काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के खोलाको काम डेढ वर्ष पर धकेलिएको छ । गएको असार १ गते मेलम्ची खोलामा गएको बाढीले ठूलो क्षति गरेपछि याङ्ग्री र लार्के खोलाबाट राजधानीमा थप ३४ करोड लिटर पानी ल्याउने मेलम्चीको दोस्रो आयोजनाको काम डेढ वर्ष पर धकेलिएको हो ।
मेलम्चीबाट १७ याङ्ग्रीबाट १७ र लार्के खोलाबाट १७ गरी कुल ५१ करोड लिटर पानी राजधानीमा ल्याउने सरकारको योजना छ । जसमध्ये १७ करोड लिटर पानी राजधानीमा आइसकेको छ । बाढीले मुहानमा क्षति गरेपछि अहिले आपूर्ति बन्द छ ।
यसअघि चालू आर्थिक वर्षको साउनबाट आयोजनाको प्रारिम्भक काम सुरु गरी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना मेलम्ची खानेपानी विकास समितिको थियो । हेडवक्स टनेल निर्माण सम्पन्न हुन पूर्वनिर्धारित समयभन्दा करिब डेढ वर्षसम्म लम्बिने समितिकका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।
यद्यपि ठेक्का सम्झौता भने चालुूआर्थिक वर्षभित्र गर्ने तयारी रहेको पन्तले जानकारी दिएका छन् । ३ वर्षभित्र हेडवक्स निर्माण गर्न नसके पनि पानी प्रशोधन केन्द्र सुनदरीजलमा निर्माण गर्न सकिने उनको भनाइ छ । पन्त भन्छन्, ‘हेडवक्स निर्माणमा ढिलाइ भए पनि सुन्दरीजलमा अर्को पानी प्रशोधन केन्द्र निर्माण गर्न सके वर्षातको समयमा मेलम्ची खोलामा पानीको मात्रा बढ्ने हुँदा सो पानीलाई ल्याउन सकिन्छ ।’
बाढीका कारण दोस्रो चरणका लागि पहुँचमार्गको रुपमा निर्माणाधीन रहेको सडक र पुलमा क्षति पुगेको छ । बाढी अघि मेलम्ची खानेपानी आयोजनाले दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के जोड्ने पहुँचमार्ग (सडक) निर्माण सुरु गरेको थियो । मेलम्ची खानेपानीबाट लार्के र याङ्ग्रीसम्म पुग्न २५ किलोमिटर दूरी छ ।
सो मार्ग १० किलोमिटर खानेपानी आयोजना र १५ किलोमिटर सडक विभागले गरेर निर्माण गर्ने योजना छ । याङग्रीबाट लार्के पुग्न भौगलिक जटिलताले गर्दा सुरुङ बनाएर पानी ल्याउने विषयमा छलफल सुरु भएको छ । साथै १० किलोमिटर सडकअन्तर्गत तीनवटा नयाँ पुल पनि आयोजनाले निर्माण गर्ने सम्झौता थियो ।
सोहीअनुसार, ६९ करोड रुपैयाँमा ठेक्का लागेको उक्त १० किलोमटिर पहुँचमार्ग निर्माणाधीन अवस्थामा थियो । तीनवटै पुलको फाउन्डेसनको काममा क्षति भएको र ३ किलोमिटर सडक तथा निर्माण व्यावसायिका क्याम्प पनि बाढीले बगाएको छ । उक्त बाढीबाट दोस्रो चरणमा भएको आर्थिक क्षतिको विवरण भने निर्माण व्यवसायीले उपलब्ध नगराएको पन्त बताउँछन् । बाढीले बगाएको सडक मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण र दोस्रो चरणअन्तर्गत सडक छुट्टाछुट्टै हुन् ।
खानेपानी दोस्रो चरण निर्माणका लागि १५ करोड मुआब्जा वितरण गर्नु पर्नेमा हालसम्म ९ करोड रुपैयाँ वितरण भएको छ । सूचना अधिकारी पन्तले भने, ‘आयोजनाले १५ करोड रुपैयाँ बजेट मुआब्जाको लागि वितरण गर्नुपर्छ भनेर जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई उपलब्ध गराएको हो । हालसम्म ९ करोड रुपैयाँ वितरण भएको जानकारी आएको छ ।’
दोस्रो चरणका लागि २८० कित्ताको लागि मुआब्जा वितरण गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजनाको पहिलो चरणमा ऋण लगानी गरेको एसियाली विकास बैंक (एडीबी)ले दोस्रो चरणमा पनि लगानी गर्ने बताएको छ । यद्यपी ऋण सम्झौता भएको छैन । सरकार आफैंले पनि बनाउने योजना अघि सारेको छ ।
काठमाडौंमा पानी पुर्याउन एडीबीले पहिलादेखि नै चासो देखाउँदै आएको छ । तर, पहिलो चरणका काम गर्दा दुई दशक बढी समय लागेकाले मेलम्ची खानेपानीलाई पूर्ण रुपमा सम्पन्न गरेर मात्रै याङ्ग्री र लार्के अर्थात् दोस्रो चरणको काम सुरु गर्दा राम्रो हुने एडीबीले जनाएको छ ।
पछिल्लो समय मेलम्ची खोलामा गएको बाढीका कारण फेरि क्षति नहोस् भनेर थप प्राविधिक जाँचसमेत गर्ने विषयमा छलफल भएको आयोजनाले जनाएको छ । यसअघि प्राविधिकले जाँच गरी २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । यसमा थप–घट हुनसक्ने बताइएको छ ।
अर्थ मन्त्रालयले दोस्रो चरणको काम ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखे पनि व्यावहारिक पक्षले त्यसलाई साथ नदिने आयोजनाले जनाएको छ । ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टनेल बोरिङको’ माध्यमबाट काम सकिन्छ भन्ने सोच्नु भएको हो, किनकि भेरी बबई डाइभर्सनको १२ किलोमिटर लामो सुरुङ एक वर्षमा सकिएको थियो, त्यसैले मेलम्ची दोस्रो चरणको ९ किलोमिटर ३ वर्षमा सकिन्छ भन्ने लागेको हो । तर, मेसिनको निर्माण तथा जडान लगायत प्रक्रियाको लागि समय लाग्छ ।’
चालू आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनाको लागि अर्थ मन्त्रालयले ३ अर्ब ५१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये ५७ करोड पहिलो चरणको लागि र बाँकी रहेको बजेट आयोजनाको दोस्रो चरणको लागि विनियोजन गरिएको पन्तले बताए ।
उनले भने, ‘पहिलो चरणको लागि बजेट पुग्दैन तर, दोस्रो चरणको लागि भने, पर्याप्त हुन्छ । किनभने हामीले यो वर्ष बाढीको क्षतिले गर्दा धेरै काम गर्न सकिँदैन, ठेक्का लाउने र खरिद प्रक्रिया मात्रै रहन्छ । पहिलो चरणको लागि बजेट थप्नु पर्ने हुन्छ ।’
मेलम्चीको पहिलो चरणमा पुनर्निर्माण गर्न करिब २ अर्ब रुपैयाँ लाग्ने बताइएको छ । अर्थ मन्त्रालयले स्वीकृति दिएमा आयोजनाको दोस्रो चरणको लागि विनियोजन भएको रकम प्रथम चरणको पुनर्निर्माण गर्न प्रयोग गर्न सकिने पन्तले बताए ।
यो पनि हेर्नुहोस
२५ अर्बको जोहो भएको छैन, सरकार भन्छ-३ वर्षमा मेलम्चीबाट थप ३४ करोड लिटर पानी