विराटनगर । सरकारले बोलीमा तस्करी नियन्त्रण गर्ने भने पनि व्यवहारमा त्यस्तो नदेखिँदा सीमावर्ती बजारमा चोरी भएर आएका सामान छ्याप्छ्याप्ती पाउन थालिएको छ । जसका कारण स्वदेशी उद्योगबाट उत्पादित सामग्री गोदाममै कुहिने अवस्था आएको उद्योगीहरुले बताएका छन् ।
सरकारले सीमाबाट हुने चोरी पैठारीलाई रोक्न विभिन्न उपाय लगाउने घोषणा गरे पनि व्यवहारमा त्यस्तो नपाइएको उद्योगीहरुको गुनासो छ । भारतीय बजारमा उत्पादन भएका सामग्री अवैद्य रुपमा नेपाल भित्रिँदा पूर्वका उद्योगहरु समस्यामा परेको बताएका छन् ।
चोरी पैठारीका सामानहरु बोर्डरबाट नेपाली बजारमा सस्तो मूल्यमा आउने भएपछि उत्पादित गोदाममै थन्क्याउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । ‘उसै पनि बजारमा त्यति ठूलो माग छैन, छिटफुट रुपमा हुने माग पनि भारतीय सामग्रीबाट पूर्ति हुन थालेको छ,’ एक उद्योगीले भने ।
जोगबनी तथा अन्य नाकाहरुबाट ठूलो परिमाणमा सामानहरु चोरी भएर नेपाल भित्रिँदा धेरैजसो उद्योगहरुलाई समस्या भएको नेपाल उद्योग परिसंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष नवल किशोर काब्राले बताए । विराटनगर, जनकपुर, रौतहटका नाकाबाट बढी मात्रामा बढी मात्रामा सामान चोरी भएर भित्रिने गरेको उनको भनाई छ ।
उपाध्यक्ष काव्राका अनुसार बिस्कुट, चाउचाउ, पैदा, कपडा, जुत्ता चप्पललगायत अन्य सामानहरु बढी मात्रामा चोरी भएर भित्रिने गरेको छ । ‘विराटनगर बजारदेखि जनकपुर, रौतहट, सर्लाही तिर बढी मात्रामा भारतीय सामग्रीले कब्जा जमाएर बसेका छन्,’ उनले भने ‘गुणस्तर नहेरी सस्तो मूल्यमा भारतीय उत्पादन बढी बिक्ने भएकाले नेपालमा उत्पादित सामानको माग नै बजारमा छैन ।’
बजारमा माग नभएपछि उद्योगले उत्पादन घटाउनु परेको उनको भनाइ छ । कोरोनाको दोस्रो लहरमा उद्योगहरुलाई धेरै समस्या परेको उनले बताए । ‘गत वर्षको लकडाउनमा बोर्डरहरुमा कडा गरिएकाले बजारमा उत्पादित सामानको माग धेरै थियो । उत्पादन त्यति घटाउनु परेको थिएन । खाद्यान्न उद्योगहरु राम्रोसँग चलेका थिए ।
दोस्रो लहरमा बोर्डर अलि खुल्ला नै भए । चोर बाटो अपनाएर धेरै सामान भारतबाट ल्याएकाले बजारमा माग घट्यो अनि उद्योगले उत्पादन घटाउनुपर्याे’ उनले भने ।
पहिलाको पैसा पनि नउठेका कारण सामान पठाउन पनि समस्या परेको काव्राले बताए । अहिले बर्षातको समय भएकाले बाढी पहिरोका कारण पहाड तिर सामान पठाउन पनि समस्या भएको उनको भनाई छ । निषेधाज्ञा खुले पनि बजारमा माग नभएका कारण उद्योगहरुले ५० देखि ६० प्रतिशत मात्र उत्पादन गर्ने गरेको उनले बताए ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बजार खुलेसँगै उद्योगहरुले उत्पादन बढाए पनि खुल्ला सिमानामा माल चोरी तस्करी धेरै भएकाले लोकल उद्योगमा माग कम भएको बताए ।
अहिले केही उद्योगहरुले ६० देखि ८० प्रतिशतसम्म उत्पादन गरिरहेको अवस्था रहेको उनको भनाइ छ । खुल्ला सिमानामा कडाई गर्ने हो भने यहाँ उत्पादित सामानको माग बढी हुने बताउँदै मुन्दडाले उद्योगहरुको उत्पादनको अवस्थामा सुधार हुँदै जाने र निषेधाज्ञाको समयको घटा पिकअप हुँदै जाने बताए ।
खुला सिमाका कारण भारतबाट बढी मात्रामा चोरी तस्करी सामान आउने भएकाले केही उद्योगहरुले उत्पादन ५० प्रतिशतमा झारेको अवस्था पनि रहेको उनको भनाइ छ । उत्पादित सामान स्टक राख्नुभन्दा उत्पादन घटाउनतर्फ उद्योगहरु लागेको मुन्दडाको भनाई छ ।
हाल मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कट पाता, प्लाष्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जीआइ पाइप, चामललगायत वस्तु उत्पादन गर्दै आएका छन् ।