काठमाडौं । देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ३ वटा टर्वाइनबाट विद्युत् उत्पादन सुरु भएको छ । जेठ अन्तिम साता ७५ मेगावाट उत्पादन सुरु गरेको तामाकोसीले हाल ३ वटा टर्वाइन सञ्चालनमा ल्याएर २२५ मेगावाटसम्म बिजुली उत्पादन गरिरहेको छ ।
आयोजनाको चौथो युनिट सञ्चालनमा ल्याउने तयारी भइरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवत्ता गणेश न्यौपानेले बताए । उनले भदौभित्रै ६ वटै युनिट सञ्चालनमा आई ४५६ मेगावाट बिजुली उत्पादन हुने जानकारी दिए ।
अहिले २ वटा टर्वाइनबाट निरन्तर १५२ मेगावाट बिजुली उत्पादन भइरहेको छ भने एउटा टर्वाइन परीक्षणमा रहेको आयोजनाले जानकारी दिएको छ ।
३ वटा युनिट चलिसकेको छ । त्यसमध्ये २ वटाबाट निरन्तर बिजुली उत्पादन भइरहेको छ भने एउटालाई ‘स्टकमा’ राखिएको हो । अहिले तामाकोसीले परीक्षणका कारणले एउटा युनिट परीक्षण गर्ने र बन्द गर्ने काम भइरहेको छ । तर, तीन वटै युनिट चलिरहेका छन् ।
‘सिस्टममा’ आउन सक्ने समस्याहरु नआओस् भन्नका लागि तीन वटा मध्ये २ वटा मेसिन निरन्तर चलाउने र एउटालाई परीक्षण गरिराख्ने काम भइरहेको छ ।
एउटा टर्वाइनलाई नियमित परीक्षण गरिरहनु पर्ने हुन्छ । गत आइतबारबाट तीनवटा टर्वाइनबाट बिजुली उत्पादन भइरहेको छ ।
६ वटा टर्वाइनमध्ये बाँकी तीनवटा मेसिन चल्न बाँकी छन् । तीनवटा मध्ये साउन मसान्तसम्म अर्को एउटा टर्वाइनबाट पनि विद्युत् उत्पादन सुरु हुने तामाकोसीले जनाएको छ ।
त्यसैगरी, न्यूखिम्तीको २२० र १३२ केभी टान्सफर्मर पनि सञ्चालनमा आउने भएको छ । त्यो सवस्टेसन पनि पूर्ण रुपमा सञ्चालनमा आउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अहिले टान्सफर्मरको विज्ञ पनि आइसकेको अवस्था छ । यही साउन मसान्तभित्र उक्त सवस्टेसन सञ्चालन गर्ने प्राधिकरणको तयारी छ ।
सवस्टेसन सञ्चालनमा आएपछि तामाकोसीको बिजुली ढल्केवर नपुगिकन खिम्तीबाटै काठमाडौंतिर आउन सम्भव हुने प्राधिकरणले जनाएको छ । त्यसैगरी सिष्टम पनि सदृढ हुने प्राधिकरणको अपेक्षा छ ।
अहिले तामाकोसीको बिजुली ढल्केबरमा रहेको ४०० केभी क्षमताको सवस्टेसनमा जोडिएको छ । भदौभित्रै ६ वटा युनिटहरु सञ्चालनमा ल्याएर बिजुली उत्पादन गर्ने तयारी आयोजनाको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ ।