार प्रसारको माध्यम र बढ्दो सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका कारण पछिल्लो समय प्रधानमन्त्रीहरुमा विभिन्न सामाजिक सञ्जालमा आकर्षण बढेको देखिन्छ ।
आजभोलीका नयाँ मिडियाहरु एकदमै गतिशील र निरन्तर उद्विकासका क्रममा छन् । यिनले सरकारी संस्थाहरुको सञ्चालन प्रवृति, राजनीतिज्ञहरुको सञ्चार प्रकृति, नागरिकको संलग्नता, पारदर्शीता, जवाफदेहिता र स्वस्थ आलोचनालाई बढाइरहेका छन् ।
लोकतन्त्रको रक्षार्थ सामाजिक सञ्जालको विशेष भूमिका हुने र नेता र जनताबीचको भौगोलिक र पहुँचको दूरीलाई यसले कमि गर्ने हुँदा प्रधानमन्त्री देउवा सामाजिक सञ्जालमा जोडिन थालेको परियार बताउँछन् ।
पाँच लाखभन्दा धेरै नेपाली प्रयोगकर्ता रहेका हरेक समाजिक सञ्जालमा प्रधानमन्त्री जोडिदैँ जाने योजना रहेको उनले बताए ।
हाल प्रधानमन्त्री देउवाको आधिकारिक फेसबुक पेजमा १ लाख ९३ हजार ७९९ प्रयोगकर्ता जोडिएका छन् ।
यस्तै उनको भाइबर कम्युनिटीमा ६ हजार ६९३ सदस्य छन् । यस्तै ट्वीटरमा ३ लाख, १९ हजार ९०० फल्लोअर्स छन् भने भर्खरै खोलिएको उनको इन्स्टा अकाउन्टमा ४ हजार ३५७ प्रयोगकर्ता छन् ।