काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । आइतबार साँझ भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १६५, विपक्षमा ८३ र तटस्थका पक्षमा १ मत परेको सभामुख अग्नीप्रसाद सापकोटाले बताए ।
सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् ।
प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।
एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए । केपी ओली पक्षकै सांसदहरू प्रेस आले र किसान श्रेष्ठ लगायतले देउवाको पक्षमा मतदान गरे । देउवालाई मतदान गर्ने अपेक्षा नै नगरिएका जसपा महन्थ ठाकुर पक्षका सांसदहरूले भने पक्षमा मतदान गरे ।
१७ महिना कार्यकाल रहेको यो सरकारको काँधमा कोभिडले तहस–नहस पारेको अर्थतन्त्रलाई लयमा फर्काउने, खोपको प्रबन्ध गर्ने र स्थानीय एवं तीनै तहका आम निर्वाचनहरू सम्पन्न गर्नुपर्ने अभिभारा छ ।
संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सबैसँग सहकार्य गरेर यी समस्याहरू समाधान गरिने र राष्ट्रिय एकता कायम गरिने बताएका छन् । उनले पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप भएको बताए ।
लोकतन्त्रको विजय भयो-माधवकुमार नेपाल
सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आज सम्पन्न मत परिणामले संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आजको परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताए । उनले भने, “संविधानको पक्षमा दलहरूले अभिमत दिनुभएको छ ।”
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्योल र सङ्कटग्रस्त राजनीतिमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी एमाले नेता गोकुल बाँस्कोटाले सरकार परिवर्तन सामान्य घटना भएको र आगामी दिनमा राजनीतिले लिने गतिका आधारमा टिप्पणी गरिने बताए ।