झापा । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका कृषकलाई करिब २ करोड अनुदान उपलब्ध गराएको छ । केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई १ करोड ९९ लाख ५४ हजार ९ सय अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिए ।
मागमा आधारित कार्यक्रमअन्तर्गत पाँच पालिकाका किसानलाई रु दुई लाख ५० हजार, कागती खेतीमा सात पालिकाका १२ फार्मलाई २१ लाख २३ हजार ३ सय रुपैयाँ, व्यावसायिक फलफूल बगैंचा स्थापनार्थ चार पालिकाका ५ फार्मलाई ९ लाख १ हजार १ सय रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।
त्यस्तै बीउबिजन आत्मनिर्भर कार्यक्रमअन्तर्गत तीन पालिकाका चार फार्मलाई ३ लाख ९६ हजार ८ सय रुपैयाँ, बगरखेती प्रवर्द्धनका लागि छ पालिकाका १० फार्मलाई १० लाख १ हजार, जैविक तथा वानस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रमअन्तर्गत छ पालिकाका फार्मलाई ६ लाख रुपैयाँ, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रमअन्तर्गत आठ पालिकाका १० फार्मलाई १० लाख रुपैयाँअनुदान दिइएको कृषि अर्थविज्ञ भट्टराईले बताए ।
कृषि हाटबजार तथा सङ्कलन केन्द्र निर्माण गर्न तीन पालिका र एक सहकारी संस्थालाई रु ४० लाख अनुदान उपलब्ध गराइएको छ । गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र टागनडुब्बा सामुदायिक साना किसान कृषि सहकारी संस्थालाई १०/१० लाख रुपैयाँका दरले दिइएको कार्यालयले जनाएको छ ।
रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत मेचीनगर–१० की रुपा पौडेललाई रु एक लाख दिइएको छ । नमूना कृषि फार्म स्थापनाका लागि आठ पालिकाका १० फार्मलाई २६ लाख ६९ लाख ३ सय रुपैयाँ र कृषि यान्त्रिकीकरण, औजार खरिदका लागि ८२ व्यक्ति÷समूहलाई ७० लाख १३ हजार ४ सय रुपैयाँ अनुदान सहयोग उपलब्ध गराइएको कार्यालयले जनाएको छ । कार्यालयले न्यूनतम १८ हजार ७ सय रुपैयाँ देखि अधिकतम १ लाख २७ हजार ७ सय रुपैयाँ अनुदान दिइएको बताएको छ ।