तनहुँ । बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर १ रुपैयाँका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा १ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको हो ।
गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई शनिबार उत्पादनमा आधारित कार्यक्रमअनुरुप अनुदान रकम प्रदान गरेको छ ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, वडाध्यक्ष भानुभक्त पोख्रेल, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीको रोहवरमा किसानलाई अनुदान रकम वितरण गरिएको हो ।
सो सहकारीमा आबद्ध ६१ किसानलाई प्रतिलिटर १ रूपैयाँका दरले अनुदान दिँदा कूल रु एक लाख ६२ हजार वितरण गरिएको वडाध्यक्ष पोख्रेलले जानकारी दिए।
उनका अनुसार सो सहकारीले दैनिक करिब ७०० लिटर दूध उत्पादन गरी बिक्री गर्दै आएको छ । जति उत्पादन गर्यो, त्यति फाइदा हुने भएपछि किसान उत्साहित भएर उत्पादन वृद्धिमा लाग्ने गरेको उनले बताए। गाउँपालिकाको वडा नं ५ स्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक चार हजार लिटर दूध उत्पादन गर्दै आएको छ ।
सो सहकारीमा आबद्ध किसानलाई रु एकका दरले १०० किसानलाई अनुदान दिँदा रु नौ लाख ५२ हजार वितरण हुने गाउँपालिकाका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिए।
“उक्त सहकारीलाई छिट्टै रकम वितरण गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “दूधमा ५ हजार रुपैयाँ देखि बढीमा ३६ हजार रुपैयाँसम्म अनुदान पाउने किसान छन् ।” गाउँपालिकाले दूध र मासुमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई विशेष प्राथामिकतामा राखेर अनुदानका कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष थापाले बताए।
दुग्ध उत्पादक किसानलाई मात्रै कूल रु ११ लाख १२ हजार अनुदान वितरण गरिने उहाँले बताए। रासस