काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आर्थिक वर्ष (आव) २०७७/०७८ मा ७६.४४ प्रतिशत वित्तीय प्रगति गरेको छ । आव २०७७/०७८ मा समग्र पुनर्निर्माणका लागि ६९ अर्ब ३३ करोड रकम विनियोजन भएको थियो । जसमध्ये ५३ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले गत वर्ष निजी आवासतर्फ कुल बजेटबाट २३ अर्ब ८५ करोड विनियोजन गरेको थियो । जसमध्ये २१ अर्ब ५६ करोड अर्थात ९०.४१ प्रतिशत रकम खर्च भएको प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले बताए ।
घिमिरेका अनुसार, गत आर्थिक वर्षको अन्तिम दिन अर्थात बिहीबारसम्मको तथ्याङ्कअनुसार निजी आवास लाभग्राहीको सूचीमा परेकामध्ये ९९.८९ प्रतिशतले पहिलो किस्ता लिएका छन् ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, निजी आवास पुनर्निर्माणको सूचीमा परेका ८ लाख २९ हजार ६ सय १२ लाभग्राहीमध्ये ८ लाख २८ हजार ७ सय ५२ परिवारले पहिलो किस्ताको रकम लिइसकेका छन् । अब अनुदान सम्झौता गरेकामध्ये ८ सय ६० घरले मात्रै पहिलो किस्ताको रकम लिन बाँकी छन् ।
त्यस्तै दोस्रो किस्ता लिने घरधुरीको संख्या ७ लाख ४१ हजार ९ सय ९५ रहेको छ, जुन ८९.४३ प्रतिशत हो । साथै ६ लाख ८९ हजार ५ सय ४७ परिवारले तेस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ ।
कुल अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये आवास पुनर्निर्माण सम्पन्न गरेका तथा पुनर्निर्माण गर्दै गरेका लाभग्राहीहरु ९१.३२ प्रतिशत अर्थात् ७ लाख ५८ हजार ५ सय ८१ रहेका छन् ।
कर्मचारीको दरबन्दीलाई निरन्तरता दिने
यसैबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवस पुनर्निर्माण कार्यमा संलग्न कर्मचारीको दरबन्दीलाई निरन्तरता दिन निर्णय गरेको छ । बिहीबार बसेको प्राधिकरणकोे कार्यकारी समितिको बैठकले कोभिड–१९ को कारण निजी आवास पुनर्निर्माण कार्यमा अवरोध भएको भन्दै प्राधिकरणको अवधिभर कर्मचारीको दरबन्दिलाई निरन्तरता दिने निर्णय गरेको हो ।
गत असार १० गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले वर्तमान संस्थागत संरचना र कार्य प्रणाली २०७८ पौस १० गतेसम्म यथावत् रहने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार, प्राधिकरणले न्यून जनशक्ति परिचालन गरी आगामी मंसिरसम्म बाँकी कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने योजना बनाएको छ ।