काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अगाडि बढाएको १८ प्याकेजको ब्रोडब्याण्ड सेवा विस्तार परियोजनाको निरीक्षण तथा प्रभाव मूल्यांकन गर्ने भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यक्रममार्फत प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गत विस्तार गरेको ब्रोडब्याण्ड सेवाको विस्तार, पहुँच तथा गुणस्तरीय सेवाका लागि सर्वेक्षण, प्रभाव मूल्यांकन तथा निरीक्षण गर्ने योजना लिएको छ ।
यसका लागि प्राधिकरणले ८० लाख रुपैयाँ लगानीको बजेट विनियोजन गरेको छ । प्राधिकरणले तेस्रो त्रैमासिकसम्म उक्त कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
साे १८ प्याकेजको परियोजनाअन्तर्गत देशभरका १५ हजार ९ सय ८२ वटा स्थानीय निकायका कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय तथा स्वास्थ संस्थाहरुमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्नुपर्नेछ ।
गत वर्षको चैत महिनासम्मको प्रगति विवरण हेर्दा हालसम्म उक्त परियोजनाको ८१.५२ प्रतिशत काम सम्पन्न भइसकेको छ । प्राधिकरणले विभिन्न सेवाप्रदायकलाई ती साइटहरुमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार तथा सेवा प्रदान गर्न ठेक्का दिएको थियो ।
तर, विभिन्न स्थानहरुबाट सेवा विस्टार भई एक्टिभेट भएको केही समयपछि निस्प्रभावकारी बनेको र मर्मत सम्हारका कामहरु नभएको गुनासाहरु आउने गरेका छन् ।
यसबाहेक बर्सेनि नाफामा गिरावट खेपिरहेका दूरसञ्चार कम्पनीहरुको आम्दानी स्रोत बढाउन प्राधिकरणले भीएएस अर्थात् भ्याल्यु एडेड सर्भिसको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम समेत अगाडि बढाउने भएको छ । यसका लागि प्राधिकरणले २० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।