विराटनगर । स्थानीय तहको निर्वाचन भएको चार वर्ष पुरा भईसक्यो । अब केही समय मात्र बाँकी छ । यो बीचमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भने पटक पटक विवादमा आएका छन् ।
प्रदेश १ को राजधानी विराटनगर । त्यसमा पनि प्रदेश १ को एक मात्र महानगरपालिका । यसकारणले गर्दा विराटनगर महानगरपालिकालाई धेरै चासोका साथ हेरिन्छ । महानगरले गर्ने कामका बारेमा सबैको चासो देखिन्छ ।
निर्वाचित भएको चार वर्षको अवधिमा मेयर पराजुली धेरै पटक विवादमा आएका छन् । आफुले भने अनुसारको काम नगरेको भन्दै कर्मचारीको सरुवा गरिरहनेदेखि लिएर कोरोना महामारीमा कहिले आफ्ना नजिककालाई अक्सिजन सिलिन्डर बाँडेर त कहिले आफ्ना निकटलाई मात्र खोप लगाएको भनेर ।
बुधबार राति आफु निकटलाई खोप लिएर पुगेका मेयर पराजुलीलाई स्थानीयले लखेटेका छन् । विराटनगर महानगरपालिकासहित पालिकाहरुमा सोमबार र मंगलबार खोप अभियान सञ्चालन गरिएको थियो । खोप लगाउने लाईन देख्दा खोप भन्दा नी कोरोनाको जोखिम धेरै देखिन्थ्यो । खोप लगाउनेको भीड देख्दा कोरोना बढ्नुको एउटा कारण खोप पनि हो भन्ने अवस्था थियो ।
आवश्यकता भन्दा पनि आफ्नो नजिकका र आफु निकटलाई बढी खोप लगाउने प्रवृतिले नगरवासी आजित देखिन्थे । खोपमा राजनीति भएको भन्दै विराटनगरवासीले विरोध पनि गरेका गरिरहेका थिए ।
यसैबीच मेयर पराजुलीले आफ्ना नेता कार्यकर्तालाई खोप बाँडेको आरोप स्थानीयबासिन्दाले लगाएका छन् । बुधबार राती विराटनगर महानगरपालिका ५ मा आफ्ना नेता कार्यकर्तालाई खोप बाँडेको भन्दै स्थानीयले घर घेरा हालेर मेयर पराजुलीसहितलाई लखेटेको उनीहरुले बताएका छन् ।
मेयर पराजुली बुधबार राती ९ बजेतिर खोपसहित विराटनगर ५ का कांग्रेस बुथ समितिका सभापति बिमल राजभण्डारीको घरमा पुगेर खोप लगाएको थाहा पाएपछि स्थानीय आक्रोशित भएका हुन ।
मेयरले राती गुपचुपमा आफु निकटका व्यक्तिलाई खोप लगाउन थालेको भन्दै भीड जम्मा भएको थियो । आक्रोशित स्थानीयवासिन्दाले मेयर पराजुलीसँग गएका एक व्यक्तिलाई हातपात गरेपछि मेयर भागेको स्थानीयबासिन्दाको भनाइ छ ।
स्थानीयको विरोधपछि मेयर पराजुली काँग्रेस नगर उपसभापति प्रविण जोशीको गाडी चढेर भागेको स्थानीयबासिन्दाले बताए । उनीहरुले मेयर चढेको गाडीमा ढुंगा समेत हानेका थिए । उनीसँग काँग्रेसको विराटनगर नगरका कार्यबाहक सभापति अरुण न्यौपाने पनि थिए ।
आफूहरुले विरोध गर्दासम्म १५ देखि २० जनाले खोप लगाईसकेको स्थानीयबासिन्दा प्रविण निरौलाले बताए । मेयर पराजुलीसहितका व्यक्ति त्यहाँ पुगेर खोप लगाएको कुरा मेयर निकटकै कार्यकर्ताले फेसबुकमा राती नै लाईभ गरेका थिए । तत्काल लाईभ भएका भिडियो पछि हटाईए पनि त्यहाँ भएका रातीका अरु गतिबधिका भिडियो भने सार्बजनिक भएका छन् ।मेयर पराजुलीले भने कांग्रेस अधिवेशन नजिकिदै गर्दा आफु विरोधीहरुले गलत आरोप लगाएको बताएका छन् ।
यसअघि पनि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको अगुवाईमा सिटी सिनेमामा दुरुपयोग गर्दै खोप बाँडिएको थियो । यस्तै मेयर पराजुलीले आफ्नै घरमा व्यापारीलाई बोलाएर खोप लगाएको विवादमा पर्दै आएका छन् । धनाढ्य मारवाडीलाई अक्सिजन बाडिएको विषयमा पनि पराजुली विवादमा आएका थिए ।
मेयर विरुद्ध प्रदर्शन
मेयर पराजुलीका विरुद्ध महानगरपालिका कार्यालय अघि प्रदर्शन भएको छ । मेयर पराजुलीले सेटिङमा पैसा लिएर खोप बाँडेको आरोप लगाउँदै बिभिन्न युवा अभियान्ता तथा समुहहरुले विरोध गरेका हुन् ।
बिहान ११ बजेदेखि १ बजेसम्म कार्यालय अगाडी प्रदर्शन गरेका छन् । ‘मेयर साब हाम्रो खोप खै, खोप पाउनु हाम्रो अधिकार हो’ लेखिएको ब्यानर सहित जनता खोपको पर्खाईमा रहँदा मेयर खोपको सेटिङमा लागेको, मेयरले नोट भएकालाई मात्र खोप दिएको लगायतका नारा लगाउँदै युवा समुहले मुख्य द्धारमा घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।
प्लेकार्डसहित आएको युवा सामाजिक संघ संस्था व्यवस्थापन समुह, बरगाछि युवा समुह, वाईसिएल लगायतले संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।