काठमाडौं । बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनःनिर्माणका लागि बजेटको अभाव भएको छ । आयोजनाको पुनः निर्माणका लागि चालू आर्थिक वर्षको बजेट अपुग हुने भएको छ । गत असार १ गते मेलम्ची खोलामा गएको लेदोसहितको बढीले आयोजनाको मुहानमा बनेका संरचनाहरु क्षतिग्रस्त हुँदा करिब २ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अध्ययनले निष्कर्ष निकालेको छ ।
सरकारले खानेपानी आयोजनाको लागि चालु आर्थिक वर्ष ०७८/०७९ मा ५७ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ । उक्त बजेट खानेपानी आयोजनामा बाढीबाट क्षति हुनु पहिला विनियोजन भएको हो ।
आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार, विनियोजन भएको बजेट आयोजनाको प्रथम चरणको लागि आएको हो । सो बजेटमध्ये ८ करोड रुपैयाँ चालु तथा प्रशासनिक खर्च, १४ करोड रुपैयाँ सामाजिक उत्थानका लागि र पानीको सुरुङ केन्द्रलगायत अन्य कामको १८ करोड रुपैयाँ मात्र बजेट रहेको छ ।
हालसम्म पनि मेलम्ची खानेपानी आयोजनामा बाढीबाट भएको क्षतिको एकिन विवरण आउन सकेको छैन । आधिकारिक विवरण आउँदा अहिले गरिएको प्रारम्भिक क्षतिको लेखाजोखामा परिवर्तन हुन सक्ने बताइएको छ । जसका कारण सरकारसँग कति बजेट माग्ने एकिन हुन सकेको छैन ।
नयाँ सरकारले पुरानो अध्यादेश बजेट प्रतिस्थापन गर्न लागेकाले अब आउने नयाँ बजेटले आयोजनालाई रकम विनियोजन गर्नेछ । बाढीले आयोजना स्थल पुरिएको छ । उक्त पुरिएको भाग पन्छाउन मात्रै ४० करोड रुपैयाँ बढी लाग्ने पन्त बताउँछन् ।
मेलम्ची बजारबाट करिब २० किलोमिटर लामो आयोजनाको प्रवेशमार्ग रहेकोमा करिब ८ किलोमिटर सडक बगेकाले मान्छे मात्रै हेवक्ससम्म जाने सकिएको सूचना अधिकारी पन्तले बताए । उनले भने, ‘खोलाको बाढीले १५ देखि २० मिटरसम्म पुरिएकाले मान्छेले पन्छाउन सकिँदैन, डोजरको प्रयोग गर्नुपर्छ ।
तर, सडक अवरुद्ध भएर डोजर लान सकिएको छैन, जसको कारण अर्थ मन्त्रालयसँग बजेट कति माग्ने पनि भन्न सकिएको छैन ।’ मन्त्रालयसँग बजेट माग्न वास्तविक क्षतिको विवरण तयार गर्नुपर्ने उनको भनाइ छ ।
यसअघि सडकको काम पनि आयोजनाले नै गरेको थियो । तर, अहिले सडक विभागले मर्मत गरे खानेपानी आयोजनालाई सजिलो हुने पन्तको भनाइ छ । क्यापिटल नेपाललाई जनाकारी दिँदै उनले भने, ‘आयोजनाले प्रवेशमार्गको सडक बनाएर स्थानीयका लागि पनि यातायात सञ्चालनमा राखिएको हो । आयोजनासँग खानेपानी, पुल, सडकलगातय सबैको काम गर्न सक्ने प्राविधिक छैनन् ।
सडक विभागले नगरी मेलम्चीलाई नै जिम्मेवारी दिने हो भने बजेटको व्यवस्था गरेर काजमा भए पनि प्राविधिक व्यवस्थापन गरिदिनुपर्छ ।’ सरकारका सबै निकाय मिलेर काम गरेमा काठमाडौंमा पानी ल्याउन सहज हुने उनले बताए ।
बाढीले आयोजनाका लागि प्रयोग हुने पाँचवटा पुलसमेत बगाएको छ । यसअघि सेनाको सहयोग लिएर अस्थायी बेलिब्रिज राख्ने बताइए पनि हाल सो कुरा परिवर्तन भई सरकारमार्फत नै आवश्यक समन्वय गर्नुपर्ने आयोजनाले जनाएको छ ।
सडकका लागि स्थानीयको जमिन र मुआब्जा
पहिला सडक भएका केही ठाउँ बाढीले बगाएकाले नयाँ ट्रयाक खोल्नुपर्ने हुन्छ । उक्त ठाउँमा स्थानीयको जमिन पर्न सक्ने भन्दै सूचना अधिकारी पन्तले मुआब्जाको कुरा आउने बताए । पहिला पनि स्थानीयले आयोजनाले जमिन प्रयोग गरेबापत मुआब्जा लिएका थिए । अहिलेको क्षतिमा पनि मुआब्जाको कुरा आउने उनको भनाइ छ । यसअघि मुआब्जा विवादको कारण आयोजना निर्माणमा अवरोध भएको थियो ।
विज्ञ टोली छनोटमा अन्योल
आयोजनाको क्षति र आगामी दिनमा आयोजना स्थलमा जोखिम भए/नभएको अध्ययन गर्न विज्ञको टोली गठनको तयारी छ । स्थानीय निकायले काठमाडौं विश्वविद्यालयका विज्ञको टोली भनेको र आयोजनाको दातृनिकाय एसियाली विकास बैंक (एडीबी) लगायत अन्य सरोकारवाला निकायसहितको एउटा टोली बनाएर जाने कुरा भएको पन्त बताउँछन् । एउटै काममा दुईतिरबाट भन्दा मिलेर काम गर्दा राम्रो हुने छ । सो विषयमा आधिकारिक कुरा आफुसँग नआएको उनको भनाइ छ ।
त्यस्तै हेडर्वक्स निमार्णको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले तत्कालको अवस्थामा आयोजना स्थलमा जोखिम रहेको भन्दै काम गर्न मानेको छैन । बाढीले क्षति पुर्याएकाले थप थप बजेटको व्यवस्था गर्नुपर्ने पन्त बताउँछन् । काठमाडौंमा मेलम्चीको पानी कहिले उपलब्ध हुन्छ अहिले नै भन्न नसकिने पन्त बताउँछन् । माघ/फागुनसम्म ल्याउने अनुमान गरिएको उनको भनाइ छ ।
गत फागुनमा मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । वैकल्पिक प्रणालीबाट परीक्षणको लागि ल्याइएको पानी तीन महिना काठमाडौंवासीले प्रयोग गर्न पाएका थिए । सुरुङमा त्रुटि भए/नभए परीक्षण गर्न असार एक गतेबाट दुई महिनाको लागि बन्द गरिएको केही घण्टामै मेलम्ची खोलामा आएको बाढीले खानेपानी आयोजनामा क्षति पुगेको छ ।
यो पनि हेर्नुहोस
बाढीले मेलम्ची आयोजनामा १८० करोडको क्षति, राजधानीमा पानी ल्याउन सुधारका काम चाँडै थालिने
मेलम्चीको पानी आउन ३ महिना लाग्ने, क्षतिग्रस्त संरचना मर्मत गर्न १ अर्ब खर्च हुने अनुमान
बाढीबाट क्षतिग्रस्त संरचना मर्मतको तयारी हुँदै, असोजसम्म मेलम्चीबाट आउला त पानी ?