काठमाडौं । फोरजी मोबाइल प्रयोगकर्ताको संख्या चैत महिनादेखि निरन्तर घटिरहेको देखिएको छ । गत चैतमा ७८ लाख ७१ हजार ५५५ फोरजी प्रयोगकर्ता संख्या रहेकोमा वैशाखमा घटेर ७६ लाख ९७ हजार ८६३ मा झरेको देखिएको छ । जेठसम्म आईपुग्दा घटेर ७६ लाख ६४ हजार ३५९ पुगेको छ ।
विशेषगरी दुई निजी टेलिकम अपरेटर स्मार्ट टेलिकम र एनसेल आजियाटाका फोरजी प्रयोगकर्ताको संख्यामा आएको गिरावटले त्यस्तो देखिएको हो ।
जसमा एनसेलले चैतदेखि वैशाखका बीचमा २ लाख ११ हजार ९५५ फोरजी प्रयोगकर्ता संख्या गुमाएको छ । चैतमा उसका प्रयोगर्ता संख्या ५० लाख १७ हजार १७० थिए भने वैशाखसम्म आईपुग्दा घटेर ४८ लाख ५ हजार २१५ मा सिमित भएको छ ।
यस्तै स्मार्टको फोरजी प्रयोगकर्ता संख्या निरन्तर घट्दै आईरहेको छ । चैतमा २ लाख १७ हजार ७३८ जना फोरजी प्रयोगकर्ता वैशाखमा घटेर २ लाख ६ हजार ३९३ मा झरेको छ । यो संख्या जेठसम्म आईपुग्दा १ लाख ५१ ह्जार ७१५ मा सिमित भएको छ ।
नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता भने प्रत्येक महिना न्यून संख्यामा बढिरहेको छ । यसको विपरित प्रयोगर्ताहरु नयाँ फोरजी प्रविधिलाई छाडेर थ्रीजी प्रविधितिर स्थानतरण भइरहेको पाइएको छ ।
दूरसञ्चार प्राधिकरणद्वारा मासिकरुपमा प्रकाशित एमआईएस रिपोर्टका अनुसार गत चैतमा फोरजी सेवा प्रदायकको संख्या १ करोड १७ लाख ६० हजार ५०४ थिए भने वैशाखमा बढेर १ करोड १९ लाख ५६ हजार १२० पुगेका थिए । जेठमा प्रयोगकर्ताको संख्या पुनः बढेर १ करोड २० लाख ५२ हजार ६७५ पुगेका छन् ।
नेपाल टेलिकम र एनसेल देशव्यापी फोरजी विस्तारमा आक्रमकरुपमा लागिरहेका छन् । तर, यसरी फोरजी प्रयोगकर्ता संख्या घटेर पुरानो प्रविधि थ्रीजीमा प्रयोगकर्ता संख्या बढ्नुमा ‘कम्प्याटिबल डिभाइस’ को अभाव रहेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशी बताउँछन् ।
‘हामीले फोरजी नेवटर्क चहिँ विस्तार गरिरहेकै छौं । तर फोरजी चल्ने मोवाइल सेट (डिभाइस) कतिजनासँग छ भन्ने कुरामा यो निर्भर हुन्छ ।’ जोशी भन्छन्,‘थ्रीजी पुरानो भएको कारण जस्तोसुकै सेटमा चल्छ । तर फोरजी राम्रो स्मार्ट फोनमा मात्र चल्ने हुँदा यो सबैको हातमा हुँदैन ।’
यसरी प्रयोगकर्ता संख्यामा तलमाथि आउनु प्रयोगकर्ताको नेटवर्क थ्रीजी फोरजीमा परिवर्तन भईरहेको समयमा हुने गणनाले पनि फरक पार्ने दूरसञ्चार क्षेत्रका एक जानकारले बताउँछन् ।
फोरजीका नेटवर्कबाट बाहिर गएको समय त्यै व्यक्ति थ्रीजीमा गणना हुने उनले बताए । यद्यपी सिम सब्सक्रिप्सनकै कारण यस्तो भएको हो भने यो गम्भिर विषय हुने उनले क्यापिटल नेपाललाई बताए ।
‘कहिलेकाँही ६ महिनाभन्दा लामो समय प्रयोगकर्ता निस्क्रिय रह्यो भने पनि सिम ब्लक गर्दा यस्तो परिवर्तन देखिन सक्छ । अन्यथा बढ्ने घट्ने भइरहन्छ ।’ उनले भने ।
पछिल्लो तीन महिनामा फोरजी प्रयोगकर्ता संख्या घट्नुमा स्मार्ट टेलिकमको फोरजी ग्राहक घट्दै जानुको योगदान मूख्य देखिन्छ । स्मार्टको फोरजी प्रयोगकर्ता निरिन्तर घट्दै गइरहेको कारण यस्तो समस्या देखिएको हो ।
स्मार्टको गत चैतमा २ लाख १७ हजार ७३८ प्रयोगकर्ता संख्या घटेर बैखाशमा २ लाख ६ हजार ३९३ र जेठमा १ लाख ५१ ह्जार ७१५ पुगेको छ ।