काठमाडौं । निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोबार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबारमा कमी आएको थियो । गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा भुक्तानी रकममा कमी आएकामा जेठमा रकममा वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको देशका वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा कारोबार रकममा वृद्धि भएको हो ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार जेठमा कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । गत महिनाको तुलनामा जेठमा क्युआर स्क्यान, मोबाइल वालेट र ई कमर्शमार्फत हुने कारोबार रकममा कमी आएको छ ।
बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा मात्र कनेक्ट आइपिएसमार्फत १ अर्ब ६९ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जेठमा १ खर्ब ५८ अर्ब २५ लाख ४० हजार बढीको कारोबार भएकामा वैशाखमा १ खर्ब ४१ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
इन्टरनेट बैंकिङमार्फत गत वैशाखमा १० अर्ब ८० करोड बराबरको भएकामा जेठमा बढेर ११ अर्ब १४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार छ । गत वैशाखको तुलनामा जेठमा १ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । मोबाइल बैंकिङमार्फत गत वैशाखमा ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोबार भएकामा जेठमा ५३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वैशाखको तुलनामा जेठमा मोबाइल बैंकिङमार्फत ४ अर्ब २७ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
घट्यो वालेटको कारोबार
वालेटमार्फत गत वैशाखमा १० अर्ब १० लाख बराबरको कारोबार भएकामा जेठमा घटेर ८ अर्ब ३५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वैशाख महिनाको तुलनामा जेठमा मात्र १ अर्ब ७५ करोड ३० लाखले कारोबारमा कमी आएकोे हो । यस्तै गत वैशाखको तुलनामा जेठमा क्युआरमा आधारित भुक्तानीमार्फत हुने कारोबारमा ५६ करोड १० लाखले कमी आएको छ ।
वैशाखमा २ अर्ब ५२ करोड ९० लाख कारोबार भएकामा जेठमा १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै गत वैशाखको अनलाइन ई-कमर्शका माध्यमबाट ७६ करोड ८० लाख रुपैयाँको भएको जेठमा कमी आई १६ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।