नयाँ दिल्ली, सिन्ह्वा । भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो ।
भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले सो चेतावानी दिएका हुन् । उनले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो वेभको खतरा रहेको छ र त्यो वेभ आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्ने बताए
उनले भनेका छन्–हाम्रो जनसंख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुनसक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेर्नौँ भने यसले हामीलाई ठूलो क्षति दिन सक्ने छ ।हालै विश्व स्वास्थ्य संगठनले कोभिड १९ को विश्वको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको बताएको थियो ।
विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारी विरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने बताएको थियो ।
यसअघि पनि भारतका अधिकारीहरुले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट यो भारतमा कोभिड १९को तेस्रो वेभ आउन सक्ने खतरा रहेको बताउँदै आएका थिए ।
थप ३८ हजार ७९ नयाँ सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट नयाँ ३८ हजार ७९ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ३ करोड १० लाख ६४ हजार ९०८ पुगेको छ ।
भारतमा अहिले पनि कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ४ लाख २४ हजार २५ रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५६० जनाको मृत्यु भएको पनि मन्त्रालयले शनिबार जानकारी दिएको छ । कोरोना भाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म ४ लाख १३ हजार ९१ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।
भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड २० लाख २१ हजार ९५४ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ९८ हजार ७१५ जनाको स्वाब परीक्षण जुलाई १६ का दिन भएको छ ।
त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड ९६ लाख ९५ हजार ८७९ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ४२ लाख १२ हजार ५५७ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।