काठमाडौं । आन्तरिक उडानमा नेपाली र विदेशीलाई लिने हवाई भाडामा आकाशपातालको फरक रहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भाडा समायोजनका लागि व्यवसायीहरुलाई अनुरोध गरेका छन् । एक साताअघि भ्रमण वर्ष सचिवालयद्वारा म्यारियट होटलमा आयोजित कार्यक्रममा पनि हवाई भाडामा पुनर्विचार गर्न अनुरोध गर्दै अटेर गरे सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएका थिए ।
बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सुरक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा पनि पर्यटनमन्त्री भट्टराईले हवाई व्यवसायीहरुमाझ भाडा समायोजनको प्रस्ताव अघि सारे । ‘म तपाईहरुसँग मन्त्रालयमा छुट्टै मिटिङ गर्ने तयारीमा छु, आज केही एजेन्डा सार्वजनिक गर्न चाहन्छु, त्यसमा तपाईंहरुले होमवर्क गरेर आउनु होला,’ मन्त्री भट्टराईले भने, ‘त्यो प्रस्ताव भनेको भाडा समायोजन हो ।’
धेरै विदेशीहरुले मन्त्रालयमा नेपाली र विदेशीलाई लिने भाडामा अन्तर देखिएको भन्दै गुनासो गर्ने गरेकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरी समायोजन गर्ने तयारीमा आफूहरु रहेकाले सकेसम्म व्यवसायीले नै घटाए राम्रो हुने मन्त्री भट्टराईको तर्क छ ।
मन्त्री भट्टराईले प्रस्ताव राखेसँगै त्यहाँ रहेका हवाई व्यवसायीहरु मुखामुख गर्न थालेका थिए । मन्त्री भट्टराईले अहिले कुनै सवाल जवाफ नहुने भनेकाले उनीहरुले केही प्रतिक्रिया दिएनन् ।
तर, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कार्यक्रमबाट निस्कनेबित्तिकै हवाई भाडा समायोजन हुन नसक्ने प्रतिक्रिया दिए । ‘मन्त्री भट्टराईले भने जसरी भाडा समायोजन गर्ने हो भने हामी सरकारलाई चाबी बुझाउँछौं, तर भाडा समायोजन गर्दैनौं,’ प्रबन्ध निर्देशक बस्नेतले भने । ‘हामीले जबर्जस्ती विदेशीहरुलाई जहाजमा चढ्नु भनेका छैनौं, त्यो उहाँहरुको इच्छा हो, प्रबन्ध निर्देशक बस्नेतले भने, ’गाडीमा जानेहरु पनि छन् नि ।’
डलर फेयरमा समायोजन गर्ने भने नेपालको सबै एयरलाइन्सहरु बन्द हुने अवस्थामा पुग्ने भएकोले कुनै पनि हालतमा मन्त्रीको प्रस्ताव नमान्ने उनको भनाइ छ । हवाई भाडा समायोजन गर्नेबित्तिकै नेपालमा पर्यटकको सङ्ख्या वृद्धि नहुने भएकाले सङ्ख्यात्मकतर्फ लाग्न नहुने पर्यटन व्यवसायीहरु बताउँछन् । नेपाली हवाई कम्पनीहरुले लिने भाडाको कर सरकारलाई पनि बुझाइरहेकाले फाइदा सरकारले पनि लिने गरेकाले यसमा कुनै सहमति हुन नसक्ने बताए । हालकै भाडामा विदेशीहरु जहाज चढ्न भीड हुनाले कुनै समस्या नभएको उनको भनाइ छ ।
नेपाली र विदेशी कम्पनीहरुको भाडा समायोजनको प्रस्ताव यसअघि भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले स्व. पर्यटनमन्त्री अधिकारीसामु राखेका थिए । नेपालमा २० लाख पर्यटक भित्र्याउन आन्तरिक रुपमा हवाई भाडा समायोजन अनिवार्य भएको भन्दै मन्त्री अधिकारीलाई कन्भिन्स गराएका थिए ।