घोराही । दाङमा थारु कुमाल समुदायले परापूर्व कालदेखि अपनाउँदै आएको माटाका भाँडाकुँडा बनाउने पेसा सङ्कटमा परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ पर्सेनी र गढवा गाउँपालिकाका विभिन्न स्थानमा कुमाल समुदायको बसोवास छ र माटोको भाँडा बनाउने उनीहरुको पुख्यौली पेसा हो ।
सरकारले कुमाल समुदायको यो पेसाको जगेर्ना गर्न तुलसीपुरको पर्सेनीमा माटाका सामग्री बनाउने आधुनिक मेसिन दिएको छ । सरकारले मेसिन दिएको एक वर्षभन्दा बढी भयो तर पनि उक्त मेसिन सञ्चालनमा आउन सकेको छैन ।
नयाँ पुस्ताले यो पेसातर्फ चासो नदिँदा र पुराना पुस्तालाई यस्ता मेसिन चलाउने जानकारी नहुँदा मेसिन सञ्चालनमा नआएको त्यहाँका स्थानीयवासीहरु बताउँछन् । उनीहरुका अनुसार गरीबी निवारण कोषले एक वर्ष अघि करीब ६ लाख मूल्य बराबरको माटाको भाँडा बनाउने आधुनिक मेसिनहरु उपलब्ध गराएको हो । माटाका भाँडा बनाउन सजिलो र छिटो होस् भनी कोषले एक वर्ष अघि मेसिन उपलब्ध गराएको हो ।
स्थानीयवासी प्रेम कुमालका अनुसार गाउँमा कसैले पनि मेसिन प्रयोग गर्न नजाने पछि मेसिन थन्किएको हो । उनले भने – “एक पटक चिया कप, प्लेट, घैँटा बनाएका थियौँ । तापक्रम नमिलेर सबै खेर गए । मेसिन जडान त भयो तर, अलि राम्रोसँग चलाउने सीप पनि पाएको भए सहज हुने थियो ।” गाउँवासीलाई सरकारले माटो पेल्ने मेसिन, स–साना भाँडा बनाउने र ठूला भाँडा पोल्ने मेसिनहरु दिएको उनले जानकारी दिए ।
वर्षौंदेखि माटाका भाँडा बनाएर जीवन बिताइआएका तुलसीपुरका ६२ वर्षीय गोपाल कुमाल भने जस्तो माटो नहुँदा भाँडा बनाउन समस्या भएको बताउँछन् । “भाँडा बनाउने उपयुक्त माटो छैन, हामीलाई माटोको व्यवस्था कसले गरिदने ?” उनले भने – “हामीहरुको आफ्नो जग्गा पनि छैन । अरुको जग्गामा माटो निकाल्नै दिँदैनन् ।” आफूहरुको पेसालाई ध्यानमा राखेर स्थानीय सरकारले माटोको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ । यस्तै, नयाँ युवा पुस्तालाई सीप प्रदान गरी यो पेसा संरक्षण गर्न सबै पक्षबाट सहयोग भए राम्रो हुने उनी बताउँछन् ।
यो परम्परागत पेसाबाट आयआर्जन नहुने भएपछि पछिल्लो पुस्ता यो पेसातिर नलागेर अन्य पेसा गर्दै आएको कुमाल समुदायका अगुवाहरु बताउँछन् ।
डुरुवाका ७२ वर्षीय दिलबहादुर कुमालका अनुसार आफूले सानैदेखि गर्दैआएको पेसालाई आफ्ना छोराछोरीहरुले हिजोआज गर्न मानेका छैनन् । माटाका भाँडा बनाउन नमान्ने छोराछोरीले आफूलाई पनि पटक पटक नगर्न आग्रह गरेको उनी बताउँछन् । उनले भने – “छोराछोरीले यो सीप सिक्नै मान्दैनन, बरु उल्टै मलाई यस्तो काम गर्नुहुँदैन भनेर हकार्छन् ।” अहिले गाउँमा कुनै पनि युवा यो पेशा गर्न राजी छैनन् । अहिले त्यहाँ गाउँभरिका १८ जनाले मात्र माटाका सामग्रीहरु बनाउन जानेको भए पनि पछिल्लो समयमा नौ जनाले काम गर्न छाडेको उनले बताए । यसरी काम छोड्दै गए एक दिन यो पेसा नै बिलाउने उनको चिन्ता छ ।
हिजोआज बजारमा सबैजसो सामान प्लाष्टिकमा पाइन्छ । दूध, तेल, पानीदेखि हरेक प्रकारका सामान प्लाष्टिकमा पोको पारेर बजारमा पठाइन्छ । त्यति मात्रै होइन घरमा प्रयोग गर्र्ने गाग्री, कचौरा, थाल जस्ता अधिकाँश सामान सबै प्लाष्टिकको पाइन्छ । पछिल्लो समय बजारमा आएका प्लाष्टिकका सामग्रीले माटाका सामग्रीको ठाउँ लिएको तुलसीपुर पर्सेनीकी शान्ति कुमालले बताइन् । सरकारले बजारमा पाइने प्लाष्टिक सामानलाई भित्रिन रोक्नुपर्ने उनी बताउँछिन् ।
यता दाङ देउखुरीको गढवा गाउँपालिकाले भने त्यहाँका स्थानीयवासीलाई आधुनिक भट्टीमा भाँडा बनाउने सीप सिकाउँदै आएको छ । अहिले गढवा गाउँपालिका वडा नं ३ खैराका कुमाल समुदायका कुल ५४ घरधुरीमध्ये २५ घर व्यावसायिक रुपमै माटाका भाँडा बनाउने काममा संलग्न छन् ।
स्थानीयवासी चुन्नुराम थारुका अनुसार परम्परागत ढङ्गले तयार गरेका भट्टीमा माटाका भाँडाहरु बनाउँदा दाउरा, पराल, माटो, समय र मेहनत निकै धेरै लाग्छ तर, आधुनिक भट्टीमा बनाउँदा जम्मा दुई भारी दाउरामा ३०० भन्दा बढी गमलाहरु तयार गर्न सकिन्छ ।
पछिल्लो समय माटाका भाँडा बनाउने पेसा लोप हुँदै जान थालेको भन्दै गढवा गाउँपालिकाले यो पेशालाई प्रवर्द्धन गर्न थालेको छ । गढवामा कुमाल समुदायको घर–घरमा माटाका भाँडा बनाउने प्रविधिको संरक्षणसँगसँगै आधुनिक ढङ्गले सामान बनाउने शीप विकास गर्न थालेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।
गढवा गाउँपालिकाको वडा नं १ को पत्रिंगा, बनघुस्री, वडा नं ३ को खैरा, वडा नं ६ को कुमाल गाउँ गरी चार गाउँहरुमा माटाका भाँडा बनाउने आधुनिक मेसिन वितरण गरिएको छ ।
थारु तथा कुमाल समुदायले आयआर्जन लागि अपनाउँदै आएको माटाका भाँडा बनाउने परम्परागत पेशामा नयाँ पुस्ताले खासै चासो नदिएका कारण गाउँपालिकाले यो अभियान थालेको अध्यक्ष यादवले बताए । उनले भने – ‘यस वर्ष गढवा गाउँपालिका वडा नं ३ ले १४ लाख, सहकर्मी समाजको ३ लाख र स्थानीयवासीको २ लाख बराबरको श्रमदानबाट खैरा गाउँमा माटाका भाँडा पोल्ने आधुनिक भट्टी निर्माण गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले कुमाल जातिको यो पेसा संरक्षणका लागि चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ छुट्टाएर काम गर्ने योजना बनाएको कार्यापालिका सदस्य दीपक कुमालले बताए । – रीता लामा/रासस