काठमाडौं । सहरी विकास मन्त्रालय र काठमाडौं महानगरको जुहारीका कारण काठमाडौं उपत्यका एक सातादेखि दुर्गन्धित भएको छ । सहरी विकासले काठमाडौं महानगरपालिकालाई फोहोर व्यवस्थापनका लागि नयाँ ठाउँ उपलब्ध गराउन नसक्दा काठमाडौं उपत्यका केही दिनदेखि दुर्गन्धित बनेको हो ।
सहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनका लागि नुवाकोटको बन्चरेडाँडा तयार गरेर दिने बताए पनि नदिएकाले फोहोर उठ्न नसकेको महानगरपालिकाले बताएको छ ।
सहरी विकास मन्त्रालयले जेठसम्म हस्तान्तरण गर्ने गरी काम गरे पनि सरकारले गरेको निषेधाज्ञाका कारण समयमै सम्पन्न हुन नसकेकाले बन्चरेडाँडा उपलब्ध गराउन नसकेको स्वीकार गरेको छ ।
नुवाकोटको सिसडोल फोहोरले भरिएको र बाटो पनि हिलो भएका कारणले काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकेको महानगरपालिकका प्रवक्ता इश्वरमान डङ्गोलले जानकारी दिए ।
‘सहरी विकास मन्त्रालयले नयाँ ठाउँ दिन्छ भन्ने हामी ढुक्क थियौ,’ महानगरका वातावरण व्यवस्था विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘तर, अन्तिममा ठाउँ उपलब्ध गराउन नसक्दा फोहोर व्यवस्थामा ठूलो चुनौति खडा भएको हो ।’
अत्यधिक वर्षा भएकाले फोहोर उठाउन नसकिएको र अबको एक दुई दिन भित्रमा घाम लाग्यो भने नियमित रुपमा सबै ठाउँको फोहोर उठ्ने प्रवक्ता डङ्गोलले बताए । उनका अनुसार वैकल्पिक ढंगबाट व्यवस्थापनका लागि पनि सोचिरहेका छौं ।
फोहोर व्यवस्थापनका लागि महानगरपालिकाले दैनिक डेढ सयसम्म गाडीको प्रयोग गर्नुपर्ने भए पनि पछिल्लो समय दैनिक रुपमा ४० देखि ५० वटासम्म गाडी परिचालन हुँदै आएको थियो । तर, सोमबारदेखि भने १०० वटा गाडीले फोहोर उठाएको र सो संख्यालाई बढाएर दैनिक १ सय ५० वटा गाडीलाई फोहोर व्यवस्थापनमा प्रयोग गर्ने तयारी भइरहेको महानगरका वातावरण व्यवस्था विभाग प्रमुख श्रेष्ठले जानकारी दिए ।
गाडीको व्यवस्थापन राम्रोसँग नहुँदा फोहोर व्यवस्थापनमा ढिलाइ भएको उनको भनाइ छ । योसँगै फोहोर व्यवस्थापनको लागि ठाउँको समेत अभाव भएको कारण पनि व्यवस्थापनमा ढिलाइ भएका बताइएको छ ।
काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । सो ठाउँमा फोहोरकै पहाड बनेको छ । त्यही फोहोर माथि गाडी हिँडाएर डाँडासम्म फोहोर लैजानु पर्ने हुन्छ । तर, अहिले पानी परेर बाटो हिलो भएकाले गाडि फोहोर फाल्ने ठाउँ (डाँडामा)सम्म जान सकेका छैनन् । सो समस्या समाधान गर्न तत्काल वैकल्पिक व्यवस्थापनका लागि नेपाल सरकारले बनाएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्ने तयारी गरिएको थियो ।
सन् २००५ देखि जापानी सहयोग निकाय (जाईका)को सहयोगमा उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन भइरहेको छ । तर, सिसडोलको उक्त ल्याण्डफिल्ड साइटमा ३ वर्षसम्म मात्रै फोहोर फाल्न सकिने भए पनि अहिलेसम्म त्यही ठाउँमा फोहोर व्यवस्थापन भइरहेको छ । हाल सो ठाउँ भरिएकाले २ किलोमिटर टाढा बन्चरेडाँडामा ल्याण्डफिल्ड साइट बनाएको हो ।
विभागीय प्रमुख श्रेष्ठका अनुसार सिसडोलमा फोहोर व्यवस्थापन गर्नको लागि फोहोरको ८० मिटर अग्लो डाँडामा गाडीलाई स्काभेटरले तानेर लैजानुपर्ने पर्ने हुन्छ । फोहोरमाथि गाडी हिँड्ने भएकाले प्रत्यक वर्ष वर्षाद्को समयमा सिसडोलमा समस्या हुने गरेको छ ।
विगतका वर्षमा वर्षाद्को समयमा महानगरले फोहोर व्यवस्थापनका लागि पूर्व तयारी गर्ने गरे पनि यो वर्ष भने सहरी विकास मन्त्रालयले बन्चरेडाँडाको स्यानिटरी ल्याण्डफिल्ड साइटमा फोहोर व्यवस्थापन गर्न दिने बताएको श्रेष्ठको भनाइ छ । उनका अनुसार बन्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने र सिसडोललाई बन्द गर्ने तयारी थियो ।
उनका अनुसार तर, पूर्व सर्त अनुसार मन्त्रालयले काम नगरेको उनले बताए । ‘आइतबार प्रधानमन्त्री तथा मन्त्रीरिषद् कार्यालयमा महानगरको टोली गएर कुरा गर्दा निमार्णको काम नसकिएकाले सहरी विकास मन्त्रालयले २ महिना अगाडि बन्चरेडाँडा फोहोर व्यवस्थापनको लागि दिन सक्दैनौं भन्यो । त्यसपछि कुनै पनि निर्णय नगरि फर्किएको उनले बताए ।
क्यापिटल नेपालसँग प्रमुख श्रेष्ठले भने, ‘गत चैत÷वैशाखमा नै बन्चरे डाँडा फोहोर व्यवस्थापनका लागि दिने बताइएको थियो । तर हाल आएर सो समय सारिएको छ, जसका कारण काठमाडौं दुर्गन्धित बन्न पुगेको हो ।’
सोही विषयमा शहरी विकास तथा भवन विभागका उप–महानिर्देशक एवम् बन्चरे डाँडा फोहोर व्यवस्थापन आयोजनाका प्रमुख कुमार घिमिरे निषेधाज्ञाका कारण पूर्व सहमतिअनुसार फोहोर व्यवस्थापनको लागि बञ्चरे डाँडा तयार नभएको र दिन नसकिएको स्वीकार्छन् ।
उनले भने, ‘जेठदेखि महानगरलाई फोहोर व्यवस्थापन गर्न दिने सोचाइले हामीले काम गरिरहेको थियौं । तर, निषेधाज्ञाको कारण काम गर्न सकेनौं, राष्ट्रिय गौरवका आयोजनालाई जस्तो हामीलाई सहज भएन ।’
घिमिरेका अनुसार, महानगरले भनेको जस्तो तत्काल फोहोर व्यवस्थापन गर्न नमिल्ने अवस्था भने छैन । बन्चरे डाँडामा फोहोर व्यवस्थापनको लागि दुई वटा पोखरी निर्माण गरिएकोमा एउटा गत जेठमा नै निर्माण सम्पन्न भएको छ । जसलाई फोहोर फाल्नको लागि प्रयोग गरिने घिमिरले बताए । तर, फोहोरबाट निस्किएको ‘लिचेड’को लागि भने पोखरी निर्माणाधीन रहेकाले केही ढिलाइ भएको उनको भनाइ छ ।
तस्बिरहरूः नाजिया श्रेष्ठ