काठमाडौं । रेनोको नयाँ एसयुभी रेनो काइगर बिहीबार सार्वजनिक भएको छ। नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स अटोमोबाइल्सले एक भर्चुअल कार्यक्रममार्फत रेनो काइगर सार्वजनिक गरेको हो।
रेनो काइगर थुप्रै विशेषताले भरिपूर्ण एसयुभी हो। यसको तीन मुख्य विशेषता भनेको स्पोर्टी आवरण, सर्माट प्रविधि र स्टनिङ प्रदर्शनी रहने कम्पनीले दाबी गरेको छ।
गाडीलाई तीन मोडमा चलाउन सकिन्छ, सामान्य, इको र स्पोर्ट मोट। कम्पनीका अनुसार स्पोर्ट मोडमा गाडी चलाउँदा रेनो काइगरको वास्तविक आनन्द लिन सकिन्छ। यसमा एबीएस, इबिडी ब्रेक्रिङ प्रविधि छन् भने ४ वटा एयरब्याग छन्। कम्पनीले गाडीमा सुरक्षा प्रविधिलाई विशेष ध्यान पुर्याएको छ।
यो एसयुभीमा एलइडी हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि, भ्वाइस रेक्निसन प्रविधि, वायरलेस फोन चार्जर, अटो एसीलगायतका विशेषताहरू छन्। त्यस्तै यसमा १६ इन्चको अलोय ह्विल छ। गाडीमा ४०५ लिटरको बुट स्पेस छ।
रेनो काइगरमा भएको १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ। यो ९९९ सीसीको गाडी हो। भर्चुअल कार्यक्रममा रेनो इन्डियाका सिइओ एवम् प्रबन्ध निर्देशक वेन्कटराज मनिपालले रेनो काइगर भारतमा झैं नेपालमा पनि लोकप्रिय हुने विश्वास व्यक्त गरे।
पछिल्लो एक दशकमा हामीले सार्क राष्ट्रहरूमा निकै राम्रो बजार पाइरहेका छौं। त्यसमध्ये नेपालमा रेनोले थप चर्चा पाएको छ, उनले भने, नेपालका ग्राहकहरूप्रति हामी आधारी छौं। र, भविष्यमा अझै लामो यात्रा सँगै तय गर्ने आशा गर्छौं।
नेपाली बजारमा रेनो भित्रिएको धेरै भएको छैन। तर छोटो समयमै यसलाई राम्रो बजार पाएको कम्पनीको भनाइ छ। हालसम्म देशभर १५ वटा आउटलेट छन्। रेनो काइगरभन्दा अघि बजारमा क्विड, डस्टर र ट्राइबर उपलब्ध छन्। यी तीन मोडलपछि रेनो काइगर नेपाली बजारको निकै प्रतिक्षित एसयुभी थियो।
रेनो काइगर ६ रंग र ४ भेरियन्टमा उपलब्ध हुनेछ। कम्पनीले रेनो काइगरको सुरुवाती बजार मूल्य २८ लाख ४९ हजारदेखि ३७ लाख ६९ हजार रुपैयाँसम्म तोकेको छ।