पोखरा । गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने बताए ।
सोमबार शिव मूर्तिको अवलोकन गर्दै प्रदेश प्रमुख पौडेलले पोखरा पर्यटकको उत्कृष्ट गन्तब्य रहेको र विशाल शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षित गर्न बताइन् । उनले नेपाल प्राकृतिक सांस्कृतिक एवम् धार्मिक रूपमा धनि रहेकाले यसको विकास र संरक्षणमा ध्यान दिन सके अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
कोरोनाका कारण धेरै मानिसहरुले शान्त र आध्यात्मिक ठाउँहरुको खोजी रहेको जनाउँदै उहाँले कोरोना कम हुँदै गएपछि यस क्षेत्र धार्मिक एवम् अन्य पर्यटकका लागि समेत रोजाइमा पर्ने उनको विश्वास थियो ।
पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवम् परिकल्पनाकार चन्द्रकान्त बरालले सो मुर्तिको बारेमा प्रदेश प्रमुखलाई विस्तृत जानकारी गराइन् । बराललका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको २२ रोपनी जमिनलाई तीस वर्षकालागि भोगाधिकारको लिएर मूर्ति निर्माण गरिएको हो ।
नेपालकै अग्लो दाबी गरिएको सो शिव मूर्ति ४० करोड लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ । करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएकोसो कार्यका लागि हालसम्म २० करोड खर्च भइसकेको छ । हिल ट्याङ्क प्रालिका प्रबन्ध निर्देशक कमल जैनले सो शिवको मूर्ति प्रदान गरिन् ।
भारतको मथुराबाट ल्याइएको सो मूर्ति बाहिर फाइबर र भित्र स्टीलबाट निर्माण गरिएको छ । पर्यटकको बसाई लम्बाउनुका साथै धार्मिक पर्यटकीय गन्तब्यको लागि उत्कृष्ट गन्तब्य बन्ने विश्वास अध्यक्ष बरालको छ ।
संघ सरकार, प्रदेश सरकार र पोखरा महानगर पालिकालगायत विभिन्न व्यक्ति र संस्थाहरुले आर्थिक सहयोग गरेको बरालले जानकारी दिनुभयो । समितिले मूर्ति निर्माणका लागि २०७३ सालमा महायज्ञ लगाएर ६ करोड भन्दा बढी नगद र जग्गा प्राप्त गरेको थियो ।
मूर्ति पाँच वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य लिए पनि आर्थिक अभाव र कोरोनाका कारण निर्माण कार्य केही ढिला हुन पुगेको उनको भनाइ छ । अत्याधुनिक डिजिटल प्रविधिको प्रयोगबाट आसपासको जंगलका जंगली जनावरको गतिविधिलाई समेत नियाल्न सकिने छ ।
शिवको बृहत् चिनारीसहित १ सय ८ शिवलिङ्ग, १ सय ८ स्वर्गद्धारी सिँढी, सुमेरु पर्वत, गुरु महाराज आश्रम, हरियाली बगैंचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङ स्थललगायतका संरचना निर्माण गर्ने योजना रहेको सुनाइन् ।
पुम्दीकोट धार्मिक रूपमा समेत शक्ति पिठ भएको जनाउँदै शिव मूर्ति निर्माणले यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्दै लैजाने उक्त वडाका अध्यक्ष मित्रलाल बरालले जानकारी दिइन् ।
बरालका अनुसार पोखराको मुख्य बजारबाट करिब १५ किलोमिटरको दूरीमा रहेको सो स्थानबाट हिमश्रृङखला फेवाताल लगायतका मनोरम दृश्य देख्न सकिन्छ ।