काठमाडौं । सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बहुराष्ट्रिय मोवाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेड एक वर्षअघि पब्लिक कम्पनीमा रुपान्तरण भयो । एनसेल २०७७ को साउनमा प्राइभेट लिमिटेडबाट पब्लिक कम्पनीमा रुपान्तरण भई एनसेल आजिआटा लिमिटेडको नाममा कारोबार सुरु गर्यो ।
कम्पनी पब्लिकमा गए पनि हालसम्म एनसेल आजिआटाले आईपीओ कहिले निष्कासन गर्ने अझै खुलाएको छैन । लगानीकर्ताहरु एनसेल आजिआटाले आईपीओ निष्कासन कहिले गर्छ ? भनेर प्रतिक्षारत छन् ।
तर, कम्पनीले सेयर निष्कासनका लागि कुनै तयारी नगरेको बताइएको छ । कम्पनीले सेयर निष्कासन गर्न पुँजीवृद्धि गर्नुपर्ने हुन्छ । कम्पनीको जारी पुँजी नै ९ करोड रुपैयाँ छ ।
आईपीओ निष्कासनको विषय कम्पनीका सोझेदारहरुको सहमतिको विषय भएको हुँदा यस विषयमा छलफल चलिरहेको र सही समय आएपछि सेयर निष्कासन गर्ने एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी चोङले समयअघि बताएका थिए ।
एनसेल पब्लिक लिमिटेड कम्पनी भएपछि उसलाई आईपीओ निष्कासन गर्न बाध्यकारी नहुने दूरसञ्चार प्राधिकरणले बताएको छ ।
यसअघि पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेपछि मंसिरमा सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारणसभामा आईपीओ निष्कासन गर्न कम्पनीको नियमावली संशोधन गर्ने विषयमा सभामा प्रस्ताव पेश भएको थियो ।
एनसेलले सन् २००४ मा मेरो मोबाइल ब्राण्डबाट सेवा सुरु गरेको हो । सन् २०१० मा माउ कम्पनी टेलिया सोनेराले एनसेलको नाममा रिब्राण्डिङ गरेको थियो ।
टेलिसोनेरियाले आफ्नो स्वामित्व मलेशियाको आजिआटा ब्रेहार्डलाई बिक्री गरी बाहिरिएको थियो । अहिले मलेसियाली कम्पनी आजिआटाको ८० प्रतिशत र २० पतिशत नेपालीको लगानी छ ।