काठमाडौं । कुनै समय यस्तो थियो कि काठमाडौंका मुख्य बजारभित्र सटर र कोठा पाउनै मुस्किल हुन्थ्यो । सबै घर भरिभराउ थिए भने सटरै सटरले बजारमा चमक थियो । तर, अहिले समय बदलिएको छ ।
करिब दुई वर्षदेखि महामारीका रूपमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण बढेपछि गरिएको लकडाउन (बन्दाबन्दी र निषेधाज्ञा)को कारण व्यापार व्यवसाय ठप्प भएको छ । जसको कारण धेरैले आफ्नो व्यापार व्यवसाय छोडेर हिँडेका छन् भने कतिले भाडा तिर्न नसकेर घरबेटी आफैंले सटर वा कोठमा साँचो लगाएका छन् ।
व्यवसायनै ठप्प भएपछि बजारका अधिकांश घरमा सटर, कोठा तथा फ्ल्याट खाली भएको सूचनाहरू देख्न सकिन्छ । करिब १२ वर्षदेखि घर भाडामा लगाउँदै आएका बागबजारका अनुप खड्गीको घर विगत ४ महिनादेखि खाली छ । उनले कोरोना संक्रमणको पहिलो लहरमा सरकारले गरेको लकडाउनमा २ महिनाको घरभाडा छुट गरेका थिए ।
रेष्टुराँ व्यवसाय सञ्चालन गर्दै आएका उनको घरमा बस्नेले जसोतसो पहिलो लकडाउन त कटाए । तर, कोरोनाको दोस्रो लहरमा भएको निषेधाज्ञामा भाडा बुझाउन नसक्ने भएपछि व्यवसाय नै बन्द गरेर हिँडेको अनुप बताउँछन् ।
‘हामीलाई पनि समस्या छ सधैं भाडा छुट दिन सक्दैनौं । दुई महिनाको छुटले उनीहरूले व्यवसाय चलाउन सकेनन् ।’ क्यापिटल नेपालसँग कुरा गर्दै खड्गीले भने, ‘धेरै पहिलादेखि बसेको भएर मासिक २० हजार रुपैयाँ भाडा लिँदै आएको थिएँ अहिले त त्यतिमा घर भाडा दिन सकिँदैन ।’ उनले घरभाडा बाहेक गाडी चलाउने काम गर्छन् ।
छुट्टै व्यवसाय वा काम गर्ने घरबेटीलाई धेरै समस्या नभए पनि घरभाडामा मात्रै भर पर्ने घरबेटीलाई भने पछिल्लो समय दैनिकी चलाउन धौ–धौ भएको उनको बुझाइ छ ।
त्यस्तै अर्का घरबेटी विजय श्रेष्ठको कमल पोखरी र ज्ञानेश्वरका घर खाली छन् । कमल पोखरीको घर अघिल्लो वर्षको लकडाउनदेखि भाडामा जान नसकेको विजयको भनाइ छ ।
‘पोहोर कोरोनाको बेला खाली भएको घर दसैंपछि केही महिना भाडामा गए पनि निषेधाज्ञाले पुनः खाली भएको छ । उनी भन्छन्, ‘ज्ञानेश्वरको घर पनि ४ महिनाअघि बनाएर सकिएको हो तर, भाडामा जान सकेको छैन ।
पहिला घर खाली छ भनेर कहिले पनि बोर्ड बनाउँदै टाँस्नु परेको थिएन, पुरानो घरमा त अहिले पनि केही गरेको छैन, नयाँ घरमा भने, घरखाली छ भनेर टाँसेका छौं ।’ ज्ञानेश्वरको घर भाडामा लागेको भए अहिलेसम्म ५० लाखभन्दा बढी घरभाडा उठ्ने श्रेष्ठ बताउँछन् । कमलपोखरीको घरको भाडा पनि उस्तै भएको उनले बताए ।
न्युरोडमा सटर भाडामा लेखेर राखेका एक घरबेटी आफ्नो नाम बताउन चाहदैनन् । तर, उनको पनि गत वर्षको लकडाउनदेखि पूरै घर भाडा लाग्न सकेको छैन । केही समय भाडामा लागे पनि पहिलाको जति पैसा नआएको उनले बताए ।
‘घर भाडा लाग्नै मुस्किल छ, लागे पनि कम पैसामा भाडा लाग्छ ।’ उनले भने, ‘नयाँ नम्बरबाट फोन आउँदा पनि घर भाडा कै लागि हो कि भन्ने लाग्छ । घर बनाउँदा लिएको ऋण तिर्न समस्या भएको छ ।’ अहिले उनका तीनवटा सटर खाली छन् । अन्य दुई÷तीनवटा सटर भाडामा रहेकाले त्यहीबाट आएको पैसाले दैनिकी चलाएको उने बताए ।
डिल्लीबजारका अर्का घरधनी पनि आफ्नो परिचय खुलाउन चाहँदैनन् । तर, उनको पनि तीनवटा सटर निषेधाज्ञा सुरु भएदेखि नै खाली छन् । पहिला भाडामा बस्नेले पैसा तिर्न नसक्ने भएपछि सटर खाली भएको उनको भनाइ छ ।
घर बनाउँदा बैंकबाट लिएको ऋणको किस्ता तिर्न समस्या भएको बताउँदै उनले भने, ‘हाम्रा समस्या र कथा धेरै छन्, भनेर साध्य छैन । भने पनि केही हुने होइन, घर भाडाको कुरा नगरौं ।’ उनको घरमा होस्टल सञ्चालनमा रहेको छ । आदि भाडा छुटदिँदा पनि होस्टलले समयमा घरभाडा दिन सकेको छैन ।
त्यस्तै रुक्मणी श्रेष्ठका बानेश्वर र डिल्लीबजारमा एक÷एकवटा घर छन् । उनले गत वर्षको लकडाउनदेखि नै करिब २५ लाख रुपैयाँ घरभाडामा छुट दिइसकेकी छन् । घर खाली भएको छैन तर, पहिलादेखि होस्टेल सञ्चालन हुँदै आएको र त्यसका सामान मात्रै छन् । यो समय पढाइ, व्यापार व्यवसाय बन्द भएकाले घरमा बस्नेले घरभाडा दिन सकेका छैनन् ।
‘पहिला २ लाख ५० हजार भाडा लिने गरेकोमा अहिले ८० हजार रुपैयाँमात्रै लिँदै आएका छौं ।’ क्यापिटल नेपालसँग कुरा गर्दै श्रेष्ठ भन्छिन्, ‘अहिले पनि घर खाली छैन तर, होस्टेललाई भाडा तिर्न समस्या भएकाले एउटा फ्ल्याटमा सामान राख्न लाएर अरू फ्ल्याट भाडामा लगाउन लागेका छौं ।’ बैंकमा पनि ऋण छ । सरकारले घरबेटीको विषयमा केही गर्छ भन्ने आशा पनि नभएको उनले बताइन् ।
पछिल्लो समय विभिन्न कार्यालयले कर्मचारी घटाउँदै थोरै ठाउँमा काम गर्दै आएको अन्य घरबेटी बताउँछन् । हामीले भेटेर कुरा गरेका घरबेटीको मुख्य समस्या बैंकको ऋण तिर्नु रहेको छ । सरकारले काठमाडौंमा घर हुने सबै आर्थिक रुपमा सम्पन्न हुन्छन् भन्ने भ्रम भने, त्याग्नु पर्ने देखिन्छ ।