काठमाडौं । यस वर्षको मनसुनमा हालसम्म निर्माणधिन विभिन्न ८ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका कारण क्षति पुगेको पाइएको हो । बाढी र पहिरोले विकासकर्ताका साथै सर्वसाधारणको अबौं रुपैयाँ लगानी जोखिममा पारेको छ ।
क्षति भएका आयोजनाले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) समेत निष्कासन गरेका छन् । ती आयोजनाको जडित क्षमता २०८ मेगावाट रहेको छ । विभागका अनुसार गत जेठ ३१ गते र असार १ गते लम्जुङको दोर्दी खोलामा आएको बाढी तथा पहिराका कारण दोर्दीखोला पावर कम्पनीले निर्माण गरिरहेको १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
यस्तै हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको २७ मेगावाट क्षमताको दोर्दी खोलामा समेत क्षति पुगेको छ । लिवर्टी इनर्जी कम्पनीले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी, पिपल्स पावर कम्पनीले बनाइरहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’मा समेत क्षति पुगेको छ । सो नदी करिडोरमा निर्माण भइरहेका ४ आयोजनामा क्षति पुगेको विभागले जनाएको छ ।
यस्तै सुदुरपश्चिममा निर्माण भइरहेको कलङ्गा खोला जलविद्युत् आयोजनामा समेत बाढीका कारण क्षति पुगेको छ । सो आयोजनामा समेत गत जेठ ३१ गते र असार १ गतेको बाढी पहिराले क्षति पुर्याएको हो । सो आयोजनाको क्षमता १५.३३ मेगावाट छ ।
विभागका अनुसार बाढी, पहिराका कारण २४ मेगावाट क्षमताको मादमे खोला, ७.२७ मेगावाट क्षमताको याम्लिङ खोला र ४४ मेगावाट क्षमताको सुपर मादीमा समेत ठूलो क्षति पुगेको छ । यी आयोजनाको निर्माण सामग्री र उपकरण बाढीले बगाएको छ ।
यस्तै बाँधस्थल तथा अस्थायी बाँध (कफर ड्याम) मासमेत क्षति पुगेको छ । बाढीको पानी निर्माणाधीन विद्युत् गृहमा पसेको थियो भने प्रसारण लाइनमा सामान्य क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले बाढी, पहिराका कारण क्षति पुगेका आयोजनालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।