काठमाडौं । गत आर्थिक वर्ष ०७७/०७८ को ११ महिनामा सवारी साधन आयात ९२.६३ प्रतिशतले बढेको छ । जेठसम्म ८ करोड ८१ लाख १९ हजार ४ सय ८५ वटा सवारी साधन नेपाल भित्रिएका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ करोड ५७ हजार ४ सय ३५ वटा सवारी साधन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । गत वर्ष अघिल्लो आवको भन्दा ४ करोड २३ लाख ७५ हजार ४ सय ९५ वटा गाडी बढी आयात भएको भन्सार विभागले जनाएको छ ।
साउनदेखि जेठसम्म गाडी खरिदमा मात्रै ८८ अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बिदेसिएको छ । अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा ६१ अर्ब ३० करोड १२ लाख रुपैयाँका सवारी साधन आयात भएका थिए । सवारी साधन आयात गर्दा सरकारलाई ८१ अर्ब ४३ करोड ५२ लाख रुपैयाँ राजस्व प्राप्त भएको विभागले जनाएको छ । गत आर्थिक वर्षमा ५५ अर्ब ३३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
गाडी आयात बढे पनि बैंक तथा वित्तीय संस्थाहरूको लगानी भने ५.५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ६४ अर्ब ४७ करोड ६७ लाख रुपैयाँ सवारी साधन खरिदमा (अटोलोन) लगानी गरेका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूको १ खर्ब ७४ अर्ब ५ करोड रुपैयाँ लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष गाडीमा बैंकको लगानी ९ अर्ब ५८ करोड रुपैयाँले घटेको छ ।
व्यावसायिक सवारीसाधनको ३ प्रतिशत र व्यक्तिगत सवारीसाधनको १०.४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अटोलोनमा कडाइ गरिएपछि यसको असर कर्जा प्रवाहमा परेको हो ।
भन्सार विभागका महानिर्देशक यमलाल भुसाल व्यक्तिको आयस्रोत बढ्दा यसको सकारात्मक असर गाडी आयातमा परेको बताउँछन् । सडक सञ्जालको पहुँच तथा सुविधाले पनि सवारी साधनको आयात बढेको उनको भनाइ छ ।
यस्तै नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसनका (नाडा) महासचिव सुनील रिजालले आव ०७६/०७७ भन्दा ०७७/०७८ मा कोरोनाबाट क्षति कम भएको बताए । उनका अनुसार, गत वर्षको साउन÷भदौमा कोरोना संक्रमण केही घटेकाले अघिल्लो वर्षको तुलनामा सवारी आयात ह्वातै बढेको हो ।
०७६/०७७ मा खरिद भएको भन्दा गत वर्षमा ९ प्रकारका सवारी साधनसमेत थप भएर नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांकअनुसार, आर्थिक वर्ष ०७६/०७७ को जेठसम्म १ सय १६ प्रकारका सवारी साधन नेपाल आएका थिए । आव ०७७/०७८ मा १ सय २५ प्रकारका सवारी साधन भन्सार विभागबाट जाँचपास भएर नेपाल भित्रिएका छन् ।
गत वर्षको ११ महिनामा नयाँ आयात भएका ३५ प्रकारका सवारी साधनमा एचएस कोड ८७०१९१०० भएका १२ र ८७०३२२९० कोडका ८ हजार ८ सय ६४ वटा सवारी साधन आयात भएका छन् । यस्तै ८७०२१०४९ नम्बर कोडका ६५, कोड नम्बर ८७०३२२१० ३, ८७०२३०४९ कोडका ९, ८७०३२११९ कोड भएका ४९९ वटा सवारी साधन आयात भएका छन् ।
गत वर्ष ८७०२९०४९ कोडका ५८, ८७०३२१११ कोडका २ हजार ५०४, ८७०३२३२९ कोडका १६ र ८७०३२३३९ कोडका ३ वटा सवारी साधन नेपाल भित्रिएका छन् ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ८७०३३१९० कोडका १ हजार ३४, ८७०३३२१९ कोडका ५६५, ८७०३३२२९ कोडका ६२ र ८७०३३३९० कोडमा १८८ वटा साधन आयात भएको छ । ८७०३४०९० कोडका ३ वटा, ८७०३६०९० कोडका १०, ८७०३८०११ कोडका २ हजार २०७, एचएस कोड ८७०३८०१९ भएका १ हजार ८५२, एचएस कोड ८७०३८०२९ बाट ९२, ८७०३८०३९ कोडका २५, ८७०३८०४९ कोडका ५१ वटा, ८७०४२१३० कोडका १० वटा सवारी साधनहरू भित्रिएका छन् ।
कोड ८७०४२१४० भएका २०, कोड ८७०४२२९४ का २८, कोड ८७०४३११० का ९७९, ८७०४३१२० कोडका ६४९ वटा साधन नेपाल भित्रिएका छन् । यस्तै ८७०४९०२० कोडका ४४६, यस्तै ८७०४९०३० कोडका १२, ८७०६००६२ कोडका ४०, ८७११६०१० कोडका ६८, ८७१३१००० कोडका ३३ हजार ४ सय ४४ वटा सवारी आयात भएको विभागले जानकारी दिएको छ । यस्तै ८७१३९०९० कोडका ४ सय २३ वटा, ८७१५००१० कोडका ८७ वटा, ८७१५००२० कोडका ८२ वटा साधन नेपाल भित्रिएको विभागले जनाएको छ ।
नेपालमा आयात हुने सवारी साधनमा सीसी क्षमताको आधारमा फरक–फरक प्रतिशतले कर लाग्ने भन्सार विभागका सूचना अधिकारी शिशीर घिमिरेले बताए । उनका अनुसार नेपालमा सबैभन्दा बढी कारमा ३ सय ८ प्रतिशतसम्म कर लाग्ने गरेको छ ।