काठमाडौं । नेपाल वायुसेवा निगमले एयरवस विमान खरिद गर्दा लिएको ऋणको ब्याजमा छुट गर्न अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई निर्देशन दिएको छ । निगमले तिर्न बाँकी एक वर्षको ब्याज भुक्तानीमा छुट दिन अर्थले सञ्चय कोषलाई भनेको हो ।
अर्थले निगमको एक वर्षको ब्याज सञ्चय कोषलाई तिरिदिने भएको छ । मन्त्रालयले निर्देशन दिएपछि सञ्चय कोषले ब्याजदर घटाउनका लागि आन्तरिक तयारी थालेको छ ।
वायुसेवा निगमले सञ्चय कोषलाई मात्र एक वर्षको ब्याज २ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यो ब्याजमा मन्त्रालयले छुट मागेको सञ्चय कोष स्रोतले बतायो ।
मन्त्रालयले निर्देशन दिएपछि कोषले ०.५ देखि ०.७५ प्रतिशत विन्दुसम्म ब्याज छुटका लागि आन्तरिक तयारी थालेको छ । निगमले ३८ करोड रुपैयाँसम्म ब्याज छुट पाउने संभावना रहेको कोषको भनाई छ ।
कोषले निगमसँग वार्षिक ९.५० प्रतिशत ब्याज लिंदै आएको छ । यो घटाएर ८.७५ देखि ९ प्रतिशत कायम हुने संभावना रहेको कोष स्रोतले जानकारी दियो । कोषले निर्धारण गरेको नयाँ ब्याजदरमा पुरानो ऋणको भने घटाएको छैन ।
निगमले सञ्चय कोषलाई तिर्नुपर्ने साँवा मात्रै २२ अर्ब रुपैयाँ छ । यो नागरिक लगानी कोषको बाहेकको हो । लगानी कोषलाई पनि ब्याज छुट दिन अर्थले निर्देशन दिएको छ ।
वायुसेवा निगमबाट ब्याज नपाएमा सो बराबरको रकम प्रोभिजनिङ गर्नुपर्यो भने सञ्चयकर्ताले यो वर्ष लाभांश पाउने संभावना कम छ । २ अर्ब रुपैयाँ भन्दा बढी रकम प्रोभिजनिङ गरेपछि सञ्चय कोषको नाफामा भारी गिरावट आउने र त्यसको असर सञ्चयकर्ताको लाभांशमा पर्ने देखिएको छ ।
यद्यपी अर्थले एक वर्षको ब्याज तिरिदिने भनेको छ । अर्थबाट भुक्तानी पाएमा लाभांशमा असर पर्दैन । निगमका कर्मचारी आन्दोलित भएका कारण पनि अर्थले ब्याज तिरिदिन आनकानी गरिरहेको छ । निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गरी निजीकरण गर्ने तयारी अर्थको छ । यसको विरुद्धमा निगमका कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् ।
वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण तिर्न अर्थ मन्त्रालयसँग अर्थसँग ६ अर्ब ४० करोड रुपैयाँ मागेको छ ।
कोरोना भाइरस महामारीका कारण जहाज पूर्णरुपमा सञ्चालनमा ल्याउन नसक्दा सञ्चय कोष र नागरिक लगानी कोषलाई साँवा र ब्याजको किस्ता तिर्न नसकेको भन्दै केही दिनअघि निगमले अर्थ मन्त्रालयसँग सो रकम माग गरेको थियो ।
कोरोनाको पहिलो र दोस्रो लहरले गर्दा निगमले विमान उडान गर्न पाएको छैन । उडान गर्न नपाएपछि उसले आम्दानी गर्न सकेको छैन । निगमले सीमित मात्रामा उडान गर्दै आएको छ । सो आम्दानीले संस्थाका कर्मचारीलाई तलब खुवाउन पनि नपुग्ने बताइएको छ । कोरोना महामारीले निगमको आम्दानी सुकेको अवस्था छ ।
जहाज खरिद गर्दा सञ्चय कोष र लगानी कोषबाट लिएको ३४ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ । चिनियाँ जहाज खरिदको ३ अर्ब रुपैयाँ ऋण पनि अझै बाँकी नै छ । ठूला विमानले असहज बनाएका बेला चिनियाँ जाहाजले निगमलाई थप धरासायी बनाएको छ ।
एयरबस ३३० जहाजको ऋणको किस्ता तिर्न पनि सकेको छैन । दुई थान एयरबस ३२० जहाज खरिद गर्दा सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिइएको थियो । सोको ग्यारेन्टी सरकार बसेको छ ।
एयरबस ३३० जहाज खरिद गर्न नागरिक लगानी कोष र सञ्चय कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण निगमले लिएको थियो । निगमले ऋण तिर्न नसकेपछि साँवामा पुँजीकरण भइरहेको छ । निगमले ब्याजको पनि ब्याज तिर्नुपर्ने अवस्था आएको छ ।