काठमाडौं । कर्मचारी सञ्चय कोषले ऋण लगानीको सम्झौता गरेपछि विकासकर्ता तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडले ९९.८ मेगावाटको तामाकोसी पाँचौं आयोजनाको निर्माणको प्रक्रिया सुरु गरेको छ ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन पूर्वाधार बनाउन निर्माण व्यवसायी नियुक्तिको तयारी थालेको छ । पूर्वाधारका लागि निर्माण व्यवसायी छनौट गर्न बोलपत्र कागजात (टेण्डर डकुमेन्ट) बनाउने तयारी कम्पनीको छ ।
आयोजनाको सुपरीवेक्षणका लागि पनि परामर्शदाताको छनौटको प्रक्रिया अघि बढाउन लागेको छ । यसका लागि निर्माण व्यवसायीको पूर्वयोग्यता छनौट (पीक्यू) गर्न भएको छ ।
छनौट भएका कम्पनीहरुबीचमा विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) गर्ने तयारी छ । एक वर्षभित्र टेण्डरको काम सकेर २०८४ भित्र आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य रहेको छ । इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक (ईपीसी) खाकामा आयोजना निर्माण हुनेछ ।
आयोजना बनाउन १६ अर्ब १९ करोड रुपैयाँ (१३ करोड ७२ लाख अमेरिकी डलर) अनुमानित लागत रहेको आयोजनामा कोषले ७० प्रतिशत (करिब ११ अर्ब ३३ करोड) रुपैयाँ ऋण लगानी गर्नेछ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइनेछ ।
तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको ‘क्यास्केड’ आयोजना हो । माथिल्लो तामाकोसीबाट बिजुली उत्पादन गरेर बाहिर आएको पानीलाई सिधै सुरुङमा प्रवेश गराएर बिजुली उत्पादन गर्ने लक्ष्य छ ।
त्यसैले तामाकोसी पाँचौंले बाँध, बालुवा थिग्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई वित्तीय रुपमा आकर्षक मानिएको छ । आयोजनाको लागत प्रतिमेगावाट १६ करोड रुपैयाँ देखिएको छ ।
माथिल्लो तामाकोसीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्ने छ ।
विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) स्वीकृत भइसकेको आयोजनाले विद्युत उत्पादनको अनुमति २०७४ को जेठमै पाइसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैक (एआईआईबी)को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ ।
चीनको एआईआईबीले आयोजनाको थप अध्ययन गर्न १० करोड रुपैयाँ अर्थात ९ लाख डलर अनुदान दिएको थियो । आयोजनाको अहिले निर्माण पूर्वका कामहरु भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।
आयोजनाले प्रभावित र सर्वसाधारणलाई गरी ३० प्रतिशत सेयर (आईपीओ) निष्कासन गर्नेछ । आयोजना २ प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रोमेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ ।
आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने योजना कम्पनीको छ । आयोजना दोलखाको उत्तरीभेग सुरीमा पर्छ ।
यसअघि एआईआईबीले आयोजनामा ऋण लगानी गर्ने सहमति गरेको थियो । उसको ढिलाइका कारण कम्पनीले सञ्चय कोषबाट ऋण लिएर निर्माण सुरु गर्न लागिएको हो ।