काठमाडौं । १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको र एसियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करीब ५ करोड रुपैयाँको अधिकतम् सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्नसक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेकोमा उक्त कम्पनीको प्रस्ताव छनोट भएको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार सुरुङको पुनःनिर्माणको शिलान्यास यही साउन १४ गते मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने भएका छन् । प्रदेश दुईको बारा र बागमति प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग विसं २०७५ तिर राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो ।
उक्त मार्गबाट विसं २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउछन् । सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एसियामै सुरुङमार्ग नभएकोले त्यस समय नेपाल आएका भूगोलविद् टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रुपमा समेत उल्लेख गरेका छन् ।
स्वीट्जरल्याण्डबाट नेपालको खानीलगायतको भूगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम् अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।
यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्दछ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लामो थियो । हाल पहिराले एकापट्टीको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ । नेपालका पहिलो इञ्जिनीयर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ ।
इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले म बसेको ठाउँमा बाटो खनिस त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ । रासस