काठमाडौं । २०७२ सालको महाभूकम्पपछि नेपाल तहसनहस भएको भ्रम विश्वभर फैलियो । अवस्था भयावह भए पनि हल्ला फिजिएको जस्तो केही थिएन । तब सौरभ बज्रचार्य र उनका साथीहरुले काठमाडौंका विभिन्न स्थलहरुको ३६० डिग्री तस्बिरहरु खिचेर ती तस्बिरलाई आफ्नो भीआर एप्लिकेसनमा राख्न थाले ।
प्रारम्भमा उनीहरुको उद्देश्य नेपालको अवस्थितिबारे फैलिरहेको भ्रमलाई चिर्नु थियो । त्यहीँ समय नेपालको वास्तविक अवस्थालाई जोहर गर्न विदेशी मिडियाहरुले समेत ती तस्बिरहरलाई आफ्ना प्लेटफर्ममा स्थान दिए ।
अन्य तस्बिरभन्दा फरक ३६० डिग्रीका भीआर तस्बिरहरुभित्र तीन आयाम हुन्छन् । यस्ता तस्बिरहरु औलाले चारैतिर घुमाइ–घुमाइ हेर्न सक्छन् । यसरी हेर्दा मान्छेले आफू भौतिक रुपमा वास्तविक स्थलमा पुगेर दृश्यावलोकन गरेको आभाष गर्छन् ।
भीआर प्रविधि नेपालका लागि निकै नयाँ थियो । कम्प्युटर इन्जिनियरिङका विद्यार्थी भएकाले उनीहरु नवीन प्रविधिसँग अभ्यस्त थिए । ‘तस्बिर तथा भिडियोकै माध्यमबाट भर्चुअल टूर गराउन सक्ने त्यस्तो प्रविधिको त्यसबेला नेपालमा प्रचलनमै थिएन,’ सौरभले भन्छन् ।
क्रियटिभ सफ्वेयर डेभलपमेन्ट कम्पनी सिम्यान्टिक क्रियसनको २०१६ मा सार्वजनिक भएको प्रोडक्ट थियो भीआर नेपाल । यसैअन्तर्गत सौरभ र उनका साथीहरु सो काम गरिरहेका थिए । सौखले सुरु गरेको कामले विस्तारी असर देखाउँदै जान थाल्यो । बिजनेसहरुका लागि त यस्तो प्रविधि अझ धेरै प्रभावकारी हुँदोरहेछ भन्ने कुरा उनीहरुले थाहा पाए ।
‘विभिन्न बिजनेस होटल, रेस्टुरेन्ट, क्लब, आर्ट ग्यालरीहरुले पछि हाम्रो पनि भर्चुअल टूर राखिदिनु भनी आग्रह गर्न थाले । अनि हामी व्यावसायिक क्लाइन्टहरुसँग पनि जोडिन थाल्यौं,’ सौरभले सुनाए ।
नेपाल भीआरलाई विभिन्न होटल, रेस्टुरेन्ट, आर्ट ग्यालरीहरुले बोलाएरु आफ्ना साइटहरुको ३६० डिग्री तस्बिर खिचाउँथे । यसरी खिचिएका तस्बिरहरु नेपाल भीआरले सुरु आफ्नो वेबसाइट तथा एपमा राख्थ्यो ।
त्यहाँबाट लिङ्क जेनेरेट गरेर पुनः सम्बन्धित बिजनेस हाउसहरुको वबेसाइटमा समेत त्यस्ता लिङ्कहरु इम्बेड गरिन्थ्यो । यसरी ती कम्पनीका ग्राहकहरु आएर वेबसाइटबाटै भर्चुअल टुर गर्थे । यसबाहेक उनीहरुले त्यस्ता तस्बिरलाई गुगलको स्ट्रिट भ्यूँ साइटमा समेत राख्न थाले ।
‘नेपालमा त भर्चुअल टुरको त्यत्ति चलन नै छैन,’ सौरभ भन्छन्, ‘विदेशमा त कुनै नयाँ ठाउँ जान अघि त्यसको भर्चुअल टूर गरी ठाउँको परीक्षण गरेर मात्र जाने गर्छन् ।’ यसरी नेपाल भीआरका ३६० डिग्री भीआर तस्बिरले गुगल स्ट्रिट भ्यूमा ३०, ४० लाख भ्यूँ काट्यो । गुगल स्ट्रिट भ्यूले उनीहरुको टिमलाई ‘टेस्टेड प्रोफेसनल’ को समेत ट्याग दिएको थियो ।
तब, सौरभ र उनका दुई साथीले स्थापना गरेको नेपाल भीआर देशकै पहिलो भीआर कम्पनी पनि थियो । त्यसैले उनीहरु त्यसबेला निकै लोकप्रिय पनि बनेका थिए ।
थोरै लगानीमा, एउटा ३६० डिग्री क्यामेरा खरिद गरी एप र वेबसाइट निर्माण गरी परीक्षण गरेको प्रोजेक्ट यति लोकप्रिय बन्न पुग्यो कि एकैपटक १५, २० वटा कम्पनीहरुले कामका लागि बोलाउन थाले । यति मात्र होइन धेरैले त उनीहरुको काम अन्य व्यवसायीहरुलाई समेत सिफारिस गर्न थालेँ ।
‘आफ्नो ठाउँको प्रचार गर्न चाहाने हरेकले हाम्रो सेवा लिन थाले,’ उनी अगाडी भन्छन्, ‘हामीले सुरुमा पर्यटन केन्द्रित भएर प्रकृति, आर्ट ग्यालेरी, कल्चर जस्ता ६, ७ विषयबाट सुरु गर्यौं । पछि होटल, रेस्टुरेन्ट, आर्ट ग्यालरी, पार्क, ठमेलका धेरै नाइट क्लबमा हामीले यो काम गरेका छौं ।’
त्यस्ता तस्बिरहरुलाई भर्चुअल रियालिटी नेपाल डट कम वेबसाइट र एपमा गएर हेर्न मिल्थ्यो । तस्बिरलाई भीआर ग्लास र नाङ्गो आँखा दुवैबाट हेर्न सकिन्छ ।
त्यस समय भीआरको प्रोजेक्टमा काम टन्नै भइरहे पनि फुलटाइम जसरी भने काम हुन सकिरहेको थिएन । आफूहरु कम्प्युटर इन्जिनियरिङका विद्यार्थी । २३, २४ वर्षका विद्यार्थीलाई फोटोग्राफीसँग नजिक रहेको भीआर तिर मात्र लाग्दा बाटो अन्यत्रै मोडिएको जस्तो आभाष हुन थाल्यो । यसैले उनीहरु कम्प्युटर इन्जिनियरिङ र सफ्टवेयर डेभलपमेन्टकै काममा केन्द्रित हुन चाहान्थे ।
केही समय उनीहरु तीनै जना सिम्यान्टिक क्रियसनमा आबद्ध रहेर पूर्णकालीन सफ्टवेयर डेभलपमेन्टको काममा लागे । ‘सफ्टवेयर डेभलपमेन्ट भन्न बित्तिकै एप्लिेकेसन र अन्य सफ्टवेयर बनाउने बुझिन्छ, तर हामी कहिल्यै पनि बोरिङ सफ्टवेयर बनाउँदैन थियौं हाम्रो हरेक काममा सिर्जनशीलता र नयाँपन झल्किन्थ्यो ।’
उनीहरुले विदेशी कम्पनीहरुका लागि पनि टन्नै भर्चुअल तथा अगुमेन्टेड रियालिटीसँग सम्बन्धित सफ्टवेयरहरु निर्माण गरे । यसबाहेक अन्य सामान्य किसिमका सफ्टवेयरका कामहरु पनि उनीहरुले टन्नै गरे ।
पछिल्लो समय भीआर, एआर, थ्रीडीलाई लिएर अवधारणा र बुझाईमा अझ निख्खार आउँदै गएको छ । यसका प्रयोजन र लाभका बारेमा पनि धेरैले बुझ्न थालेका छन् । नेपालमा पनि धेरै नयाँ कम्पनीहरु स्थापना भए ।
अझ कोभिड-१९ संक्रमणका र निशेधाज्ञाका कारण विश्व एउटा घर र कोठाभित्र सिमित भएर बस्नु पर्दा यसको महत्व र चमत्कारलाई विश्वले बुझे । सौरभहरु जस्ता भीआर क्षेत्रमा काम गर्दै आइरहेका युवाहरुले यसको वृहतर स्कोपलाई पहिलाए ।
केही वर्षअघि एकजना विदेशीले विदेशी क्लाइन्टहरुलाई नै भीआर सेवा दिन नेपालमा सुरु गरेको भीआर कम्पनीले पनि सौरभ र उनका साथी आफ्नो टिममा लिन चाहेका थिए ।
तर, ढिलो चाढो सफ्टवेयर विकासको कामसँगै भीआर र एआरका कामहरुलाई पनि अगाडि बढाउन नेपालकै पुरानो भीआर कम्पनी नेपाल भीआर पुन बिउँतिएको छ ।
दोस्रो निशेधाज्ञा अगाडि मात्र आफूहरुले हयातकाे तारागाउँ सग्रहालय, सोल्टी, काठमाडौं विश्वविद्यालयले आयोजना गर्ने, नेपालको ठूलो अन्तर्राष्ट्रिय आर्ट फेस्टिभलको ट्रेनाली, बर्दिवास होटल आदीको भीआर परियोजना सम्पन्न गरेको सौरभले सुनाए ।
पुरानो पहिचानकै कारण आज पनि नेपाल भीआरलाई सबैले माया गरेर परियोजनाहरु जिम्मा लगाउने गरेको उनी सुनाउँछन् । ‘सफ्टवेयर डेभलपमेन्टमा ढल्किसकेको हामीहरु पुनः यतातिर फर्किएका छौं । मान्छेहरु राखेरै पूर्णरुपमा लागेको त हैन । तर नयाँ सामानहरु थप गरी छोडीसकेको कामलाई पुनः एकपटक सुचारु गरेका छौं ।’
भीआर र एआर अबको भविष्य भएको हुनाले आफूहरुले चालेको नयाँ कदमले पछाडि नफर्काउनेमा उनीहरु निश्चिन्त छन् ।
कसरी तयार गर्ने त भीआर प्रोडक्ट
आज भोलि कतिपाय मानिसहरुले ३६० डिग्रीको फोटो खिँचेर फेसबुकमा राखिरहेका हुन्छन् । त्यसैले कतिलाई यो सहज फोटो ग्राफीको काम जस्तो लाग्न सक्छ । तर, ३६० डिग्री तस्बिर खिचेर मात्र यो पूरा प्रक्रिया सम्पन्न हुँदैन । यो वास्तवमा हामीले सोचे जस्तो नहुने सौरभ बताउँछन् ।
‘पहिलो कुरा त भीआर गर्नलाई गेमिङ माइण्ड भएको मान्छे हुनुपर्छ । हरेक कुरालाई गेमिफाई गर्न सक्नुपर्छ । थ्रीडी मोडलिङको कोर्स गरेर सिसाप भन्ने प्रोग्रामिङ ल्याङ्ग्वेज जानेको हुनुपर्छ ।’
उनी अगाडि भन्छन्, ‘भीआर सबैभन्दा अप्ठ्यारो किसिमको सफ्टवेयर हो । यो तीन आयामको सफ्टवेयर हो । सामान्य प्रोग्रामले जानेको बाहेक गेम डेभलपमेन्टको पनि ज्ञान हुनुपर्छ ।’
यसरी विकास गरिएको सफ्टवेयरको ब्याक एण्डमा ती तस्विरहरुलाई अपलोड गरी भर्चुअल रियालिटी अर्थात् तीन आयामको दृश्य विकास गरिन्छ ।