काठमाडौं । उद्योग संगठन मोरङले संगठनले प्रारम्भ गरेको स्टार्टअप एण्ड इनोभेसन, सीप विकास, इन्टरप्राइजिङ इस्ट र सीप विकास एकाइको स्थापनालगायत कार्यक्रममा प्रदेश सरकारलाई सहकार्य गर्न आग्रह गरेको छ ।
गत सोमबार भएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री र प्रदेश योजना आयोगका उपाध्यक्षसँगको छलफलमा संगठनले आग्रह गरेको हो ।
छलफलमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले संगठनले प्रारम्भ गरेको कार्यक्रमले प्रदेशको गरिमा अभिवृद्धि गर्दै उक्त क्षेत्रलाई लगानीमैत्री क्षेत्रका रुपमा विकास गर्ने हुँदा सो कार्यक्रम बहुआयामिक रहेको बताए ।
सरकार, निजी क्षेत्रबीच समन्वय गरी सञ्चालन हुने सो कार्यक्रमले प्रदेशको आर्थिक एवं औद्योगिक विकासका साथै उद्यमशीलता रुपान्तरणमा नयाँ आयाम थपि दिगो इकोसिष्टम विकास गर्न सहयोग पुर्याउने संगठनले जनाएको छ ।
त्यस्तै, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघले संयुक्त रुपमा सञ्चालन गरेको मेरो देश, मेरै उत्पादनका साथै संगठन, संघ, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको संयुक्त परियोजनाका रुपमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणको प्रकृयालाई तीव्रता दिन प्रदेश सरकार समक्ष अध्यक्ष प्याकुरेलले अनुरोध गरेका छन् ।
कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशको समग्र आर्थिक विकासलाई दृष्टिकोण गरी संगठनबाट प्रस्तुत भएको अवधारणामा मन्त्रालय सहकार्य गर्न तयार भएको बताएकी छन् ।
पछिल्लो समय हरेक तप्काका युवाहरु वैदेशिक रोजगारी प्रति लालायित भएको मन्त्री राईको भनाइ छ । युवाहरुलाई स्वदेश मै स्वरोजगारीको माध्यमबाट आर्थिक विकासमा संलग्न गराउने वातावरण तयार गर्नु सरकार र निजी क्षेत्रको दायित्व भएकाले मन्त्रालय संगठनसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताएकी हुन् ।
उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले सरकारले तीन खम्बे अर्थतन्त्रलाई महत्व दिएको बताए । साथै संगठनको योजनाले प्रदेशको पहिचानलाई स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै मन्त्रालयको तर्फबाट पूर्ण सहयोग गर्ने बताएका छन् ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले समग्र उद्यमशिलताको ईको सिस्टम विकास गर्न संगठनबाट प्रस्तुत रणनीतिक योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै वर्तमान युग स्टार्टअपको युग भएकाले स्टार्टअपको क्षेत्रमा युवा जनशक्तिलाई परिलक्षित गर्नुपर्ने बताइएको छ ।
उनले परम्परागत ढंगको सोच र अवधारणाबाट द्रुत आर्थिक विकासको लक्ष्य प्राप्त हुन नसक्ने भएकाले सोचमा परिवर्तन दिगो आर्थिक विकासको लक्ष्यसहित काम गर्नु पर्ने सुझावसमेत दिएका छन् ।
त्यसैगरी उद्योग संगनठ मोरङले नविनतम व्यवसायीक योजनालाई उद्यमशिलता रुपान्तरणमा सहयोग पुर्याउने उद्देश्यका साथ सामाजिक उत्तर दायित्व वहन गर्दै प्रारम्भ गरेको स्टार्टअप कार्यक्रममा प्रदेश नं. १ का पालिकाका युवाको बढीभन्दा बढी सहभागिता सुनिश्चित गराउन १५ भन्दा बढी पालिकाका उप–प्रमुख र प्रशासकीय अधिकृतका साथ भर्चुअल बैठक सम्पन्न गरेको छ ।
कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले सिर्जनात्मक सोच भएका युवाहरुलाई उद्यमशीलता विकास तथा व्यावसायिक रुपान्तरणका लागि सहजीकरण गर्दै वित्तीय पहुँच स्थापनाका साथै अन्य सेवाहरु उपलब्धताका लागि उद्योग संगठन मोरङले उक्त कार्यक्रममार्फत सहजीकरण गर्ने बताइएको छ ।
व्यावसायक सीप र दक्षता भएर पनि मेन्टरसीपको अभावमा वैदेशिक रोजगारीमा जान बाध्य युवाका लागि समेत कार्यक्रम अत्यन्त उपयोगी भएको अध्यक्ष प्याकुरेलले बताए ।
स्टार्टअप कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा, संगठनका स्थानीय, प्रदेश, संघीय सरकार समन्वय समितिका संयोजक तारानाथ निरौलाले स्थानीय पालिकाका प्रतिनिधिहरुलाई पालिकाहरुमा रहेको रोजगार सूचना केन्द्रमा दर्ता भएका रोजगारका खोजीमा रहेका उद्यमशीलता गर्न चाहने
युवाहरुलाई स्टार्टअप कार्यक्रममा आबद्ध हुनका साथै रोजगारीको खोजीमा रहेका व्यक्तीहरुलाई सीप विकास एकाइमार्फत सेवा लिन सहजीकरण गर्न अनुरोध गरेका छन् ।
उनीहरुले आर्थिक आय आर्जनका माध्यमबाट जनताको जिवनस्तर उकास्नु स्थानीय पालिकाको प्राथमिकता भएकाले आर्थिक क्रियाकलापमा सघाउ पुर्याउने कार्यक्रमहरुमा स्वतफूर्त सहभागिता जनाउन आग्रह गरेका हुन् ।
कार्यक्रममा सहभागी स्थानीय सरकारका उपप्रमुखले दैनिकजसो सयौंको संख्यामा रोजगारीको खोजीमा बिदेसिने युवाहरुलाई स्वदेशमा नै नयाँ अवसरको विकास गर्न कार्यक्रमले मदत पुर्याउने बताउँदै स्थानीय पालिकाको तर्फबाट उक्त कार्यक्रममा अधिकतम युवाहरुको सहभागिताको सुनिश्चित गर्न पूर्णरुपमा सहयोग रहने बताए ।
कार्यक्रममा संगठनका महानिर्देशक चूडामणि भट्टराईले संगठनले प्रारम्भ गरेको स्टार्टअप कार्यक्रमको अवधारणा, यसका लक्ष्तिवर्ग, कार्यक्रमको अवधि लगायतका विषयमा प्रस्तुति गरेका थिए ।