विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा अत्याधुनिक सुविधासम्पन्न भवन बन्ने भएको छ । ३३ करोड २२ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो ।
पहिलो चरणमा अन्डरग्राउण्डसहितको चार तलाको भवन बन्नेछ । बहुवर्षीय योजनाअनुसार गुरुयोजना बनाएर अस्पतालको ७ तलाको भवन बनाउने तयारी रहेको अस्पतालले जनाएको छ ।
अत्याधुनिक भवन निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भइ ठेक्दार कम्पनी रमन भूमि बीआइपीएल निर्माण कम्पनी जेबी र सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ विराटनगरबीच सम्झौता भएको एकाइका सूचना अधिकारी इन्जिनियर अशोककुमार रामले जानकारी दिए ।
अस्पतालको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भइ सम्झौता भएको उनले बताए । चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ ।
अन्डरग्राउण्ड भवनको भुइँतलामा पार्किङ हुनेछ । दोस्रो तलामा एचडियू र डाइलोसिसलगायतका सेवाहरू हुनेछ । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शय्याको हुनेछ ।
यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शैय्याको हुनेछ । पहिलो चरणमा संघीय सरकारदेखि ५० करोड ३४ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख रुपैयाँमा रमन भूमिले ठेक्का पाएको हो ।
पहिलो चरणमा ४ तलाको भवन बन्ने र त्यसपछि योजना अनुसार तला थप हँुदै जाने तयारी गरिएको छ । गुरुयोजनाअनुसार ७ तलाको बनाउने भवनको लागत स्टीमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैठौ तलामा हेल्थ अफ डिपाटमेन्ट बनाउने उल्लेख गरिएको छ ।
अत्याधुनिक सुविधासम्पन्न भवन बनाउने सम्झौता २०७७ असार २३ गते गरिएको हो । निर्माण सकिने अवधि २०८० पुस २३ गते रहेको छ । सम्झौता भएपछि चाँडै भवन निर्माणको प्रक्रिाय अगाडी बढने बताइएको छ ।
हाल ३५० शय्याको अस्पताल रहेको कोसीको सुविधा सम्पन्न भवन बनेपछि ५०० बेड पुर्याउने अस्पतालका डा. चुमनलाल दासले जानकारी दिए ।